Wednesday, April 29, 2020

अहो! यो कस्तो नोस्टाल्जिक ??

बुद्ध गुरुङ्ग 
हेल्थ्पोस्ट चनौली 
चितवन 



बादलुको आँचल छली जब जून मुस्कुराउँदा

अहो! यो कस्तो नोस्टाल्जिक ??
आफ्नै जन्मघरको आङ्गनीमा
सबथोक थियो र पनि अभावमा रहेछु
सायद अनगिन्ती चाहनाको दवाबमा रहेछु।। 
 
मध्य बैशाख,
हिजोको बर्षाले सितल छ 
आकाश खुलेको छ
कतैकतै कपास जस्तै बादल देखिन्छन्
लगभग सुनसान छ गाउँ शहर
चराहरु बासबसी सके
र पनि मनमा
मिठा सूनामी चलेका छन् आज
आमाले हुर्काउनु भएको 
आँप र लिच्चीका रुखका बिचबाट
म जून चियाउँदै छु
अनि जूनले मलाई
एस्तो लाग्छ,
सिंङ्गो रात, परको जून अनि म
हामी एक अलौकिक वार्तालापमा छौं
रात आफ्नो गतिमा सुस्तरी सुस्ताउँदै छ 
समयको लामो अन्तरालमा,
म भने टोलाइरहेको छु,
बोलाइरहेको छु 
बादललाई छिचोल्दै निस्किएको जूनलाई
जूनकिरीको पछी दौडने मेरो बालपन
खोज्दैछु म आफ्नै बलेशी र आङ्गनीमा
हो 
म आज आफ्नै जन्म आङ्गनमा छु
देशको राजाधानी काठमाडौं हुँदै
जापान टोकियो पुगेका मेरा पाईलाहरु
आज आफ्नै जन्मघरमा रोकिएका छन्
बहाना त लकडाउन भएपनि
आज मन अतितका झैं मुस्कुराएको छ
दुनियाँ मृत्‍युका त्रासले खुम्चिएको बेला
म मेरो आफ्नो आङ्गनमा
पून: तङ्ग्रिएको छु
सोध्न मन लाग्छ जून सङ्ग
कतै भेट्यौ भने मेरा बालपन
लिएर आउ है मेरो आङ्गनीमा
खै?थाहा छैन आँफैलाई
मैले देखेका सुखका सपना भेटें कि भेटिन
तर आज छुट्टै आभाश सहित्
तिनै सपना भेटेको छु जून मैले
लगभग बिर्सिएको थिएँ।
टोकियोका रोपोङ्गीमा नभेटिएका खुशीहरु
साकुराका बोटमुनी नभेटिएका उन्मादहरु
आज आफ्नै आङ्गनीमा आत्मसाथ गरेको छु
लटरम्म फलेका लिच्ची र आँपका चिचिलाहरु सङ्गै,
निकै भावुक बनाएको छ आज मलाई
त्यो परको जून अनि यो जुनेली रातले
कति छिट्टै छोडिसके तीन पानेका मातले
किन कि त्यो कोदोको नारेपा भन्दा त 
भाँडाकुँडी खेलेको यादका नशा पो प्यारो भएको छ
कैयौं सपनाहरु पूरा भए मेरा
भौतिक सन्तुस्टिले उन्मुक्त हुने म
आज जून सङ्ग रमाएको छु,
आखिर केही त गुमाएको रहेछु मैले
एस्तो लाग्छ सिनेमाका पर्दाहरुमा जस्तै
यो रातमा मेरा आँखा वरपर नाचिरहेका छन् 
झनै मन अत्तालिएर आउंछ
कतिधेरै बालपनाहरु छोडेर गएको थिएँ 
कहाँ पुगे होलान् मेरा बालसखेहरु?

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...