Friday, September 11, 2020

रहरका पिरामिड

यी रहरका पिरामीडहरु,, घोप्ट्याइएका सोली जस्तै, 

सागर भेट्ने आशामा,,,, मुहान भुलेका खोली जस्तै।।

भूल-भुलैया भो जिन्दगी नै, हिजोआज हेर्नुस् साथी

अहिले बोल्यो अल्लिखेर,,, बेठागानका बोली जस्तै।।

जता हावा चल्यो उतै बादल,, पहाडमा ठोक्किनु छ

ईज्जत् त जोगाउनै पर्ने कठै,, उध्रीएका चोली जस्तै ।।

अन्धेराका सपनाहरु भेटिदैनन् त उजेलीमा आखिर 

बेहुली पुर्याई फर्किएका,,,, खालीखाली डोली जस्तै।।

Thursday, September 10, 2020

चकनाचुर भए, सायद सिशाका थिए सपनाहरु

 केही ईशाराका त केही बात, मौनताका थिए 
अझै ताजा छन् अँध्यारा रात, मौनताका थिए !!


मदहोश लाग्दै थिए, सम्भावनाका हर पलहरु 
नपिएरै पनि नशिला हुन्थे मात, मौनताका थिए !!

को नतर्सिएला र यहाँ? एक्कासी बाढी आउंदा 
न बिजुली न बादल ती बर्षात, मौनताका थिए !!

नबोलेरै धेरै बोल्ने,, बन्द ओठका सुस्केराहरु 
काउकुती लगाउने हाम्रा हात, मौनताका थिए!!

चकनाचुर भए, सायद सिशाका थिए सपनाहरु  
आवाज कतै थिएनन्, आघात मौनताका थिए !!

Monday, September 7, 2020

गजल यहाँ सम्म त आएं, मनका लहर पछ्याउंदै

 

यहाँ सम्म त आएं, मनका लहर पछ्याउंदै 

थाहाछैन कहाँं सम्म, बनका डगर पछ्याउंदै 


बत्तिमा होमिएका, तिनै पुतलीका कथा जस्तै 

त्यो घाम जस्तै लाग्ने, अनेकौं रहर पछ्याउंदै 



खै केदियो कुन्नि, के पाएं, यी गोजी रित्तैछन् 

जन्मथलो बिरानो भए, कठोर शहर पछ्याउंदै 


सपनाका सिपीहरुले मोती लुकाएका छन् रे 

पुग्नुपर्ने भो सागर, ढुङ्गयान् बगर पछ्याउंदै  


पश्चातापले पोल्छ, छातीका ग्लानी उस्तैछन् 

भन्दैथिए 'आफन्त', भो नजा जहर पछ्याउंदै 


Wednesday, September 2, 2020

एक काटी सलाईको कथा हो।

 यो एक काटी सलाईको कथा हो, 
हो यो एक गरिबिको कथा हो 
आफ्नै थाकथलोमा थलिएकाहरुको कथा हो 
स्वाधीनता र पहिचानका दस्तावेजहरुमा हराएकाहरुको कथा हो 
अभावको कथा हो दबाबको कथा हो यो नितान्त सरकारी प्रभावको कथा हो। 
हो यो एक काटी सलाइको कथा हो 
मेची देखि महाकाली सम्मको कथा हो 
शिन्ह दरबार देखि बालुवाटार सम्मको कथा हो। 
यो राता झण्डा बोक्नेहरुको कथा हो तारे झन्डा बोक्नेहरुको कथा हो, 
खुलामञ्च, टि भि र मिडियामा खोक्नेहरुको कथा हो/ 
यो केबल एक काटी सलाईको कथा हो। 
भोक रोग शोक को कथा हो।
यो जिन्दगीको कथा हो यो मृत्युको कथा हो।
बाच्ने रहरमा हराएकाहरुको कथा हो।
हो यो एक काटी सलाइको कथा हो। 
राजनीतिको तात्तातो भुङ्ग्रोमा जलाईको कथा हो। 
सामन्तीको चेपुवामा चेपिएकाहरुको कथा हो।
राता कार्पेट तल मिचिएकाहरुको कथा हो। 
हो यो एक काटी सलाईको कथा हो।
पसिनाको मोल रगतको हिसाब नपाउनेहरुको कथा हो। 
अनि मलामी नपाउनेहरुको कथा हो। 
कात्रो नपाउनेहरुको कथा हो, 
दागबत्ती नपाउनेहरुको कथा हो 
यो त केवल एक काटी सलाईको कथा हो। 
बस सरकार आईज मेरो चितामा आगो लगाईदे।
मेरो माग केवल एक काटी सलाईको हो। 
यो एक काटी सलाइको कथा हो।

यो एक काँटी सलाइको कथा हो !!

