Wednesday, March 18, 2015

कौवा अनि बिहानी


प्रेम प्रकाश पौडेल 
-------------
ए! नकराओ काला कौवाहरु
धारा, बकैनाका ठुटाहरुमा बसेर
चैतका मधुर बिहानीहरुमा 
मन अमिलो बनेर आउछ,
धमिला हुँदै गएका नजरहरुले
ढुङ्गा पनि त हान्न सक्दिन,
के दोश छन् तिम्रा का!!का!!हरुको
तै पनि,
नकराओ न ए काला कौवाहरु
दुब्लाएका पराले टौवाहरुमा बसेर
परदेशीएकाहरुले भुलेको बेला
लटरम्म लाली-गुराँश फूलेको बेला
तिम्रा बिरशिला का!!का!!हरुले
न कुनै सु-सन्देश ल्याउंछन्
न कुनै सु-समाचार नै,
याद र सम्झनाका पंधेराहरुमा
हरेक बिहान मुख धुंदा
नरमाइलो लाग्छ,तिम्रा आवाजहरु,
जाओ, परपर जाओ
आउनु पर्दैन मेरा घर आङ्गनमा
चिमोट्न र चिथोर्न मलाई
घाइते छु म, उसै पनि।
खुशी छु म
अनेकौं अणु-स्मृतिमा भने
तिम्रा रङ्ग जस्तै आवाजहरुले
नबिथोल मलाई,
चैतका मधुर बिहानीहरुमा,
चिसा पिंढिहरुमा,
चियाका कपहरुले
जिस्काएका हुन्छन्
काखमा,हाक्कामा, खाटमा
रमाउने अनुहारहरु
टाढिएका बेला,
उसै बेला तिम्रा आवाजहरुले झनै
छाती दुखाएर ल्याउंछन् ,
त्यसैले,
ए काला कौवाहरु नकराओ न
मेरा घर आङ्गन गोठ र टौवाहरुमा बसेर
चैतका मधुर सितल बिहानीहरुमा,
-------------
४ चैत,२०७१
बुधवार
रामपुर चितवन

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...