Saturday, January 31, 2026

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए 

हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए


रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो 

जसै आज अझै यी नजर चुलबुल भए 


उधारमा जान्छन् कि भन्ने पिर मनमा 

मुकुरायौ जब सामुन्ने सारा अशुल भए 


बुलेट बिध्वंस राता ठेली बेकार साबित  

ब्यालेटबाट बिद्रोह समग्रमा आमुल भए 


नारा सिद्धान्त क्रान्ति के हुन् के के श्री 

आखिर मौनता नै सडकमा बिगुल भए 


Friday, January 30, 2026

गजल

 
आऊ एक पटक चाहे हतियार लिएर आऊ 
जो हतियार धारिलो चमकदार लिएर आऊ !!

तिमी त मेरो सागर हौ भन्थ्यौ किनारामा छु 
सक्छ्यौ डुबाउन अझै मझधार लिएर आऊ !!

सबथोक चमक दमक रंगीबिरंगी नै चाहिन्छ 
फिका हैन बदनामीपनि निखार लिएर आऊ !!

अदालत तिम्रै प्रशाशन तिम्रै छ सजिलै फस्छु 
प्रमाण छैनन् बहुमत कै सरकार लिएर आऊ !!

सिद्ध्याउने  जिम्मा भो तिम्रो यो 'पौडेल'लाई 
सक्छ्यौ भने त्यो 
नरशिंह अबतार लिएर आऊ !!



Wednesday, January 28, 2026

song duet


दुवै -

रहरका महल बने, सपनाका शहरमा 
न भत्काउनु न सजाउनु, बलौटे यी बगरमा 

पुरुष 
सम्हालेर राख मेरा, मीठामीठा यादहरु 
एकान्तमा खुशी हुँदा, बिर्सनेछौ मातहरु 
जिन्दगी हो घामछायाँ, रुने हाँस्ने हुँदै गर्छ
मौकामिले भिज्दैगर, यौवनका बर्षातहरु  !!! 

दुवै - 

रहरका महल बने सपनाका शहरमा 
न भत्काउनु न सजाउनु बलौटे यी बगरमा 

महिला 
कसले गाउला कुन्नि अब गीत पिरतीका 
बिर्संदैछ यो दुनियाँले  प्रित गाउंबेशीका 
नबिर्सनु परदेश लाग्यौ तिम्री मनकी प्यारी 
बाडुल्कीमा लाज लाग्ने, रीत सम्झनाका  

दुवै - 
रहरका महल बने, सपनाका शहरमा 
न भत्काउनु न सजाउनु, बलौटे यी बगरमा 

गजल

चाहाना त बर्षात थियो, शीत संग मन बुझाएँ         
जिन्दगीका सु;ख र दु;ख गीत संग मन बुझाएँ 


युद्ध चल्यो समयसँग बाध्यताले मैदान छोड्दा 
एक्लोपनले जित्यो त्यहि जीत संग मन बुझाएँ 

कति बोल्नु त्यो ऐनासंग कति दौडनु छायाँसंग 
मनभरिका, मनै-मनका, मीत संग मन बुझाएँ 

छुरी उचालें आगो खोजें भिडसंग म लुक्दै हिडें
भाग्य लेखो कर्म अनेकौं, रीत संग मन बुझाएँ 

गल्ति भए धेरै हिजो परिस्थितिलाई दोषमात्र 
मन्दिर धाई प्राय, प्राय;श्चित संग मन बुझाएँ 

Sunday, January 25, 2026

गजल नाम पछाडिको थर तिमीले

नफेरेको भए हुन्थ्यो नाम पछाडिको थर तिमीले 
कन्क्रिटका शहरमा, रोज्यौ आखिर घर तिमीले ।।             

गल्तिभए कतै भन्न सक्थ्यौ माग्थे माफ मैलेपनि  
गर्नु पर्थ्यो गरिनौ किन, भरोषा अनि भर तिमीले ।।  

उसैपनि कमजोर थिए, सम्बन्धका यी धरातल 
चर्किएका ती पर्खालमा, थप्दै गयौ चर तिमीले ।। 

कोमल छन् अझै मेरा, छाम मनमुटूका कुनाहरु  
कहाबाट ल्याई भर्यौ? अबिश्वास र  डर तिमीले ।।  

युद्धमा त सम्झौता हुन्छ, जिन्दगी हो तिम्रोमेरो 
मानिपो हाल्छ कि "पौडेल" गरिहेर कर तिमीले ।। 


Sunday, January 18, 2026

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन् 

आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन् 

निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी 

नदीकिनार बालुवाका ती महल सम्झना छन्




नजिर राख्छ मुटुलेपनि कठै सास चल्दासम्म
नभेटिने प्रेम बिश्वाश भरोशा शब्द रचना छन्   




व्याख्या गर्छ कविताले उल्था गर्छन् कविहरु 
बिभक्ति जिजिविषा यहाँ अनेक तर्कना छन्

 




करकाप छन् बाँच्न अझै छैनन् रहरहरु कतै 
रुझिरहन्छ यो पौडेल जहाँ नयन-झरना छन् 








shreebhakta paudel

Tuesday, January 13, 2026

भनि देउ 'आफन्त' लाई मर्न किन रहर लाग्छ !!

