Thursday, February 24, 2022

बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!! edit req

 छ्या हिजोआज केके'केके सुन्नु पर्या छ

आँखामात्र कहाँ होर? कान थुन्नु पर्या छ  !!

पार्नु त कसैलाई पनि छैन, भेटिन रेशम 

मनभरी माकुरीका, जालहरु बुन्नु पर्या छ !!

उफ् बदनाम गरायो मायाले हो कि मोहले 

न मातेपनि मातेको झैँ गरी झूल्नु पर्या छ!!

मौनता मन पर्छ मन परेर के गर्छस 

नचाहँदा नचाहँदै यहाँ खुल्नु पर्या छ!! 

न मन्दिर न चुल्ठो न घाट तै पनि 

बर्बादीका बार्दलीमा फूल्नु पर्या छ!!

  



Sunday, February 20, 2022

तिम्रा यादहरु मलाई २

भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने 


सपनीमा मात्र केवल, रङ्गहरु फेट्छन् भने !!


न आएर पो के हुन्छ खै छुटेकाका यादहरु   

सपनीमा आई सपनी मै, सब मेट्छन् भने!!

 

सुन्नु छैनन् ती पदचाप, पाउजुका झङ्कार 

नजरको बाटो हुँदै छातीमा नै टेक्छन् भने


भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने

बादल बनी आकाश कै, चन्द्र छेक्छन् भने   


बदनाम बनाई माया बदलाको आगमा जली 

चाहिएन  त्यो  माया, यो मुटु रेट्छन् भने !!!


Saturday, February 19, 2022

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ
मिठो खान्छु भन्दा भन्दै,नुनै छुटेछ!!
 
लेख्दै मेट्दै गर्थें मैले कथा ब्यथाहरु 
सिङ्गार्दै थिएँ ती गीतहरु, धुनै छुटेछ!! 

लोभ हो कि मोह कुन्नी बुझ्नै नसक्दा  
हिरा खोज्दा भेटेँ पत्थर, सुनै छुटेछ!! 

आफन्तका माझबाट, टाढिएको बेला 
साथी भाईइले छोडिगए, रुनै छुटेछ!!

जुनकिरीको पछिलाग्दा, जूनै छुटेछ 

फाल्गुन ७, २०७८ शनिबार 
स्पेन 

Saturday, February 12, 2022

प्रदिपका यादमा

  













उफ्! थाहै नदिई तैंले पो छोडेर गैइस है
ओई जिउँदै छस् कि मरिस भन्ने गर्थिस् !!

थुप्रैछन् अझै तैंले गर्नुपर्ने काम बुझिस् 'श्री' 
केही बाँकी छन् केही पुरा गरिस भन्ने गर्थिस् 

क्षमता छ तेरो काले खुबी छ तेरो देश फर्की  
बेकारमा थुप्रै देश बिदेश चरिस भन्ने गर्थिस् !!

माया थियो बचपनको मित्रता हाम्रो याद बनाएर 
हैन हो भेटिन्नस त तँ कहाँँ परिस भन्ने गर्थिस्!! 

धेरै पिउने बानी नगरेस है काले चालिस कटिस 
डाँडा तिरै छस् कि बजार झरिस भन्ने गर्थिस्!!

बिन्ती सधैं सपनामा आउने गर है 'साले' प्रदिप    
के गर्नु त नजिक छैनस टाढा सरिस भन्ने गर्थिस्!!


