Tuesday, June 3, 2014

कबिता आज जे देखें /political satire


खै कसले के के देखे आज
मैले त असहज पिडा र क्रन्दन
पोखिएको पाएं,
समयको मागलाई
आफ्नो बहादुरी भन्नेहरु,
आँफै टुक्रिएको र भत्किएको पाए
कोही खुला मन्चमा रुदैछन्
कोही डिनर पार्टिमा भकानिदैछन्,

रगत लत्पतिएको बन्दुक बिसायौं भन्छन्
बिना रक्तपात राजतन्त्र सकायौं भन्छन्
जङ्गली लाई बस्तिको बाटो देखायौं भन्छन्

पाखण्डी र बिखन्डन बादिहरुको
नाङ्गो नाच देखाए निशुल्क,
त्यो आज कसैले कुर्लिएको पाइन
न त खुशीमा जनलहर उर्लिएको नै पाएं.
पाएं त केबल सिमित घरानीयाहरुको
गास बास र कपासमा आमुल परिवर्तन,
जहाँ परिवर्तन आबश्यक थियो,
त्यहां त एक झिल्को घाम पुगेन
ढिको नुन,थोपो तेल,छाक टार्न
जङ्गल पस्नु पर्नेहरुको झुपडिमा
केही पुगेन,

सुकिला मुकिलाहरुको राज चलिरह्यो
खाने र ख्वाउनेहरुको काज चलिरह्यो
बस्तीहरुमा काग र चिलहरुको क्वांक्वां
अन्धकार गाउँ घर बनपाखा जलिरह्यो

तै पनि हुँडर छाडेका छैनन्
शहरीया ब्वाँसाहरु आकाश हेर्दै
यो गरेम, त्यो गरेम भन्दै
जितको पगरी गुथ्दै
ठुलाठुला भाषण गर्न छाडेका छैनन्
राजतन्त्रको मलामी गए पनि
राजतन्त्रको काट्टो र सराद्दे खाए पनि
यिनलाइ अझै छाडेको छैन,
पंचायति भुतहरुले,
राजतन्त्रका पिशाचहरुले
लामो युद्दको धङ्धङीले
अझै छाडेको छैन
यी शक्तीका हिमायातीहरु लाई।

¨चारी¨¨कारी¨हरुको बाहुल्यतामा
(भ्रस्टचारी,दुराचारी,ब्यभिचारी,
आतंककारी,हुलदङगाकारी,बलात्कारी)
ज्यानमाराहरु एउटै छानामुनी
एकछत्र रमाएका छन्।
उनैलाई कलम थमाइेका छन्
कानुन कोर्न,

त्यसैले,
खै कसले कसरी देखे
कसले कसरी लेखे
तर नेपालीले
कतै केही देखे जस्तो लागेन
लक्षित र सिमित बर्गमा बाहेक
न कानुन पाए
न शहीदको बलिदान
प्याशमा तड्पिरहे
यात्राामा छटपटीरहे
पोख्न सक्दैनन् आक्रोश अब
किन कि यहाँ
ताला झुन्ड्याइेको छ मुखमा
डरलाग्छ कतै अर्को तन्त्रको
उदयमान हुँदैछ,!!!

त्यसैले,,मदन आउ,


दासढुङ्गामा धकेले तिमीलाई
सिनेमाको पर्दामा ओकले तिमीलाई
धेरै गरे तिम्रो लाश सँग राजनीति
धेरै नौटन्की पनि देखियो
तिम्रै जमात भित्र,
आज फेरी बग्दैछन् गोहिका आशु
चिप्लिदै छन् तिम्ले कोरेका
गोरेटाहरु बाट,
आँखा चिम्लिदै छन् अनुन्यायिहरु
अल्झिदै छन् फेरी
सत्ता समिकरणको फोहोरी खेलमा,
दोश खै कसलाई दिउँ?
यो देशको माटो नै यस्तै हो कि
धर्तिपुत्र नै यस्ता हुन्,
कोही अछुतो छैनन्
तिम्रा रगतका छिटाहरु बाट
कसैलाई पछुतो पनि छैन।
तिम्रो अनुकरण र सिद्दान्त
डर लाग्छ कतै बिलाउदै पो छन् कि,
अनेकतामा एकता, जहाँ समेटिएका थिए
बस्ती बस्तिका सपना,
गास बास र कपासका सुनिश्चितता सँगै
एक नौलो आयम,परिवर्तनको

