Sunday, October 3, 2021

संयुक्त गजल सङ्ग्रहको लागि पठाएको गजल

किन्छौ भने म मेरो, आन बेचिदिन्छु   
के छैनन् बजारमा?, शान बेचिदिन्छु।।
   
बेचिसके विभुषण र तक्मा सरकारले
जेजति रहे नेपालीको, मान बेचिदिन्छु।।   

कोही बेच्छन् सिमाना, कोही नदिनाला 
उत्तरी हिम-शिखरका, मचान बेचिदिन्छु।।   

थाकिसके सब बिद्रोही, बागीहरु यहाँ 
मिल्छ भने सहिदका, थकान बेचिदिन्छु।।  

सार्वभौम अधिनमा, यो देश खण्ड खण्ड 
नरिसाउ 'ब्याकुल' तिम्रो गान बेचिदिन्छु।।

बाल गजल

ढुङ्गाको दुनियाँमा, ढुङ्गाकै घर हुन्थे 
जति ढुङ्गा थप्यो, ,,उती शहर हुन्थे  !!
 
गट्टा खेलिन्थ्यो,, बाघचाल खेलिन्थ्यो 
आहा ती ढुङ्गासङ्ग, खेल्ने रहर हुन्थे  !!

माटाका हुन्थे भाँडा, र  झुम्राका पुतली 
ढुङ्गाको छपनीमा, , ढुङ्गैका भर हुन्थे  !!

अबोध हुन्थे व्यबहार,तोतेबोली उस्तै  
बाल मनमा, न त त्रास न त डर हुन्थे  !!

के बन्थेन र ढुङ्गाले बालपनको संसारमा  
जहाज उड्थे उहीँ,,,,, उहीँ मोटर हुन्थे !!

के भेट्थे र यो जिउँदो लाससङ्ग edt req gazal

मान्छे थिए उनीहरु सुनाएर गए 
अतितका भमरा गुनगुनाएर गए
 
आहा ती पल त्यो प्यारो बचपन 
घुर्की नै सहि है खुनखुनाएर गए
 
सकेसम्म रुवाए अनेका बहानामा 
अन्त्यमा नरोभनि थुमथुमाएर गए

के भेट्थे र यो जिउँदो लाससङ्ग 
एकहुल झिङ्गाहरु भुनभुनाएर गए 

सिकिस्त छ जिन्दगी

कहिले सपनाले थिच्छ 
कहिले रहरले चिमोट्छ 
आशाका चिसोले निमोनिया बढेछ 
त्यसैले त जिन्दगी रातभरी खोक्छ 
बिहान भरी खकार्छ,
थोरै तातोपानी पिउँछ,
जिन्दगी आँफै सोच्छ 
जन्मेको खाट देखि घाटसम्मको यात्रा नै म हुँं भनि 
परन्तु 
हिजोआज जिन्दगी सिकिस्त छ 
सिथिल छ,बेचैन छ
असफलता सङ्ग मित्रता बाहेक उसले केही लगाउन सकेन 
कहिले आफ्नै हत्केलामा भाग्य खोज्दै हराउँछ 
कहिले ज्योतिषिलाई चाइना देखाउन जान्छ 
सबै तिर राम्रो छ तेरो भनिदिन्छन् 
एकछिन दङ्ग पर्छ, खुशी हुन्छ
पलभर मै 
चिथोर्न आईपुग्छन् 
निमोठ्न आईपुग्छन् 
कोपर्न आईपुग्छन् 
यथार्थका एेठनहरु 
उसै त सिकिस्त जिन्दगी 
त्यसमाथिका असहज एेठनहरु ।। 
उमेर त केवल अंक हो भन्थ्यो जिन्दगी 
हिजोआज निदाउन न सक्दा 
बुढेशकाल पो हो कि,
न थकान छ, न केही बोझ नै 
र पनि जिन्दगी मलिन छ 
सालीनता देखाउन खोज्छ 
दुनियाँलाई देखाउन चाहन्न 
उसलाई ङिजोलिरहेका रोग र ब्यथाहरु 
जहाँं उसलाई हेरेर  
हा हा हा गर्नेहरु मात्र छन्, 
परिस्थितीका बैसाकी टेकेर 
तङ्रिन खोज्छ जिन्दगी 
आत्मबिश्वासका ट्याब्लेटहरु खाईरहन्छ 
अद्रिश्य नै किन नहुन् 
आशाको दियो सल्काउँछ।। 
दरिन खोज्छ जिन्दगी 
तङ्रिन खोज्छ जिन्दगी ।। 
हिजोआज सिकिस्त छ जिन्दगी ,
----------
१७ अशोज, २०७८ आईतवार  
    

Thursday, September 30, 2021

ढुङ्गालाई कुटें,,,, फूलले दिए जब चोटहरु !!

अन्जानका आफ्नै, भूलले दिए जब चोटहरु 
ढुङ्गालाई कुटें,,,, फूलले दिए जब चोटहरु !!