मेरो बचपनको साथी, कक्ष्या ६ पढ्दा देखिको साथी, हामी सङ्ग हज्जारौं यादहरु छन् स्कूल हापेर भिडियो हेर्न गएका देखी, पछील्लो बेन्चमा बसेर अगाडीका साथीको सर्टमा कलमले कोर्ने सम्म, भूगोलको क्लासमा अनेक बहानामा हल्ला गर्ने देखी एउटै बरफ पालैपालो खाने सम्म, एक मोहोरको चनाचटपट बांढेर खाने देखि हरेक बदमासिको जिम्मा लिने सम्म। के बाँकी राख्यौँ होला र हामीले ति स्कूले दिनमा गर्नको लागि, झ्यालका सिसा फोरेनौँ कि पंखाका स्विच तोडेनौँ? जीवनका ति कालखण्डहरुमा हरेक पल सङ्गै रहन्थ्यौं कि मेरो घर कि उसको घरमा। पछाडी क्यारियर्स नभएको उसको साइकलमा अगाडी डन्डीमा बसेर कैयौँ यात्रा गर्यौं गन्जशिङ्गको फिल्महल देखि हेल्थपोस्ट सम्म। एस एल सि परिक्ष्याको पहिलो दिन देखि उसैको घरमा मुवाले बनाएको खाना खाएर पढेका पलहरु अझै मानसपटलमा ताजै छन् 


क्रमश:      

 

Friday, December 10, 2021

गीत सुने मेरै यादले तिम्रा मुटु रेटिए रे

सुने मेरै यादले तिम्रा मुटु रेटिए रे 
बजारमा त्यो मुटुका टुक्रा भेटिए रे

मधुशाला जान्छौ अरे मैलाई भूल्न भनी  
प्यालाप्यालामा तिम्रा आँसु फेटिए रे 

बर्बराउँछौ रे अझैपनि मेरै नाम लिई 
बेहोशीमा केके कोर्छौ सबै मेटिए रे

खुशी लाग्छ सुन्दा देख्दा तिम्रा हालतहरु  
जसलाई भनी मलाई भुल्यौ उनै टेढिए रे !!


Thursday, December 9, 2021

अनेक निहुंमा हरेक साँझ जहर पिएको छु

कलकल नदी मात्र हैन बगर पिएको छु
हिजोआज मैले सपना रहर पिएको छु 

भौंतारिनु नै त जिन्दगी रहेछ यात्रा भन्दै  
स्वदेश परदेश गाउँबस्ती शहर पिएको छु 

लेख्दिन कहानी फाटेका जुत्ता फुटेका कुर्कुच्चा 
घुम्ती मोड गल्ली पुरापुरा डगर पिएको छु  

कसले के कती कहाँँ पिए, बालै भएन  
अनेक निहुंमा हरेक साँझ जहर पिएको छु 

सुन्य सुन्य सुन्यतामा, खोजुँ कसोरी

सुन्य सुन्य सुन्यतामा, खोजुँ कसोरी 

मान्छे छ्यौ मुटुमा गाउँ सोधुँ कसोरी!! 


हातमा रातो गूलाब, छिरें बजारमा 

भिडमा सबै छन् उस्तै, रोजुँ कसोरी!!


यादले सिमा नाघे, छचल्किए परेली

देख्छन् कि कसैले लौ, रोकुँ कसोरी!!


नगर बदनाम मायाको, अरुले जस्तै   

छताछुल्ल जाम जस्तै, पोखुँ कसोरी !!


सुन्य सुन्य सुन्यतामा, खोजुँ कसोरी  


x

Sunday, October 3, 2021

संयुक्त गजल सङ्ग्रहको लागि पठाएको गजल

किन्छौ भने म मेरो, आन बेचिदिन्छु   
के छैनन् बजारमा?, शान बेचिदिन्छु।।
   
बेचिसके विभुषण र तक्मा सरकारले
जेजति रहे नेपालीको, मान बेचिदिन्छु।।   

कोही बेच्छन् सिमाना, कोही नदिनाला 
उत्तरी हिम-शिखरका, मचान बेचिदिन्छु।।   

थाकिसके सब बिद्रोही, बागीहरु यहाँ 
मिल्छ भने सहिदका, थकान बेचिदिन्छु।।  

सार्वभौम अधिनमा, यो देश खण्ड खण्ड 
नरिसाउ 'ब्याकुल' तिम्रो गान बेचिदिन्छु।।

बाल गजल

ढुङ्गाको दुनियाँमा, ढुङ्गाकै घर हुन्थे 
जति ढुङ्गा थप्यो, ,,उती शहर हुन्थे  !!
 