आखिर किन पच्थ्यो?
परा पूर्व कालदेखि
सामन्तिका खोल ओढेकाहरुलाई
कथित सर्बहाराका नाममा आसिन,
रजौटाहरुलाई,,,
त्यसैले त धकेले उर्लदो भेलमा,
थाहा छैन स्वर्गमा छौ कि नर्कमा!?
फर्केर नहेर,,तल
यस पापीहरुको खाल्डोमा
जहाँ अझै उदाइरहेका छ्न्
दाराहरु,,मुख बाइरहेका छन्
अझै अघाएका छैनन्
रगतका भोकाहरु,
सक्छौ, पठाउ केही एकताका झिल्काहरु
केही आशाका किरणहरु
यहाँ त टुट फुट लुटको राजनीति चल्दै छन्
त्यसैले, पठाउ केही सन्देशहरु
यी अर्धचेतकहरुलाई,
बिर्सिसके तिमी र तिम्रा बादहरु,
त्यसैले सक्छौ भने अाउ झर
फेरी उही झन्डा फहराउदै
जनताको बहुदलिय जनबाद
जिन्दाबाद! को नारा बुलन्द पारौं
बिग्रदो धार्मिक र सामाजिक सहिष्णुता
सन्तुलन राख्दै,बिखन्डनकारी लाई साबधान गर्नु छ!
आज तिम्रो उपस्थिती खट्किदो छ
समाज अघाइसकेको छ
नमिल्दा दस्ताबेजहरु सँग।

कोही अमिलिएका छन् यहाँ
कोही पिल्सिएका छन् यहाँ
आँफैलाई धारेहात गर्दै
धेरै अल्मलिएका छन्
तिम्रा हाम्रा झन्डाहरु च्यात्दै छन्
भाग खोज्दैछन्,पुरानै रजौटाहरुले झै,
नगर बधुका भन्दा फरक छैनन्
यीनका बोलिहरु,,
बिर्सिएर समाजको राजनीति
बर्चस्वको थालनी गरिसके,,,,

त्यसैले,,मदन आउ,
जन्म लिएर आउ,,
खाचो छ आज देशलाई
एक पटक फेरी जन्म लिएर आउ,
.........

२०७१/०२/०३
श्रीभक्त पौडेल
प रामपुर चितवन
(स्पेन)

कबिता एक बिहान

जब शहर नियाल्छु भनि
झ्यालका पर्दाहरु सार्दै थिएं
हताश निकै नरमाईलो लाग्यो
रातका जुनका सितहरु
या बाछिटाका बुँदहरु
सिसा झ्यालमा रोइरहेको पाएँ
आफ्नै बलिन्द्र अश्रुधारा जस्तै लागे
लागे साना छोटा नदिहरु जस्तै
कतै यी बुँदहरु
शहरका धुल त पखाल्दै छैनन्?
कतै आँफै बाटो बिर्सँदाका भुलहरु
पखाल्दै त छैनन्?
तर म केहिबेर
आँफैलाई हल्का महशुस गर्छु
कि कतै यी बुँदहरुले मेरा
छाती भित्रका मयलहरु
धोइरहेका त छैनन्?
हो होइन, होइन हो
यस्तै यस्तै अनगिन्ती सवालहरुको
अंधिबेहरि चल्न थाल्छ,
मन मस्तिस्क भरि
उथल पुथल हुन्छु आँफैमा।

