तस्बिर : मित्र भद्र थापा (फेसबुक)
आधुनिक रेखाचित्र जस्तै छ,
फास्ट ट्र्याकमा चलाऊन खोज्दा
अब्स्ट्राक्टमा अल्झिएको जिन्दगी,
र पनि
उन्मादमा हाँसिरहेको हुन्छु म
सायद, मलाई देखेर
समय र समकालिन
हाँसिरहेका होलान,
सिसा-कलम भित्रका री-फील
कार्बनका सिन्काहरु जस्तै
झिना-मसिना आबेगहरुले
स्पिड ब्रेक लगाउँछन्
र पनि
चलिरहेकै हुन्छु म
तिनै कालिगढका औँलाहरु झैँ।
बेरङ्गमा रङ्ग देख्छु
ध्वाँसे भित्ताहरुमा
जीवन कै श्याम-स्वयेत पाटाहरु
पानी रङ्ग,तेल रङ्ग र कार्बनका रङ्ग
जे सुकै घोटिउन चाहे दलिउन
त्यो चित्र अमुर्त हुन्छ,
यती फरक छ म
आफ्नै जिन्दगी सँग
बोल्न हिच-किचाउँछु
या जिन्दगी म सँग बोल्दैन।
र पनि
जिन्दगी टाङ्गिएकै हुन्छ
ललित कलाभित्रका
जीवन्त आत्म अनुभुतिहरु सँगै
फुट्न खोजिरहेको हुन्छ
अन्कुराउँदै गरेका बिजहरु सँगै,
आखिर जीवन त बादल जस्तो लाग्छ
सुकिला भित्ताहरुमा पोतिएका
रङ्गहरु जस्तै
पत्थर खोपेर बनाएका
कलात्मक आकृतिहरु जस्तै
जस्तो सोच्यो उस्तै हुने।
र पनि
जिन्दगी
जिन्दगी नै रहेछ
कबिता जस्तै
अक्षर अक्षर मिलेरबनेको शब्द
र शब्दभित्र लुकेका भाब जस्तै,
कतै देवतालाई ढुङ्गा भन्छ
कतै ढुङ्गालाई देवता भन्छ,
जब, सराब सँगै पोखिन्छ
त्यहाँ गजल जस्तै लाग्छ जिन्दगी,
र त कबिको कलम जस्तै लाग्छ जिन्दगी !!
हो आज झ्यालबाट बाहिर चिहाउँदा
जिन्दगी धेरै थोक जस्तो लाग्यो
परदेशमा भोक जस्तो लाग्यो
स्वदेशमा शोक जस्तो लाग्यो
आखिर जिन्दगी नै त हो,
एउटा कला जस्तै लाग्यो।
जसले सिकाउने रहेछ
बाँच्ने कलाहरु !!!