पात्र:एक्ले माईला कामी (हाँसिया, कोदाला,बन्चरो अर्चाप्ने काम गर्छन् माईला कामी, बुढी केहीबर्ष अघी त्यही परको भिरबाट खसेर मरिन, लाश सम्म त भेटिएको थियो रे, सन्तानको नाममा के कती थिए कहिल्यै थाहा भएन, सधैं कछाड र् बाकटे भोटोमा हुन्छ, 
    
स्थान:राजमार्ग भन्दा माथि,ठाडो खोलाको आड, गाउँमा घरहरु त छन् मान्छे छैनन्,सबैका घर आङ्गनमा घाँस उम्रिएर ढाकिएका छन्,

दृष्‍य - १ 

चारैतिर बाट खुल्ला कटेरो, मध्यभागमा कहिल्यै ननिभ्ने आगो सहितको आरन, पूरानो खलांती, धुङ्गा खोपेर बनाएको कचौरामा पानी, घन, सन्नासो, केही हाँसिया, खुर्पा बन्चरो अर्चाप्न बाँकी, आफु बस्ने केही अग्लो ढुङ्गामा एउटा पुरानो बाक्लो तर मैलो लम्पट(कुसन), आडमा च्यातिएको सिमेन्टिको बोरामा कोईला,बोरा माथि पूराना इभिरिडे ब्याट्रीहरु, हावा चल्दा र पानी पर्दा लगाउने शायद कसैले दिएको फाटेको ईस्टकोट झुन्डिरहेको,आफु आडलगाएर बस्ने खाम्बोमा टाउको भन्दा केही माथि पर्ने गरी बलियो फलामको काँटी ठोकेको, जहाँ सदैब एउटा पुरानो नेशनल रेडियो फूलबुट्टे खोलमा झुन्डिएको हुन्छ।।

दृष्‍य - २   

बिहानी पात्र ठुटो चुरोट तान्दै, खोक्दै, ख्वाक्क खकार नजिकै फ्याक्दै कटेरोमा छिर्छ,भिरेर ल्याएको रेडियो खाम्बोमा झुंड्याउन्दै, बेचैन नजरले पर नदी पारीको राजामार्ग हेर्छ,केही हफ्ता अघि सम्म गाडीका लस्कर र जाम देखिने राजामार्ग हिजोआज एम्बुलेन्स,र पुलिशका भ्यानहरु मात्र हुइकिरहेका हुन्छन्। एस्तो देखिन्छ पात्रको अनुहार कि जिन्दगी केहीदिनको मात्र हो अब। रेडियो खोलम् कि नखोलम दोधारमा देखिन्छ। आरनको खलान्ती चलाएर केही आगोका झिल्का निकाल्छ, फेरी अर्को ठुटो चुरोट खोजेर सल्काउछ खै के सोच्छ निभाउन्छ अनी कानमा घुसारेर रेडियो खोल्छ तर आवाज आउंदैन, रिसाएको जस्तो गरेर रेडियोको तल माथि पछाडी हिर्काउँछ, अहँ आवाज आउंदैन, फूलबुट्टे खोल निकालेर ब्याट्री फेर्छ खोल लगाउछ तब मात्र आवाज आउँछ,--------- केही सुसाए जस्तो, एक्कासी समाचार आए जस्तो हुन्छ रेडियो मा कान रेडियो नजिकै लगेर सुन्न थाल्छ उभिएर नै, आगो हेर्छ, परको राजामार्ग हेर्छ वरिपरी हेर्छ नितान्त एक्लो सम्झेको जस्तो गर्छ आँफैलाई , खुईय सुस्केर छोड्दै रेडियो बन्द गर्छ कि ब्याट्री जोगाउनु छ जस्तो गरी। एउटा हाँसिया आरनमा घुसारेर खलांती चलाऊन थाल्छ। त्यो खाम्बोमा आड लागेर जून खाम्बो उस्को आधार हो बाँच्नको लागि, रेडियो देखी उसका केही कछाड् पुरानो गन्जी जहाँ झुन्डिरहेका हुन्छन्।   