मन निर्क्यौलमा पुग्छ
¨होइन¨
होइन यी बुँदहरुले
बाटो बिराएका हुन्
आफ्नै रहरहरु सँगै
मनको एक कुनाले भन्छ
यीनका रहरहरु पनि
बगेर सागर छुन जाने नै हुन्
छाल सँग मिलेर सागरमा बिलाउने नै हुन्
हो तर आज यीनका रहर मरेछन
मेरा हिजोका रहरहरु मरे जस्तै
त्यसैले होला,
अनायशै मेरा आँखाहरुबाट पनि
केहि बगेजस्तो आभाश हुन्छ
तप्प! तप्प!!
देब्रे हातको उल्टो हत्केलाले
बाँकी बग्दै गरेका धाराहरु पुस्छु
नितान्त फरक पाउछु
सिसा झ्यालमा बगेका बुँदहरु र
मेरा गालामा बगेका धाराहरु बिच
आँखाबाट झरेका पारदर्शी नुनिला धारा बिच

सित, झरी बाछिटाका बुँदहरुको चाहना त
सागर सँग मिल्न जाने थियो,,
तर मेरा आशुहरुको ?????
कती निर्दोश छन् मेरा आशुहरु
कती लालायीत छन मायामा
अर्कैको दु:ख , पिडामा तप्की दिन्छन
तप्प तप्प

अझ झन अमुल्य पाउछु
आफ्नै आशुका थोपाहरु
खहरेहरु, ढिकाहरु
यस्तै यस्तै
कल्पनाको सागरमा हराउदै थिएं
छाती न्यानो भएको पाएं
भिजेका परेलिहरु ओभानो पाएं
बिस्तारै आँखा खोल्दै थिएं
पूर्वको उदाउँदो घामले
सारा शहर, बस्तिमा
रोषनी बाढ्दै थियो,
केहि मेरो कोठामा पनि
त्यही झ्याल बाट
चुहाइ सकेको रहेछ ....
तर , तर
म खुशी हुन सकिन रमाउन सकिन
त्यो बिहान त्यो रोषनी सँग, किरण सँग
सधैं रमाउँथे तर
किन कि,
त्यो पापी किरणले
अघिका सारा बुँदहरु निलिसकेछ
साना पवित्र खोलाहरु सुकाइ सकेछ
बाँकी छन् त केबल
धमिला सुकेका धर्साहरु
जहाँ यही शहरको मैलो कटकटिरहेको छ
अघिसम्म पखालिएका मेरा
छाती भित्रका मयलहरु
यथास्थानमै छाड्डै सारा बुँदहरु
हराइ सकेछन्

म नतमस्तक हुन्छु
पर्दा उघारौ कि उधारौ
पर्दा उधारौ कि उघारौ ...

एक बिहान ....

कबिता कोठे कबी



¨अनुहार किताबको¨ भित्तामा
पिडा पोख्छ, रुन्छ, हास्छ एक्लै एक्लै,
नितान्त बन्द कोठा भित्र,मुग्लानी उ,
स्वतन्त्रताको अभिनय गर्छ
शब्दहरुमा,,,
कथित समाजमा परिवर्तनका झिल्काहरु
दासत्व बिरुद्द आवाजहरु बुलन्द पार्न खोज्दै
कम्मर होइन मुट्ठी कस्दै छ
कोठे कबी अक्षरहरुमा,
कसैको बेवास्तालाई बेवास्ता गर्दै
लागि परेको छ,
जब टायर बालिन्छ कायरहरुको देशमा,
अनी सल्बलाउछन उस्का औलाहरु
कहिले रक्तिम भएर उदाउछ
कहिले गुलाब भएर फक्रन्छ
कोठे कबी,
हालाकी उ एक्लो छैन
तर पनि उ एक्लो छ
स्थापित असत को जरो खोताल्न
के थाहा, कालान्तरमा उ कतै बिलाउने पो हो कि
विश्वस्त छ उ,
उ बिलाए पनि बिलाउने छैनन्
उस्का हरफहरु,ह्र्स्वदिर्घका अनुच्छेदहरु।
उ,
यथार्थताका बिम्बहरु खोज्छ
बिद्रोहका नाराहरु खोज्छ
त्यती मात्र होइन उ,
आफन्ती सँग पैठेजोरी खेल्छ
आफ्नै अस्तित्व र अधिकारको लागि
कोही उसलाई पागल सम्झन्छन्
कोही भाबुक त कोही के,
तर,
उ निरन्तर आँफैमा
घोत्लिरहन्छ, जुझिरहन्छ

कतै अबमुल्यन हुन्छन्
उसका भावनाहरु
नाम चलेकाहरु माझ
कतै प्रतिकृया र अन्तरकृयामा
हुँदैनन् उसका कबिताहरु
काममा जलेकाहरु माझ ।

कहिले मायामा घात कहिले प्रतिघातका
धुनहरु बज्छन उसका गीतहरुमा
यस्तो लाग्छ , हो न हो उ नै
¨मुना मदन¨ र ¨पिग्मालिओन्¨का
पात्र हो,

यस्तै छ दिन चर्या
कोठे कबी र उसका माहोलहरु
.....................................