 गजल  

थाहाछैन हिजोआज जिन्दगीसंग डर लाग्छ 
उभिएको यो धर्ति आँगन बलौटे बगर लाग्छ !! 


नजिकको सदरमुकाम बैराग्यको शहर लाग्छ !!
चाहनाका बस्ति उठे सपनाका महल जल्छन् 

सवालमाथि सवाल गर्छ कस्तो हो यो दुनियाँ  
रुवाउनेको साथमा हाँस्नको ब्यर्थै कर लाग्छ !! 

कोमलाताका फूल झरे कठोरता छन् मनभरि 
शितलता छैनन् कतै छाती उसै जरजर लाग्छ !! 

उमंगका उजेलीमा लुकी हिंड्न थाल्यो पौडेल  
भनि देउ 'आफन्त' लाई मर्न किन रहर लाग्छ !!
२०८२ माघ १, बुधबार 

14/02/2026 Wednesday 

Saturday, January 10, 2026

भन्न पाए सजिलै मर्दैछु आज

भनुँ या नभनुँ के गर्दैछु आज 
भन्न पाए सजिलै मर्दैछु आज 


कर्म बग्यो पसिनामा देखिदैन 
आफ्नै भाग्यमा भर पर्दैछु आज 

उम्रन सकेनन् बिज बिजन् अझै 
भुट्टिएका बिऊ सब छर्दैछु आज 

चल्लो हुर्कियो रनबन'नि उँड्यो 
म माऊ चारो खोज्दै चर्दैछु आज 

न दौडन सकें न पौडन हिजो  
जिन्दगीमा बामे सर्दैछु आज  

Friday, January 9, 2026

स्विकार्छु म तिम्रा हर गल्तिहरु ,,

परिवर्तन भई 

अझै आउञ्छ्यौ भने

स्विकार्छु म तिम्रा 

हर गल्तिहरु ,,

बिचार छोड अहमताका 

आफैलाई सर्बस्व ठान्ने 

म नै राज्य हुँ म नै सरकार भन्ने 

परिवर्तन भई ,,

सुन्ने गर 

बुझ्ने गर

मनन गर्ने गर 

अन्तरात्माका क्रन्दनहरु 

तोडिदेउ ती दरबारी परिधी 

नराख कुनै मोहका बन्धनहरू 

परिवर्तन भई ,,

जलाई देउ पूराना 

दस्ताबेज नजीरहरु 

जहाँ दबाईए 

सुनौला तक्दिरहरु,,

परिवर्तन भई ,,

खुल्नुपर्छ तिमी 

फूल्नु पर्छ अझै 

माली पनि बनि बगान 

डुल्नु पर्छ तिमी ,, 

परिवर्तन भई 

अझै आउञ्छ्यौ भने

स्विकार्छु म तिम्रा 

हर गल्तिहरु ,,

Tuesday, January 6, 2026

सन्चै भन्नु परेको छ

दबाएर देब्रे छाती सन्चै भन्नु परेको छ 
रुँदारुँदै सधै राती सन्चै भन्नु परेको छ !!

चोट आफ्नैले दिने दुखाई छ आफैभित्र 
कसलाई भन्नु घाती सन्चै भन्नु परेको छ !!

लुकाएर लुकाईञ्जेल कति लुकाउने अझै
मुटु ब्यथा नाना-भाती सन्चै भन्नु परेको छ !!

अरे! करकाप समय बाध्यता र परिस्थिति 
उफ पिडाका यी ताती सन्चै भन्नु परेको छ !!

हार्दैन यो पौडेल मर्दैन थोरै रोगाएको मात्रै 
हानेर छातीमा लाती सन्चै भन्नु परेको छ !!

.......भागेको ओली सरकार जस्तै

अभिसप्त छ यो मन आज, जलेको त्यो दरबार जस्तै 
खरानी मात्र देखिन्छ, बिग्रिएको आफ्नै घरबार जस्तै 

धारिलो छ वचन भन्छन् असर गर्दैन कोमल बोलिले 
संग्रालयमा झुण्डाईएका, मल्लकालिन तरबार जस्तै 

अट्न सकिन महलका साङ्घुरिएका कोठीहरूमापनि 
के पढ्नु, के बुझ्नु हुन्छ हेर च्यातिएको अखबार जस्तै 

असमर्थ भएँ, अनर्थ लाग्न थाले बोलिका हर शब्दहरु 
कसले सुन्ने जंगलमा ती घाईते शिंहका ललकार जस्तै    

सल्काई बैमनास्यताको आगो जताततै यो जिन्दगीमा 
कर्तब्यबिमुढ भयो भक्त भागेको ओली सरकार जस्तै   

