Saturday, March 21, 2015

खै कहाँ पोखिएछ मेरा बैंशहरु

पोल्टोभरी यौवन र बैंश सम्हालेर
शहर पसेको थिए
खै कहाँ पोखिएछ
मेरा बैंशहरु
मेरा यौवनहरु
जतन गरी मजेत्रोले पनि बांधेको थिएं
तर सुइँको सम्म पाईन मैले
कुन बखत गाँठो खोलेछन्
शहरीयाहरुले,,
आज आफ्नै चाउरिएका गाला
आँखामुनिका काला डोबहरुले जिस्काउंदा पो चाल पाएं
फर्केर थानकोट सम्म पुगें
धुलिखेल र शिवपुरी अनि
चौतारा र लाकुरी भञ्ज्याङ
तर अहं कहाँ हराएछ मेरा
कोमल बैंश र यौवनहरु,
सायद, जुनबेला
म मा मादकता भरिएको थियो
त्यही उन्माद र उन्मुक्तताले
पोख्यो होला, पोखियो होला
आज खोजेर कहाँ भेट्नु मैले?
जुन बेला
धमिला भद्दा गुलाबी बत्तिहरु मुनी
संसार जितेको थिएं,शान जितेको थिएं
महारानी भएर राजधानीमा बांच्दा
गाउँ बिर्सिएको थिएं
सायद त्यही बेला
मेरा बैंश निख्रिएका पो थिए कि?
के थाहा अन्धो जवानीमा
कथित प्रेमका प्यालाहरु रित्तिएका पलहरुमा
तिनै महाराजाहरुले फुत्काए कि?
के थाहा आज म यती चांडै
रित्तिन्छु भन्ने? सिद्धिन्छु भन्ने?
जानेको भए बुझेको भए
मेरा बैंशालुमनहरु
अलिकती परेलिमा,
अलिकती मन भित्रै कतै लुकाएर राख्थें
जो आज यो एकांकिले खाइरहेको बेलामा
छाती भरी फिंजाएर रुन्थें,,

खै आखिर दोश शहरको हो कि
मेरा रहरहरुको हो,
आज म निख्रिएको छु
सिद्धिएको छु
यस्तो लाग्छ मलाई मेरै
जवानी र बैंशले सिद्धाएको हो। 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...