७ बैशाख,२०७१
आईतवार, स्पेन

गजल पिलाउँदै छन्

 
छालहरु सागरका, किनारमा आई बिलाउँदै छन्

शत्रु भनुंकि मित्र नै भनुं अझै आई पिलाउँदै छन्


बुझेर बुझि नसक्नु छन् अचम्म लाग्छन् मान्छेहरु

च्यातिएको हिजोको सम्बन्ध अझै आई सिलाउँदै छन्


´ढुङ्गा माथि परेको बिउ´ ए! उम्रिएछ हजुर भन्दै

लाजै नमानी खडेरीमा ऊ अझै आई जिलाउँदै छन्


भन्न पाएं भन्दैमा मनपरी भनी निस्किए तिनै हिजो

रात रहे... अग्रख रे, कुरा अझै आई मिलाउँदै छन्


तेल लगाएर कोपर्ने चलन हिजै देखि चल्दै आ´को

ओकली सकेको हेर्नु बिष अझै आई निलाउँदै छन् !!

कबिता ती सेता गुलाब


भो! नटिप भन्दै थिए
उनिले टिपिन्, टपक्क
जङ्गलको सेतो गुलाब,
आहा कती राम्रो!
म कलशमा सजाउछु भन्दै,
फक्रिएका थुप्रै फुलहरु थिए त्यहा
तर उनिले सेतै गुलाब,
किन टिपिन होला?
सोध्ने आँट गर्न सकिन
चुपचाप हिडिरहे,

साँझ कोठामा त्यही फुल देखे
मन रमाएर आयो,
झरेर जाने सेतो गुलाब आज
कलशको पानीमा केही दिन भए पनि
भिजने मौका पायो
आखिर फुल न हो
चाहे जङ्गली होस् या बगैंचाको
चाहे सेतो होस् या रातो
भगवानको अघि समर्पित ,,

मनमा एक छुट्टै तरङ पैदा भयो
आखिर शोभा त दिने रहेछ नि फुलले
कसैको शिरमा,कतै भिरमा
आज किन किन त्यो सेतो गुलाब
आँखा वरीपरी नाचिरह्यो
अझ भावनाका तस्बिर नगिच
आस्थाका दिप बलिरहेका थिए
ती सेता गुलाब जङ्गली गुलाब
शिव पार्वती र कृष्णको
पाउमा फक्रिरहेका छन्,

धन्य छ उनिलाई
आज पत्र पत्र झरेर जाने
फुललाई यहाँ सम्म ल्याइन,
कलश सजियो, मन बाट तस्बिर पुजिए
बलेको दियो ले झन
कोठानै जगमग बनायो।।

खै मैले त केही पनि अन्तर पाइन,
बगैन्चा मा फुलेका फुल र
जङ्गल मा फुलेका फुलमा
रङ उही शुभास उही ,,
अझ पवित्र र प्रगाड पाए
सौन्दर्यमा,,.

ती सेता गुलाब !!!!

गजल प्रजातन्त्रको काफल त


प्रजातन्त्रको काफल त पाकेनछ बरीलै
लोकतन्त्रले स्वतन्त्रता डाकेनछ बरीलै!

महंगी भ्रस्टचारले आकाश चुमी सक्यो
यस्तो लाग्छ गणतन्त्र फापेनछ बरीलै!

दोश कसकसलाई दिउँ नेपालीको भाग्य
देशले बिकाषको स्वाद चाखेनछ बरीलै!

पालैपालो यी बन्नथाले महाराजा देशमा
कसैले कानुनको हेक्का राखेनछ बरीलै!

