Saturday, April 11, 2020

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥

यताकाले भो नआईज,
उताकाले जा भन्छन्
सिमानामा बन्दी भयौं 
यो एस बि आई
जे छ त्यही खा भन्छन्
के गर्नु,
सरकार नै
झट्केलो परेछ कि कुन्नि?
हामीलाई सौतने बनायो
घर हाम्रो पारी परासी
बास भने नौतुना बनायो
जोगबनी बाट जोगिए
बिराटनगरले लखेट्छ
रक्सौलमा रिक्सा चढें
नेपाल गेटमा ओराल्छ
ए सरकार! लौन
स्वदेशको माटो सुँघ्न मन छ
बरु माटोको डल्लाले हिर्का।
महाकाली पारी
चाँदनी र दोधाराले समेत 
चिनेनेन् हामीलाई
महाकाली पूलमा ताल्चा ठोकेर
हामीलाई पारी नै रोकेर
कहिले सम्म बाचौंला र खै
यो खाली पेट बोकेर।। 
न हामीलाई
जहाज लिएर लिन आईज भनेका छौं
न डोलीको साइत बोकेर
मात्र चाह छ
मर्नै परे बरु महाकाली पारी नै मर्छौं
नमार भो हामीलाई यो दोधारमा
न पूर्वको कांगडा
न पश्चिमको टिस्टा
सायद, अब त
नालापानीले पनि बिर्सिएछ
हर कोही आज
ब्रिटिश इस्ट इन्डिया कम्पनी झैं लाग्न थालेको छ
वीर बलभद्रका सन्तती हामी 
आज महाकालीले रोकेको छ।
बिन्ती छ सरकार आज
मात्र एक आभास दे
कि हामी पनि जनता हौं
हाम्रो पनि देश छ
हाम्रो पनि सिमाना छ
हाम्रो पनि नागरिकता छ
सायद हाम्रो रेमिट्यान्स
थोरै भएर हो कि
हाम्रो हातमा हरिया राहदानी नभएर हो?
कहिले सम्म तेस्रो दर्जामा राख्छस? 

  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...