गट्टा खेलिन्थ्यो,, बाघचाल खेलिन्थ्यो 
आहा ती ढुङ्गासङ्ग, खेल्ने रहर हुन्थे  !!

माटाका हुन्थे भाँडा, र  झुम्राका पुतली 
ढुङ्गाको छपनीमा, , ढुङ्गैका भर हुन्थे  !!

अबोध हुन्थे व्यबहार,तोतेबोली उस्तै  
बाल मनमा, न त त्रास न त डर हुन्थे  !!

के बन्थेन र ढुङ्गाले बालपनको संसारमा  
जहाज उड्थे उहीँ,,,,, उहीँ मोटर हुन्थे !!

के भेट्थे र यो जिउँदो लाससङ्ग edt req gazal

मान्छे थिए उनीहरु सुनाएर गए 
अतितका भमरा गुनगुनाएर गए
 
आहा ती पल त्यो प्यारो बचपन 
घुर्की नै सहि है खुनखुनाएर गए
 
सकेसम्म रुवाए अनेका बहानामा 
अन्त्यमा नरोभनि थुमथुमाएर गए

के भेट्थे र यो जिउँदो लाससङ्ग 
एकहुल झिङ्गाहरु भुनभुनाएर गए 

सिकिस्त छ जिन्दगी

कहिले सपनाले थिच्छ 
कहिले रहरले चिमोट्छ 
आशाका चिसोले निमोनिया बढेछ 
त्यसैले त जिन्दगी रातभरी खोक्छ 
बिहान भरी खकार्छ,
थोरै तातोपानी पिउँछ,
जिन्दगी आँफै सोच्छ 
जन्मेको खाट देखि घाटसम्मको यात्रा नै म हुँं भनि 
परन्तु 
हिजोआज जिन्दगी सिकिस्त छ 
सिथिल छ,बेचैन छ
असफलता सङ्ग मित्रता बाहेक उसले केही लगाउन सकेन 
कहिले आफ्नै हत्केलामा भाग्य खोज्दै हराउँछ 
कहिले ज्योतिषिलाई चाइना देखाउन जान्छ 
सबै तिर राम्रो छ तेरो भनिदिन्छन् 
एकछिन दङ्ग पर्छ, खुशी हुन्छ
पलभर मै 
चिथोर्न आईपुग्छन् 
निमोठ्न आईपुग्छन् 
कोपर्न आईपुग्छन् 
यथार्थका एेठनहरु 
उसै त सिकिस्त जिन्दगी 
त्यसमाथिका असहज एेठनहरु ।। 
उमेर त केवल अंक हो भन्थ्यो जिन्दगी 
हिजोआज निदाउन न सक्दा 
बुढेशकाल पो हो कि,
न थकान छ, न केही बोझ नै 
र पनि जिन्दगी मलिन छ 
सालीनता देखाउन खोज्छ 
दुनियाँलाई देखाउन चाहन्न 
उसलाई ङिजोलिरहेका रोग र ब्यथाहरु 
जहाँं उसलाई हेरेर  
हा हा हा गर्नेहरु मात्र छन्, 
परिस्थितीका बैसाकी टेकेर 
तङ्रिन खोज्छ जिन्दगी 
आत्मबिश्वासका ट्याब्लेटहरु खाईरहन्छ 
अद्रिश्य नै किन नहुन् 
आशाको दियो सल्काउँछ।। 
दरिन खोज्छ जिन्दगी 
तङ्रिन खोज्छ जिन्दगी ।। 
हिजोआज सिकिस्त छ जिन्दगी ,
----------
१७ अशोज, २०७८ आईतवार  
    

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...