प्रेम प्रकाश पौडेल
रामपुर चितवन
अमुक छ जुलुश अमुक छौं हामी
जहां हराएको छौं हामी
अनबिज्ञ छौं हामी,
नाराहरु सँग
झन्डा बोकाइएका छौं
केही जिन्दाबाद र मुर्दाबादका
नारा घोकाइएका छौं
अभियन्ताहरु अगाडि छैनन्
धेरै माथि छन्, राजाधानिमा
हामी त गुलेलिका मट्याङ्रा मात्र
कतै फोर्न पुग्छौ, कतै तोड्न,
भोलि भोटोको अभिलाषामा
आज भाटा र घोचा बोकेका छौं,
क्रान्ति हो रे यो,
सामन्तिहरुले घुँडा टेक्नेछन् रे भोलि
पर्सी हामी हाम्रो पहिचान
एेनामा होइन आङ्गनमा भेटिन्छन् रे,
कैयौ टुकडीहरुले बनेको यो भिड
शक्ती हो रे परिवर्तनको
जहाँ परेड खेल्दैछौं हामी,
राता कफनहरु बांधेर,
रक्तिम बिगुलमा मुठ्ठिहरु कंसेर,
२१औं सताब्दिको अन्तिम छलाङ
रोग भोक र शोकको अन्त्यस्टी हो रे।
तर हामी हराएका छौं
गुमराहमा राखिएको छ
थाहा छैन, जुलुश कता जाँदैछ?
सुकिला बुढा गोरुहरु मियो छोडे पछी
दाइँमा दगुराइएका गोरु भएका छौं
हाम्रै पुच्छर निमोठिन्छ,
हामी माथि नै लाठी बर्सिन्छन्।
अमुक छौं हामी
अमुक छ जुलुश।
No comments:
Post a Comment