Monday, December 17, 2018

बहकिएको मन !


मौन साँझ, मौन म अनि रङ्गहरु। हो रङ्गहरु! हो, यस्तो लाग्छ हिजो आज म यिनै रङ्गहरुमा घुलिरहेको छु, झुलिरहेछु शायद अनेकौं कुन्ठाहरुले चिचिएको म,म आँफैलाई भुलिरहेको छु रङ्गहरुमा। कहिले क्षितिजका रङ्गहरुमा मितेरी लगाउँदै, कहिले शान्त र गम्भिर सागरका निला रङहरुमा आँफैलाई भुलाउँदै। हरेक आयाममा म रङ्ग भेट्छु हर परिवर्तन, हावाका झोका, खसेका पात, फक्रिएका थुङ्गा यद्धपी काँडाहरुमा पनि। श्यामस्वेत तस्बिरहरुमा कबिता लेख्छु झरेका पातहरुमा रुमानीहरु। थाहाछैन म खुशी छु कि दुखी तर केवल रङ्गहरु मात्रा खोज्छु म अन्धेरा रातहरुमा पनि कसैका बेमतलबी बातहरुमा पनि। न मदिरा न यौवनका छताछुल्ल गल्लिहरु, न संगीत न गल्लिका हल्लाहरुमा म आफुलाई भुलाउन सक्छु, त केवल म रङ्गहरुको नै खोजिमा हुन्छु। कहिले पुतली बनी त कहिले भमरो बनी फूलहरुमा भूल्छु जहाँं म अनिगिन्ती रङ्गहरु भेट्छु। ढुङ्गेपहाडमा रमाउँछु पतझड जङ्गलहरुमा रमाउँछु। किन कि हरकहिं म रङ्ग भेट्छु। बिहानीका पाईलाहरु सङ्गै, दिउँसोका चाल अनि साँझका रित्ता हुन् या भरी प्यालाहरु सबैमा मिठासका रङ्गहरु भेट्छु।
सोच्छु आखिर किन म यती धेरै रङ्ग प्रिय हुन पुग्दैछु। समयले पैँठेजोरी खेलेको बेलामा,हत्केलाका रेखाहरु मेटिँदै गएका बेलामा, भिडमा पनि एक्लो महशुस भएको बेलामा पनि म रमाएको हुन्छु रङ्गहरुमा र रङ्गहरु सँगै। अनि हो तिनै रङ्गहरु पोख्न थाल्छु कतै अक्षर त कतै शब्द बनाएर।सजिलै गुनगुनिन्छन् मेरा शब्दहरु, जुन नजरका मसीले तिनै गीतमा पोतिएका हुन्छन्, छरिएका हुन्छन् ताराका बिस्कुन जस्तै। हरेक भेटिएका फूलहरुको तस्बिर लिन्छु, साँझमा टाढा देखिएका क्षितिजहरुमा टोलाउँछु, साँझकै सिन्दुरीहरु सुटुक्क चोर्छु अनि बस्छु मनका बह पोख्न। त्यहाँ पनि पोख्छु म थोरै रङ्गहरु धेरै आस्थाका बुटिहरु अनि अतितका त्रुटिहरु। सायद मन लाई सोध्न सक्ने थिएँ भने सोध्ने थिएँ मैले ' ए मन! तँ किन यतिधेरै बेचैन हुन्छस्?किन हरपल बहकिन्छस्?' भनि। परन्तु भेट्दिन मैले आफ्नै मन सामुन्नेमा।
हुनसक्छ म केही भुल्दैछु या केही भुल्न खोज्दैछु या अझै भूल्ने कोशीस गर्दैछु तर के? यही तितो यथार्थ बर्तमान, त्यो बिगत या अज्ञात भूत??।।

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...