लुट्छन् फुट्छन् जुट्छन् पार्टिहरु यहाँ
संघर्षको तिरले निशाना ताकेनछ बरीलै!

सत्ता र कुर्चीको खेल बर्षैभरि चलिरह्यो
समाउदै छाड्न अख्तियार थाकेनछ बरीलै!

गजल सपना यथार्तको


मध्य रात हिजो फेरी सांप हरु डस्न आए
भाग्न खोज्दा वरपर घांटी मेरा कस्न आए

मिठो बोले ढोका खोलें आँखा मुख ढाक्या सब
खोली मेरो रित्तो थियो छुरी बोकी धस्न आए

किन आए को को आए हांसी हांसी भित्रै पसे
बास बस्न पक्कै हैन झिटी झाम्टा खोस्न आए

धन कौडी सब झिक भन्न थाले चर्को स्वर
छैन आफ्नु केही भन्दा धुरी च्याती खस्न आए

यती सम्म भन्न भ्याएं हात जोडी बांच्न देउ
जित्यौं हाम्ले आज फेरी भन्दै रातो घस्न आए!

स्वदेशि मनहरु poem



त्रिषित् मन बोकेर उडेका नेपाली छातीहरु
सात समुन्द्र पार पनि त्रिषित् नै छन्
एक छुट्टै अनिस्ट त्रासको भुमरी भित्र

यस्तो त्रास कि भोलि
आफ्नै पहिचान अनि
अस्तित्वको ईति श्री होला भन्ने डर
पाश्चात्य समाजमा
दाल भात र पिर्काको ईतिहाँस 

सँगै म नेपाली हुँ भन्ने आधार
गुम्दै छ कि भन्ने त्रास ।।

खुशी छैनन् बिदेशी मनहरु आज
कृतिम हासोको फोहोरा छुटाउदै
चिल्ला गाडीहरुमा हुइंकिरहे पनि
हास्न बिर्सिसकेका छन्
ती ओँठहरुले 

कहिले सम्म टिक्ला र?
सेतो गन्जिहरुमा लेखिएका
आई लभ नेपाल
बुद्ध वाज बोर्न इन नेपाल
मसिहरु सुक्न र बिलाउन
छातीमा सिङो सगरमाथा बोके पनि
कोठामा पशुपतिनाथको सुनौलो मुर्ति
सजाए पनि,
भुमि त आखिर गोराको नै

हो त्यसैले
अतालिन थालेका छन्
बिदेशमा स्वदेशि मनहरु..
  The poem has been published in Sancharpatra in Chitwan,,

गजल सन्दर्भ गणतन्त्र दिवश



कोही भुकेछन् कतै कोही चुकेछन् पनि
उडाई परेवा, आँफै लाई थुकेछन् पनि

सुटबुटको रहर हल्लाउदै देशको झन्डा
आरती भन्दा पहिले नै लुकेछन् पनि 

तैँले हैन मैले ल्याएको गणतन्त्र भन्दै
पत्रिकामा भेटें साँझ बांणी फुकेछन पनि

सात बर्षको पुनरावलोकन आँफै गरी 
बिना पश्चाताप छिमेकमा झुकेछन् पनि

आयो गयो रे टुंडिखेलमा भेटिएन कतै
सहिदका आत्मा परिवार दुखेछन् पनि 

गजल हराएं झै लाग्छ



कहिं कतै शब्दहरुमा हराएं झै लाग्छ
लेखें यीनै शब्दहरुमा डराएं झै लाग्छ

एकान्त नै प्यारो मलाई भिड देखी टाढा
भेटें उहिँ शब्दहरुमा कराएं झै लाग्छ

उतार चढाव जिन्दगीका सहनु नै पर्‍यो
आफ्नै घाऊ शब्दहरुमा चराएं झै लाग्छ

शिखर चुम्ने अभिलाषा छाती भित्र राख्दै
सँग सँगै शब्दहरुमा, झराएं झै लाग्छ 

सडक गल्ली सपनामा बर्बरायो भन्छन्
आँफै लाई शब्दहरुमा अराएं झै लाग्छ

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...