Sunday, October 3, 2021

सिकिस्त छ जिन्दगी

कहिले सपनाले थिच्छ 
कहिले रहरले चिमोट्छ 
आशाका चिसोले निमोनिया बढेछ 
त्यसैले त जिन्दगी रातभरी खोक्छ 
बिहान भरी खकार्छ,
थोरै तातोपानी पिउँछ,
जिन्दगी आँफै सोच्छ 
जन्मेको खाट देखि घाटसम्मको यात्रा नै म हुँं भनि 
परन्तु 
हिजोआज जिन्दगी सिकिस्त छ 
सिथिल छ,बेचैन छ
असफलता सङ्ग मित्रता बाहेक उसले केही लगाउन सकेन 
कहिले आफ्नै हत्केलामा भाग्य खोज्दै हराउँछ 
कहिले ज्योतिषिलाई चाइना देखाउन जान्छ 
सबै तिर राम्रो छ तेरो भनिदिन्छन् 
एकछिन दङ्ग पर्छ, खुशी हुन्छ
पलभर मै 
चिथोर्न आईपुग्छन् 
निमोठ्न आईपुग्छन् 
कोपर्न आईपुग्छन् 
यथार्थका एेठनहरु 
उसै त सिकिस्त जिन्दगी 
त्यसमाथिका असहज एेठनहरु ।। 
उमेर त केवल अंक हो भन्थ्यो जिन्दगी 
हिजोआज निदाउन न सक्दा 
बुढेशकाल पो हो कि,
न थकान छ, न केही बोझ नै 
र पनि जिन्दगी मलिन छ 
सालीनता देखाउन खोज्छ 
दुनियाँलाई देखाउन चाहन्न 
उसलाई ङिजोलिरहेका रोग र ब्यथाहरु 
जहाँं उसलाई हेरेर  
हा हा हा गर्नेहरु मात्र छन्, 
परिस्थितीका बैसाकी टेकेर 
तङ्रिन खोज्छ जिन्दगी 
आत्मबिश्वासका ट्याब्लेटहरु खाईरहन्छ 
अद्रिश्य नै किन नहुन् 
आशाको दियो सल्काउँछ।। 
दरिन खोज्छ जिन्दगी 
तङ्रिन खोज्छ जिन्दगी ।। 
हिजोआज सिकिस्त छ जिन्दगी ,
----------
१७ अशोज, २०७८ आईतवार  
    

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...