(सम्चारको अन्श प्रस्तुत:

दृष्‍य: - ३ मध्यान्ह 

पात्र केही थकित, बिमार देखिन्छ एस्तो लाग्छ उसमा एक किसिमको बेचैन, उदासीपनाले सताईरहेको हुन्छ । खै के सोच्छ कटेरोको कुनाको खम्बामा अडाएर राखेको बन्चरो हेर्छ,केही सोच्छ अनी त्यही बन्चरो बोकेर बिहान झरेको बिपरित ठाडो बाटो जङ्गल तर्फ उकालो लाग्छ।         


केही बेर पछी 

सुकेको ५ फुट लामो एउटा मुढो सकिनसकी कांधमा लिएर आउंछ डङग्रङ्ग कटेरो नजिक फ्यान्कछ बन्चरो पहिलेकै ठाउँमा राख्छ। थचक्क कटेरोआडमा बसेर सिलौटको लोटाबाट कलकल पानी पिउँछ। मुख कुल्ला गरेर रेडियो भए तर्फ जान्छ रेडियो खोल्छ 
(मास्क लगाऔं,सामाजिक दुरी कायम गरौं,भिडभाड नगरौं, घरभन्दा बाहिर ननिस्कौँ, साबुन पानीले नियमित हात धोऔं, झोलिलो खाने कुरा खाउँ भन्ने जस्ता प्रचारमुखी बिज्ञापन सुन्दै मन नपरेको जस्तो गरी रेडियो बन्दगर्छ। 
एबमरितले केही दिन उसको यही दिनचर्या चल्छ। 

(थाहा छैन उसको रातको बसाई केही माथि त् छ कटेरो भन्दा तर कहिले देखिदैन उसको बिहान देखिको बेलुकिसम्म दिन्चर्या कटेरो वारी पारी र जङ्गल मात्र देखिन्छ)

दृष्‍य -४ 
बिहान देखी मध्यान्ह हुँदै साँझको बेला 

पात्र केहीदिन देखी जम्मागरेका कथाका मुढाहरु एक एक गरेर कटेरो तल ठाडो खोलाको किनारमा लैजान्छ, कहिले कांधमा बोकेर कहिले घिसारेर, कहिले गुलटाउंदै, पुग नपुग एउटा चितालाई पुग्ने जती मुढा जम्मा हुन्छ। झमक्कै साँझ पर्छ घाम अस्ताउन लागिसकेको हुन्छ। कछाडको बटारेको कम्मरबाट छामछुम गरी एक ठुटो भुसा भरेको (सालको पातमा सुर्ती बेरेर बनाएको)मोटो सिगार जस्तै चुरोट ) निकालेर सल्काउँछ। सलाईको काँटी गनेको जस्तो गर्छ ।ओसिएको छ कि भनेर सबै कान्टिलाई श्वासको तातोले फूकेर फेरी बट्टामै राख्छ। झमक्कै रात पर्छ अघि सल्काएको भूसको उज्यालोको भरमा उकालो लाग्छ।।  