पहाडलाई के दोश, बतासले अन्तै मोडलिए  
बिचरा पत्थर,,,, धुलले दिए जब चोटहरु !!

कसले पिउँछ र पानी सागरको, नदी छोडेर  
पुरिन्छन् कुवा ईनार मुलले दिए जब चोटहरु !!

Wednesday, September 29, 2021

मिश्रित भावमा स्वतन्त्र गजल

आईज ए! हावाहुरी, तेलका दिप बालिसकें मैले 
केही जीवनका छिद्रहरु थिए, जो टालिसकें मैले!!
 
खै अब त जिन्दगीसङ्ग पनि, केही गुनासा छैनन् 
जिन्दगी कै तानाहरु पो, सधैं सुन्न थालिसकें मैले!! 

मिठा झुटहरुका सहाराले, बने विश्वाशका पर्खाल    
तिम्रा के कुरा, आँफैलेआँफैलाई त ढाटिसकें मैले!!
 
कति नै पो बाँचिएला र अब अभावका दुनियाँमा 
हेर्नुस् न आधाआधि शताब्दी नि, काटिसकें मैले !!

मौका नै दिन्न,भन्न कि'आफन्त' पिउन जान्दैनस  
थोरैथोरै गरी धेरै जिन्दगीमा, पिउन जानिसकें मैले!! 

Wednesday, September 22, 2021

श्री आफन्तका पाँच समसामयिक पञ्चाङ्गहरु


१, 
अन्तत गुण्डाराज चलायो सरकारले  
सहिदका सपना जलायो सरकारले 
आँफैं बेच्छ किन्छ विभुषण पदकहरु 
भुसका खेतिमात्र फलायो सरकारले
गरीबका टहरा जलायो सरकारले !!
२, 
मिलाउने भन्दा धेरै फुटाउने भए 
मिलेसम्म आफ्नलाई जुटाउने भए 
खै कसरी चल्ला यसरी देश परिवेश 
जेलका अपराधी ति छुटाउने भए 
जनताको भरोशा नि टुटाउने भए !!
३, 
हेर्नुस न काला त गए गोरा आए 
आउन त आए नि तर कोरा आए 
नेपाल आमाका त पक्कै होईनन् कि 
खै कस्ताका कस्ताकस्ता छोरा आए 
आमा भन्नुहुन्छ पूरानै मोरा आए !! 
४,  
न सम्सद चल्यो न पूर्ण सरकार चल्यो 
दुनियाँ हसाउने केवल् अखबार चल्यो 
सत्ता शक्ती सामर्थ्यका लागि मात्र रहेछन्
परिवर्तन् लागि भन्दै हिजो तरवार चल्यो  
कुशासनमा लिप्त शिन्ह दरबार चल्यो !!
५, 
कहर मात्र जङ्गलका स्याल शहर छिरेपछी  
स्याललाई पनि सत्तामा जाने रहर छिरेपछी   
कुकुर बिरालाको चिन्ह मात्र देख्नुभो नेताहरु 
सम्सद भित्र ति बिसङ्गतीका लहर छिरेपछी 
पानीको आषा नै छैन कुवामा बगर छिरेपछी !!

- श्रीभक्त पौडेल'आफन्त'
पाइसभास्को,स्पेन
६ आस्विन,२०७८, बुधबार  

Sunday, August 1, 2021

रेटुं भन्दा अचानोमा, नरेटिने याद छोड्यौ !

आखिर किन भनलौ, नमेटिने याद छोड्यौ 
पन्ना पन्ना पल्टाउँदा, नभेटिने याद छोड्यौ!!  

निन्द्रा किन्न पाईएन, सपना बेच्ने शहरमा  
सजिलै सङ्ग छातीमा,नलेखिने याद छोड्यौ !!

पिडा उल्झन् मन-मुटुमा, कसले बुझ्ने यहाँ 
घाऊभए देखिन्थे कि, नदेखिने याद छोड्यौ !!

सम्झनामा तस्बिर अरे, सपनीका साथहरु 
रेटुं भन्दा अचानोमा, नरेटिने याद छोड्यौ !!

खालिखाली क्यानभास, 'आफन्त'का नयन  
जिन्दगीका रङ्गहरुमा, नफेटिने याद छोड्यौ !!

Saturday, July 31, 2021

आफन्तका आसुँ

सुन्नुस् न केही त पक्कै छुटेको छ जिन्दगीमा 
छातीमा एतैधेरै चिरा के फुटेको छ जिन्दगीमा!!
 
निकै उदास छन् साँझ, सुन्यतामा आँखा गए 
लट्टाई यीनै हातमा चङ्गा लुटेको छ जिन्दगीमा!! 

नदेखिने घाऊहरु दुख्छन् बढ्दा मुटुका धड्कन् 
थिलो'थिलो ज्यान कसले कुटेको छ जिन्दगीमा !! 

सम्हालिंदैनन् खुशी ओठमा नयनमा निद छैनन्
एस्तो लाग्छ खुशीका पुल टुटेको छ जिन्दगीमा !!

