Saturday, February 10, 2018

प्रेम पत्र।










खै? कसरी र के पो सम्बोधन गरुँ म आज तिमीलाई?
त्यसैले बिनै सम्बोधन सुरु गरें आजको यो प्रेम पत्र।

हो प्रेमपत्र नै सम्झ आज तिम्रा लागि नै भनेर कोरिएका यी शब्दहरु यिनै देखावटी प्रेम दिवसका सन्ध्याहरुमा!

थाहा छैन कोही किन कसैलाई, त्यती धेरै प्रेम गर्छन्, म त तिमीलाई यती मात्र प्रेम गर्छु कि जती तिमीले बुझ्न सक्छ्यौ, जती तिमीले आफ्नो आँचलमा सम्हाल्न सक्छ्यौ, परेलामा लुकाउन सक्छ्यौ अनि ओठमा मुस्कान बनाएर देखाउन सक्छ्यौ! कि त्यो मुस्कानले यो दुनियाँ नै जलोस बरु। तर गर्दिन म तिमीलाई त्यती धेरै प्रेम कि जसले तिमीलाई रुवाओस। हो, प्रेमले रुवाएको देखेको छु मैले, दुखाएको देखेको छु मैले त्यसैले त मैले लेख्ने गरेको हुन्छु नि " कि त्यो प्रेम नै कसरी हुन्छ जसले हरपल रुवाएको हुन्छ"? त्यसैले त भन्दैछु नि म त्यो प्रेम, त्यस्तो प्रेम तिमीलाई कहिल्यै गरिन र गर्दिन पनि। जुन प्रेमले आसुँ निम्त्याओस, रात नै नपर्दै बिहानी निम्त्याओस। म त्यस्तो प्रेम गर्छु, म त्यस्तो माया दिन्छु, कि जुन माया प्रेमले जिन्दगी जिउने बहाना मिलोस, बाँच्ने अभिलाषा बढोस्, चाहनाहरु बढुन् हाँस्ने र हँसाउने। त्यो प्रेम जसले बेरङ्गमा रङ्ग पोतोस, त्यो प्रेम जसले हरेक सम्बन्धमा माधुर्यता देओस, हरेक मन मुटुमा एस्तो तरङ्ग देओस कि जसले हर ब्यथा र पिडा भुलाओस अनि हरेक उम्रिएका बुट्यानहरुमा फूल फूलाओस।

हर रात म तिमीलाई पाउँछु, तिमी मलाई पाउँछ्यौ, हामी हामीलाई नै पाउछौं हाम्रै अङ्गालोमा भने किन चाहियो हामीलाई 'अङ्गालो दिवस'? हाम्रा साथहरुमा नै यती मिठास हामीले पाउछौं हरपल भने किन चाहियो हामीलाई रङ्गिन प्लास्टिकले बेरेका चकलेटहरु? त्यसैले त म दिन्न बनावटी हग्स(अङालो) न म तिमीलाई दिनेछु बजारीया चकलेटहरु नै। जब तिमी मेरो र म तिम्रो नै हौं भने किन गर्नु पर्‍यो बर्षमा एकदिन 'प्रस्ताब'? कहाँं लुकेका हुन्छन प्रेम कसले देखाउन सक्छ त्यो प्रेम जुन चकलेट, गूलाबका फूल र प्रस्ताबहरुमा?

हरेक बगानमा तिम्रा नाम लेख्न चाहन्छु, हरेक मौशमले तिमीलाई सृङ्गार्न चाहन्छु, पालैपालो चन्द्रमा र ताराका नामका उपनाम दिएर बोलाउन चाहन्छु , सागरका नुनिलो पानीमा सङ्गै डुबुल्की मार्न चाहन्छु। हो तिमीसङ्ग धेरै थोक गर्न चाहन्छु, जुनकुराहरु यस दुनियाँमा सम्भब छन् र रहनेछन् सदैब। स्वपनिल धरातलमा उभिएर,काल्पनिक भर्र्याङ्ग चढेर म तिमीलाई माया गर्न सक्दिन कहिल्यै पनि। किन कि हामी दुबै यस धरातलमा छौं भने म तिमीलाई धरातलिय नै प्रेम दिन्छु गहिराईका प्रेम त जलचरहरुले नै देलान सायद।

हो, म मायालु छु मलाई कुनै प्रिटेन्ड गर्नु छैन कि तिमीलाई म मायालु लागुँ, कियरिङ्गग लागुँ। म तिमीलाई माया गर्छु बस यती मात्र भन्छु कि म जान्दिन त्यस्तो माया गर्न जुन माया यो वास्तविक मानब धरातल भन्दा बाहिर गएर गरियोस। उपनाम दिउला "मेरी चन्द्रमा र चाहकिली तारा" भन्दै तर म झुटो कसम खाँदिन कि त्यो चन्द्रमा र तारा यो धर्तिमा ल्याउनेछु भन्दै। भनिहाले नि सुरुवात मै, कि म त्यस्तो प्रेम दिनेछैन म त्यस्तो माया पनि चाहने छैन जसले जिन्दगी जिउन सहजताको सट्टा असहजता मात्र दिओस। म चाहन्न तिमीबाट पनि कुनै बलिदानी मायाप्रेम म जस्तो दिन्छु तिमी जस्तो बुझ्छ्यौ हो त्यस्तै दिए पुग्छ। खुशी छु म आज तिम्रो मायामा र खुशी नै रहन पाउँ जिवित जीवनका अन्तिम पलहरु सम्म ।। बस आजलाई एती भन्छु कि तिमी मेरी माया हौ म तिम्रो प्रेम बन्न सकुं। यो संसारीक देखावटी माया र मोहबाट टाढा बस्न सकौं।आखिर माया नै त आभास हो, अनूभुति हो जुन आभास र अनुभूति अन्धा र बहिराले पनि गर्न सकुन। आखिर आज माया किन बजारको रमिता बन्दैछ? किन बन्दैन माया प्रेमका कबिताहरु? किन प्रस्फुटित हुँदैनन् माया कलमका सहाराले गजलहरुमा? निकै सरल तर अद्भुत छन् मायाका अनुभबहरु अनूभुतिहरु। त्यसैले त म यस्तो माया दिन्छु तिमीलाई कि टाढा रहेर र रहन परेपनि 'दुर' को आभास कहिल्यै हुनेछैन र हुन पनि दिने छैन।


आज म तिमीलाई शुभकामना प्रेम दिवसको भनेर पनि भन्न दिन चाहन्न किन कि यो एकदिने रमिताले हाम्रो माया, प्रेम बुझ्न त झनै कदापी सक्दै  सक्दैन। किन कि हामीले मनाएका छौं हरेक पल प्रेम दिवस। जहाँ सङ्गै मुस्कुराई रहेका हुन्छन् विश्वाश, आत्मियता र आदर र सत्काराका फूलहरु। माफ गर "कालु" आश नगर कुनै फूलहरुको,कुनै चकलेटहरुको न कुनै बनवटी चुम्बन र आत्मियता बिनाका अङ्गालो नै।।

उही तिम्रो प्रेम उही हाम्रो माया
उही तिम्रो कालु



No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...