दृष्‍य- ५

हिजोसम्म रेडियो र इस्टकोट झुन्ड्याउने गरेको,आरन नजिकको खम्बालाई सकिनसकी हल्लाउंछ केहीबेर असिनपसिन हुँदै त्यो खम्बालाई ढलाउँछ, केहीबेर सम्म त्यही खम्बा मुढोलाई हेरिरहन्छ एस्तो लाग्छ त्यो सङ्ग उस्को जिन्दगीको अनन्त काल जोडीएको थियो र अब त झन गहिरो सम्बन्ध जोडीयो। निधार छाम्छ, खोक्छ छाती छाम्छ। तलको राजामार्ग तिर आँखा डोर्याउन्छ एकदमै काम गाडी चलिरहेका छन् एस्तो लाग्छ सुन्यता भन्दा अरु केही छैन मौनता भन्दा अरु केही छैन। केहीदिन अघि सम्म ठाडो  खोलाको बाटोगरी मान्छे हाट बजार,शहर गएर आउने मान्छेहरु पनि आउन छोडेकाले झन आतिन थालेको थियो अब त झन राजामार्गमा पनि गाडी गूड्न छाडिसके। सधैं पानी पिउने गरेको लोटाबाट पानी पिउँछ शायद पानी सकिएछ एकछिन लोटा समाएर टोलाउँछ। एस्तो भावभिङ्गी देखिन्छ कि उ सकिँदै छ अब,आकाश खस्छ धर्ती फाट्छ। पर लडिरहेको रेडियो टिप्छ, ट्युनिङ्ग बटार्छ केही बिशेष समाचारको खोजिमा छ, आवाज आउंदैन त्यसैले रेडियो दाँया बाँया ठाकठुक पार्छ, कान बटार्छ धन्न भेट्छ । समाचार आउने सन्केत पाउंछ। रेडियो त्यताइ कतै राखेर अघिको मुढोलाई ठाडोखोलाको किनारसम्म लगेर ओरालो गुल्टाउँछ। त्यतिबेला सम्ममा फेरी असिन पसिन हुन्छ,पानी पिउन खोज्छ पानी हुँदैन, चुरोट खोज्छ शायद त्यो पनि पाउंदैन। रेडियोमा समाचार आउँछ ::::::::::::::::

दृष्‍य-६ 

आज त न कटेरो कटेरो जस्तो देखिन्छ, लोटा, न रेडियो न त्यो खम्बा न उसको इस्टकोट,

दृष्‍य- ७

ठुलो नदि र ठाडो खोलाको दोबान, हिजोसम्म जम्मागरेका मुढा,दाउरा, उ झन थकित देखिन्छ एस्तो लाग्छ उ बाँच्न नै चाहन्न मुहारमा खिन्नता, डर त्रास अन्यौलता बाहेक केही देखिन्न, एस्तो लाग्छ उसको आजको बिशेष काम सुरुहुँदै छ, दोभानका ढुङ्गा पन्छाएर चार हात लामो र दुईहात बित्ता जती ठाउँं सफा बनाउंछ, हिजो कटेरोको उखालेको मुढोलाई त्यहाँ राख्छ, मिलाउँछ कि नहल्लियोस भनेर, त्यसपछी बिस्तारै जम्मा गरेका मुढा दाउरा एकएक गरेर आफ्नो कम्मर जतिअग्लो चिता बनाउंछ, एती बेलासम्म साँझपर्न लागिसकेको हुन्छ , अझै केही हल्का दाउराहरुलाई ठाडो पारेर चितामा अड्याउंछ। लगाईरहेको भोटो र इस्टकोट, कछाड, दुईरङ्ग तना भएका चप्पल चितानजिकै छोडेर एक्छिन टोलाउँछ ठाडो खोला जाउँ कि नदी जाउँ भने गरेझैँ खै के सोच्छ नदी जान्छ किनार् मै हात मुख गोडा धोएर फर्किन्छ, डुब्न लागेको घाम तर्फहेर्दै नमस्कार गर्छ आँखा चिम्लिएर।। शायद आज उ ठुलो फैसला आँफै गर्दैछ। निर्बस्त्र आफ्नो शरीरलाई सकी नसक्की आँफैले बनाएको चिता माथि चढाउँछ। उत्तानो परेर आकाशतर्फ हेर्छ, अघि ठड्याएका हलुका दाउरालाई आफ्नो कम्मर भन्दा तलको भाग आफ्न गुप्ताङ्ग भाग सहित माथि राख्दै खुट्टा सहित ढाग्छ ४/५ दाउरालाई आफ्नो दाँया बाँया पर्नेगरी राख्छ एउटा मोटो दाउरालाई आफ्नो सिरान हुनेगरी राख्छ। जहाँ पहिले नै उसले जोगाईराखेको सलाई हुन्छ, आफू बिस्तारै ढल्छ (सुत्छ)देब्रेहातलाई कम्मर सम्म सिधा पारेर। अनी अघि दाँया बाँया राखेका दाउरालाई दाईने हातले कम्मर देखि माथि आफ्नो हातले भेटे र मिलेसम्म राख्छ।अप्ठेरो गरी खोक्छ।। आँखा चिम्लिएर उत्तानो पर्छ।।   

झमक्क रात पर्छ। 

नेपथ्यमा माथिको कविता रुपी आवाज गुन्जिन्छ ।।
 
हो यो केवल एक काँटी सलाईको कथा हो ।। 

        

            
                





जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...