Monday, December 17, 2018

अलिखिती रूपक

कल्पना पौडेल आचार्य

पात्र म अनि
जिवित/अर्धजिवित मेरै सपनाहरु
अर्धनग्न चेतनाभित्रका 
नग्न भूमिकाबिहीन चरित्रहरु
नेपथ्यमा सुनिन्छन्
तिनै सपनाका चित्कारहरु
पटक-पटक मुर्छित हुन्छन्
सम्हाली नसक्नु आर्तनादहरु
आर्तनादभित्रका क्रन्दनहरु
असह्य पिडाभित्रका रोदनहरु
रङ्गमन्च निस्पट अन्ध्यारो हुन्छ
नेपथ्यबाटै मलाई घोक्रेठ्याक लगाईन्छ
कि जा गएर अभिनय गर भनि ।

न सम्बाद छन्, न मनोबाद नै
अदृस्य लाग्ने परिकल्पनाकार भन्छ
जा-जा गएर भन कि
त जिवित छस्
नेपथ्यका तेरै सपनाहरु जस्तै
निशब्द म उक्लन्छु अध्याराहरुमा
मलाई त लुछ्न पठाईन्छन्
मेरा बाँकी रहेका अस्मिताहरु
बर्दियाका उखुबारीहरुबाट
जोगाएका मेरा आफ्नै
जिवित अभिलाषाहरु
क्षतबिक्षत पार्न खोज्छन्
तिनै दर्शकदिर्घामा अग्रपंक्तिमा रहेका
प्रमुख अतिथीहरु
कानूनका ठेकेदारहरु
नगर प्रमुखहरु
मेरा आफ्नै मामा, काका, सानाबाहरु
खै कथाले मागेको हो या
परिकल्पनाकारको रोजाई
या त्यही फैलिएको अन्धकारले
कस्तो अन्धकार हो यो
उज्यालोभित्र चुक पोखिए जस्तै
अघिसम्म एक्लो थिएँ म
एकान्की भनिएको थियो ।
तर एक्कासी नरपिचासहरुको प्रबेश सुरु हुन्छ
नि:शब्द मेरा अभिनयलाई कमजोर बनाईन्छन्
कस्तो निर्देशन हो यो ?
कस्तो परिकल्पना ?
कस्तो सुत्रभित्रको रुपक हो यो ?
अमुक नारीलाई रङ्गमन्चमा उतारिन्छ
बिना सम्बाद अन्धेरीहरुमा
अनि प्रबेश गराईन्छ
रक्त पिपाशुहरु
म रन्थनिन्छु
मेरो माथिङ्गल घुम्छ
सिंहदरवार हल्लिन्न
सितल निवासमा हावा लाग्दैन
बालुवाटार निदाईरहन्छ ।
भो भो नलेखिउन एस्ता नाटकहरु
बन्द गर यी रङ्गमन्चहरु
मलाई निकाल
यो अन्धेरो भूमिका र सम्बादबिहिन रुपकबाट
अलिखित नै रहन देओ
यी अलिखी रुपकहरु
लेखिनै पो किन पर्यो र
मन्चन नै किन हुनुपर्यो र ?
हर दिन हर साँझ मन्चन भैरहेका छन् ।
@महिला खबर अनलाईन पत्रीकामा प्रकाशित 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...