विश्वाश गर्नुस् आज हजुर यो आफन्तका आसुँ 
मेरो भाग्यले नै भाग्यलाई चुटेको छ जिन्दगीमा !!

Wednesday, July 28, 2021

आफन्तका प्रेम र सृङ्गार रसका पाँच पञ्चाङ्ग

1.
फूल कोपिला पात डाली मन पर्‍यो 
सानु तिम्रा कानका बाली मन पर्‍यो 
सौन्दर्यता भेट्छ्यौ आँफै एेनामा हेर  
ती आँखा परेलीका काली मन पर्‍यो  
सारा बगान् सम्हाल्ने माली मन पर्‍यो ।। 
2.
मेहन्दी रङ्गले, हातमा मेरै नाम लेखिछौ 
साउन महिना मनमा चारै धाम लेखिछौ 
ब्रत बस्छ्यौ हर सोमबार चाहेको पुगोस 
दाहिनेमा चन्द्रमा र देब्रेमा घाम लेखिछौ  
हेर झनै सुवाएको जहाँ श्रीराम लेखिछौ!!
3.
यसपाली त रातो सारीमा देख्ने मन छ 
त्यै शिवालय पछाडी एक्लै भेट्ने मन छ
भूल्यौ तिमी नाच्दा म सर्माएको त्यो तिजमा
उम्कनै दिन्न अब त बाटो छेक्ने मन छ  
तिम्रा सुन्दरतामा पञ्चाङ्ग लेख्ने मन छ !!
4.
मनका कैयौं बातहरु अझै अधुरा छन् सानु 
केही चाहनाका मीठा बहाना अपुरा छन् सानु
आँट बटुली आज तगारोमै रोक्न आएको छु  
भनन किन हो तिम्रा मुस्कान मधुरा छन् सानु 
मलाई त भन त्यो मन भित्र के कुरा छन् सानु !!
5.
भन्छन् उमेर सङ्गै ढल्किजान्छ जवानी पनि 
त्यस पछी कसले सुन्ला हाम्रै कहानी पनि 
सम्हाल भन्छु अझै कि त मलाई सुम्पे हुन्छ 
आउ बनाऔं हाम्रा हर्, सफर सुहानी पनि 
सुर्योदय बिना के गर्नु र, ती बिहानी पनि !!

Sunday, July 25, 2021

कविता: जून अनि म











आजफेरी केहीबेर टोलाएँ
क्षितिज माथिको त्यो जून हेर्दै  
नबुझिने प्रितमा, 
शीत मिसिएका धून हेर्दै 
कति कोमल हुन्छन् है? २  
जुनेली रातहरु साथी  
जुनेलीका मातहरु साथी 
सुम्सुम्याउँछु म सधैं 
शीतले भिजेका पातहरु साथी!
कति मिठास हुन्छन् है 
पुर्णिमाका रातका बादलमा पनि
नत्र को सङ्ग खेल्छ त्यो जूनले 
लुकामारी साथी 
को सङ्ग गरोस त नत्र 
भलाकुसारी साथी।।  
एस्तो लाग्छ, 
सायद
ताराहरु रिसाएका पो हुन् कि 
पर पुग्छन् टिलपिल गर्दै 
रुँदै पो हुन् कि,,
कि आज मौका मिल्यो भनि 
त्यही रोशनीले आँफैलाई 
धुँदै पो हुन् कि,,
छि:यो मनले के कति सोच्न सक्छ 
त्यही जूनको जुनेली रोज्न खोज्छ 
कस्तो हुँदा हुन् कृष्णपक्षका पल 
कानेखुशी गर्न पाए सोध्न खोज्छ।। 
आजफेरी केहीबेर टोलाएँ
क्षितिज माथिको त्यो जून हेर्दै  
सुन न,
ए जून!
तिमी त मेरो मित जस्तै लाग्छ 
यो मन भरिको प्रित जस्तै लाग्छ 
मैले गाउन नजानेर के भो त है 
मैले गुनगुनाउने गीत जस्तै लाग्छ!!
दु:ख औंशि हुन् भने यहाँ सु:ख पुर्णिमा  
यसैले सुखदुख जीवनका रीत जस्तै लाग्छ!!
अहो फेरी हराएछु,
समय मध्यरातको भएर पनि 
दुई प्रहर रातका गए र पनि 
म छु तिमी छौ अनि 
यो सुनसान जुनेली रात छ 
आउ झर बस म नजिकै 
अझै गर्नुपर्ने मिठा बात छ!
परेलीमा लुकाउने मन छ 
यी नयन झुकाउने मन छ 
तिमी एेया भन्छौ भने  
चिमोटेर दुखाउने मन छ।। 
मनभरी गुनासाका पोका 
तिम्रैसामु फुकाउने मन छ।। 
आजफेरी केहीबेर टोलाएँ
क्षितिज माथिको त्यो जून हेर्दै!!

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...