Monday, January 5, 2026

अद्भुत अनुभूति

अद्भुत अनुभूति अगाढ अबोध प्यारमा 
अति असिमित अन्योल अबरोध प्यारमा

 
अन्योल अराजकता असंख्य असन्तुलन 
असहज आतंक अझै अरे बिरोध प्यारमा 

अहो ! अड्कलबाजी असैह्य अनि सकस 
आखिर अबस्य, अनुसन्धान सोध प्यारमा 

अलमल्ल आँखा अकमक्क मन अटुट रहंदा 
अलाप आरोह अबरोह अकुत क्रोध प्यारमा 


आग अश्रु आहत अनेकन ए आफन्त अब
आशक्त आशिक भो अन्धो अनुरोध प्यारमा 


अधिन अनुशासन अनुबन्धित अकाट्य अत;
अबैध्य अपराध अबस्य अफसोच प्यारमा  


Saturday, January 3, 2026

नदीले नै ठाउँ छोड्यो, द'रार मात्रै जिन्दगीमा !!

 २३ अगस्ट २०२४ रेक्याभिक गेर्दी 


जित भन्दा बेसी, यी हार मात्रै जिन्दगीमा 
भाग्य हो कि नियतीको मार मात्रै जिन्दगीमा !!

भोग्नेलाई थाहा हुन्छ समयले खेदेका कुरा 
अर्ति उपदेश बेकारका सार मात्रै जिन्दगीमा !!

कलकल बग्ने खोलिमाथि सावनका भेल पस्दा 
नदीले नै ठाउँ छोड्यो, द'रार मात्रै जिन्दगीमा !!

कहाँ पाउनु उज्यालो अनकन्टार ओढारमा छु 
टुकी टुट्यो तेल सकियो दार मात्रै जिन्दगीमा !!

न मह काँडे न हात चाटें धुवाँ त्यसै खेर गयो 
रानो उँड्यो मौरी उँडे घार मात्रै जिन्दगीमा !!

जता गांस्यो उतै चुँडिन्छन् सम्बन्धका डोरीहरू 
जो जे संग बस्यो अधुरो प्यार मात्रै जिन्दगीमा !! 

यता टाल्यो उता उप्कनछ उता टाल्यो यता 
कहिले तिर्छ आफन्तले उधार मात्रै जिन्दगीमा !!   

शराब पिएरपनि त म निदाउन सकिन

शराब पिएरपनि त म निदाउन सकिन 
जसरी प्रेमले उनलाई रिझाउन सकिन !!

फूलपनि भन्यौ तिमीले काँडापनि भन्यौ हिजो 
आज कहीं कतै ती कदममा बिझाउन सकिन !!

बदनाम गर्यौ खुलेआम कस्ता हुन् ती घमण्ड 
शिखरमा राखिरहें अस्तित्व गिराउन सकिन !!

क्यानभाषका तस्विर थिएनन् हाम्रा सम्बन्ध 
जे थिए यथार्थ थिए कुनै बात मिलाउन सकिन !!

सुन्दैछु विरहमा अझै तडपिन्छौ रे एकान्तमा 
हेर आफै हार्दा-हार्दै पनि जिताउन सकिन !!



सपना जलि खरानी भो,

 गजल 


सपना जलि खरानी भो, आईज हुरी ऊँडाई  लैजा  
खरानी कै महलमा, मेरो मनलाई सजाई लैजा !!

कस्तो आदत बस्योबस्यो, सपना मात्रै देख्न थालें 
भो चाहिंदैनन् अंधेरी रात निन्द्रा सबै भगाई लैजा !!

खालि खालि भयो जीवन, सौन्दर्यता हराए कतै 
लडेका सबै जिजीबिषा सक्छस भने उठाई लैजा !!

दबदबा छ दुनियाको, देखि सहन्नन मेरा खुशी
सिंगो लैजान अप्ठेरो लागे तनलाई जलाई लैजा  !!

आकाशमा बादल देख्छु आकाशमै जून ताराहरु 
धर्ति झरी टपक्कै, टिपी संग संगै, मलाई लैजा !!


Friday, January 2, 2026

छिट्टै उनको र मेरो वार पार हुनेछ

छिट्टै उनको र मेरो वार पार हुनेछ 
एउटा दिर्घ रोगी हुनेछ अर्को बिमार हुनेछ।।  

सतह मै रुमल्लिए सदा सम्बन्धहरु 
न गहिराई रहे न अब् किनार हुनेछ।।  

हुनु हुँदैन प्रेम, डुब्नु हुँदैन प्रेममा 
होहल्ला वहिम फगत् एक बिचार हुनेछ।।  

मिल्नु कि नमिल्नु, भोलि थाहा हुँदा हुँदै 
एक हातमा फूल,  अर्कोमा हतियार हुनेछ।।    

कल्पनामा डुबी सदैव रोई रह्यो 'पौडेल' 
दुनियाँ हँसाउने गजल, दम'दार हुनेछ।।  

थप एक शेर 

तैरिरहेका भेट्छौ दुई लाश कतै न कतै 
कुनै भवितव्य सनसनी अखबार हुनेछ।।  
२०८२- ०९-०७ 
२१-१२-२०२५ 
२१;३० रेक्याभिक 

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...