Thursday, June 15, 2023

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो 
भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो 

हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी 
जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो 

ताजको बदलामा किन बदनामिका बिल्ला दिई 
दुनियाँबाट विश्वाशको एेना फुटेको दिन थियो

आन्धी बेहरी अन्धाधुन्ध बलेशीमा चुलेशी टेक्दा 
मकै सरी मुटु - कलेजी सारा भुटेको दिन थियो   

सम्हालिएन मन मेरो, आज बाँच्ने रहरहरु मरे   
आकाशले थिच्यो धर्ति तारा खसेको दिन थियो

खन्दैछु मेरो चिहान पुरे हुन्थ्यो कोही आई   
एक्लो आफ्नै मलामी आशा मरेको दिन थियो 
   

Tuesday, January 24, 2023

कविता

हिजो एउटा जिन्दगी 

सुनसान सड्कमा गुनगुनाईरहेथ्यो


आज देख्दैछु

आफुलाई  चिनाउन 

भिडमा चिच्याईरहेछ


सोच्दैछु, भोली कहाँ जाला? 

एक्लै गुनगुनाउला वा 

भिडमा चिच्याईरहला? 


सडक एउटा गती अर्को

संघर्ष एउटा प्रगती अर्को

तालमेल नमिलेर 

अन्त्यमा ती  आवाजहरु 


भित्र भित्रै स्वर मच्चाईरहेछ!!

गजल आज किन किन मुड, चलेर आयो

आज किन किन मुड, चलेर आयो 
शान्त यो मन यो मुटु, जलेर आयो 

सामुन्ने बोत्तल देखें, र बाहिर झरी 
चिसो मौशममा छाती, बलेर आयो 

थिएन चाह, बिहानी सम्म मलाई त 
बेहोशीका मत-मताई, ढलेर आयो  

बिर्सिएका थिएं, मधुशालाका रास्ता 
कस्तो मेहफिल घरैमा, छलेर आयो 

आज किन किन मुड, चलेर आयो 
कस्तो महफिल घरैमा, छलेर आयो 

तिमी एक सुन्दर गजल, बहर मिलेको

तिमी एक सुन्दर गजल, बहर मिलेको 

हेर न हेर दाँतका पंक्ती, लहर मिलेको 

मोहक लाग्छन् दिनहरु, सपनीमा देख्दा 

बिहानीमा मीठा मीठा, खबर मिलेको 

केही संयोगले अन्जानमा,, भेट जुरायो 

कता कता खै तिम्रो मेरो, रहर मिलेको

थाहा छैन कहाँ सम्मको, यात्रा तय भो  

एकै चालमा एउटै कदम, डगर मिलेको 

साथ नटुटोस हाम्रो, हात नटुटोस सदा 

कसम! जसरी नदिलाई, बगर मिलेको



मुटु साटिएछ कि सायद,, धड्कन्छ अन्त्यै

मुटु साटिएछ कि सायद,, धड्कन्छ अन्त्यै 
चट्याङ्ग यो छातीमा बज्री, चड्कन्छ अन्त्यै  

नदी किनारमा प्यासी, थाहाछैन के खोज्छ 
भोकले एता अत्याउँदा जाउलो, छड्कन्छ अन्त्यै 

धुवाँ धुलो पिरो, दिउँसै, अन्धकार हुँदैछ यहाँ 
आवाज बिना नै गोला बारुद, पड्कन्छ अन्त्यै 

सहन्छ सदा पिडा, आँसु लुकाई रुन्छ अरे 
मौनतामा रमाउने 'आफन्त' भड्कन्छ अन्त्यै

उफ् ओठ अनि आँखाका, झुट उस्तै छन्

उफ् ओठ अनि आँखाका, झुट उस्तै छन्           
प्रेमका निहुँमा मन मुटुका, लुट उस्तै छन् !!

बेबारीसे पो भयो जिन्दगी, जिउन नजान्दा          
अगाडी प्याला र परेलीका, घुट उस्तै छन् !     

देउ अनि लैजाउ, व्यापार भो पिरती पनि         
हेर्नुस् हजुर प्रेम बजारमा, छुट उस्तै छन्  !!            

हतार हुन्छ कविलाई नै, बान्की मिलाउन               
के लेख्ला मुना-मदन बिच, फुट उस्तै छन्  !                                           

हैरान छ यो 'आफन्त' पनि, हिजोआज              
देख्दैन कसैले उस्का छातीमा, टुट उस्तै छन् !!

१० माघ, २०७९ 
स्पेन 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...