----------
अस्थिर बर्तमान,
तिता भूत अनि
अज्ञात, भयभित भबिस्य,
चकमन्न साँझ,
रातको लागि लस्किएको छ
दक्षिणी चिसा सिरेटाले
झ्यालका उध्रिएका पर्दाहरु
हल्लाइरहेका छन्!
साथमा मरन्च्यांसी 'सुरी' छे
म जस्तै बर्तमानमा हराएकी
म धेरै थोक चाहन्छु जिन्दगीमा
तर ऊ केवल मेरा स्पर्शहरु !
उसको पुच्छरले मलाई छुन्छे
अनुहार हेरेर म्याउँ गर्छे
केहीबेर कतै सुस्ताउँछे
सायद
म एक्लै हुन्छु, नितान्त एक्लै
यहि साँझ जस्तै!
अघिसम्म उघ्रिएको क्षितिजलाई
अँध्यारोले घुम्लूँङ्ग छोप्छ
हतास म पनि,
ढोकाका छिस्कनी लगाउँछु
नजानिँदो डर र त्रास
घरभित्र छिर्छ कि भनि!
कतै टाढा कुकुर भुकेको सुनिन्छ
कतै स्याल र ख्याक्कर कराएको सुनिन्छ
लाग्छ यिनीहरुलाई पनि
मलाई जस्तै रात मन पर्दैन!
एकजोर बत्ति बाल्छु
घरको सानो मन्दिरमा
अज्ञानका पाप पखाल्न हो कि
या कतै आस्थाका जग बसाल्न !
पश्चिम आकाशमा
हँसिया जस्तै जून देख्छु
ऊ पनि पूर्णिमा पर्खंदै छे,
जसरी म अँधेरी रातहरुमा
जूनलाई पर्खन्छु !
बिस्तारै साँझ पोखिंदै जान्छ
रात छिपिदै जान्छ,
अघिसम्म हराएकी सुरी
लहसिन खोज्छे म संग
उसलाई हातका स्पर्श दिन्छु
काखमा आएर चल्न थाल्छे
फेरि कतै जान्छे।।
मलाई एक्लै बनाएर,
हो, आज यो मन
एकतमासले झ्यालमा टोलाएको छ
रात मन नपरे पनि,
अँध्यारो मन नपरे पनि,
बिलिन हुँदै गएको जून
जूनको बिदाइमा तिम्तिमाएका ताराहरु
तिनीहरुलाई आँगनीमा भेट्न चाहन्छ
निकै आत्तिएको छ मन
एकांकिले कोपरे झैं !
टिक टिक टिक
सधैं बिग्रिएको समय देखाउने
घडिको आवाजले
मेरो बहकिएको मनलाई चिमोट्छ
झसंग हुन्छु
रातले धेरै भुलाएछ मलाई !
अनि बिस्तारै मेरै साथीलाई
बोलाउँछु ...
सुरी ........
---------------------
मङ्सिर २, शनिबार २०७४
कोस्टाब्लान्का आलिकान्ते
स्पेन
Pic/graffic collection by
FB friend Latika Rai