Tuesday, November 28, 2017

गजल

सूत्र – SSl SSS lSS
गण – त म य
विश्राम – ५ अक्षरमा

कैले हँसायो, जिन्दगीले
कैले रुवायो, जिन्दगीले !! (मतला पोस्टराज चापागाइँ)

तर्केर हिंड्दा, तानितानी
फ़ेरि फंसायो, जिन्दगीले !!

छाता न साथी, त्यो झरीमा
ब्यर्थै रुझायो, जिन्दगीले !!

'जख्मी' छ छाती, घाउदुख्ने
आँखा जुधायो, जिन्दगीले !!

धोकाधडीमा, खै कसोरी
सार्है दुखायो, जिन्दगीले !!

फूल्दै नफूली, कोपिलामै
डाली नुहायो, जिन्दगीले !!

Saturday, November 18, 2017

मेरी सुरी


----------

अस्थिर बर्तमान,
तिता भूत अनि
अज्ञात, भयभित भबिस्य,
चकमन्न साँझ,
रातको लागि लस्किएको छ
दक्षिणी चिसा सिरेटाले
झ्यालका उध्रिएका पर्दाहरु
हल्लाइरहेका छन्!
साथमा मरन्च्यांसी 'सुरी' छे
म जस्तै बर्तमानमा हराएकी
म धेरै थोक चाहन्छु जिन्दगीमा
तर ऊ केवल मेरा स्पर्शहरु !
उसको पुच्छरले मलाई छुन्छे
अनुहार हेरेर म्याउँ गर्छे केहीबेर कतै सुस्ताउँछे 
सायद                                                     
म एक्लै हुन्छु, नितान्त एक्लै
यहि साँझ जस्तै!

अघिसम्म उघ्रिएको क्षितिजलाई
अँध्यारोले घुम्लूँङ्ग छोप्छ
हतास म पनि,
ढोकाका छिस्कनी लगाउँछु
नजानिँदो डर र त्रास
घरभित्र छिर्छ कि भनि!
कतै टाढा कुकुर भुकेको सुनिन्छ 
कतै स्याल र ख्याक्कर कराएको सुनिन्छ
लाग्छ यिनीहरुलाई पनि
मलाई जस्तै रात मन पर्दैन!
एकजोर बत्ति बाल्छु
घरको सानो मन्दिरमा 
अज्ञानका पाप पखाल्न हो कि
या कतै आस्थाका जग बसाल्न !

पश्चिम आकाशमा
हँसिया जस्तै जून देख्छु
ऊ पनि पूर्णिमा पर्खंदै छे,
जसरी म अँधेरी रातहरुमा
जूनलाई पर्खन्छु !
बिस्तारै साँझ पोखिंदै जान्छ
रात छिपिदै जान्छ,
अघिसम्म हराएकी सुरी
लहसिन खोज्छे म संग
उसलाई हातका स्पर्श दिन्छु
काखमा आएर चल्न थाल्छे
फेरि कतै जान्छे।।

मलाई एक्लै बनाएर,
हो, आज यो मन
एकतमासले झ्यालमा टोलाएको छ
रात मन नपरे पनि,
अँध्यारो मन नपरे पनि,
बिलिन हुँदै गएको जून
जूनको बिदाइमा तिम्तिमाएका ताराहरु
तिनीहरुलाई आँगनीमा भेट्न चाहन्छ
निकै आत्तिएको छ मन
एकांकिले कोपरे झैं !
टिक टिक टिक
सधैं बिग्रिएको समय देखाउने
घडिको आवाजले
मेरो बहकिएको मनलाई चिमोट्छ
झसंग हुन्छु
रातले धेरै भुलाएछ मलाई !
अनि बिस्तारै मेरै साथीलाई
बोलाउँछु ...
सुरी ........
---------------------

मङ्सिर २, शनिबार २०७४
कोस्टाब्लान्का आलिकान्ते
स्पेन
 Pic/graffic collection by  
FB friend Latika Rai 

Friday, November 17, 2017

गजल

कसको के दोश, जाली भो संसार
उज्यालो भित्रको काली भो संसार।।

भन्नेले त सबथोक छ, भन्छन्न यहाँ
यथार्थमा खोज्दा, खाली भो संसार।।

मन्दिर छ मस्जिद, अनि गिर्जाघर
पापले भरिएको, नाली भो संसार।।

उ होइन म, माथि पुग्ने होडमा आज
फेद्द्मा भान्चिएको डाली भो संसार।।

जिउन जानिएन खै दुनियाँको तालमा
त्यसैले ए लौन बन्धु, गाली भो संसार।।

सतह मै हराएँ म




सतह मै हराएँ म
हो सतह मै हराएँ म 
र सतह मै खोजि रहेछु 
भेटिन आफैलाई अझ सम्म
सायद यस्तैहोला अनन्त सम्म 
कहाँ खोजुं म अब ?
उचाईंमा ?? 
शिखर आकाश र जुन तारा छेऊ ??
जहाँ कहिल्यै गैन र पुगेकै छैन !
मलाई थाहा छ  

कल्पना आचार्य पौडेल नानी
अस्तुरियास ओभिएदो 
स्पेन

म कुईनेटा गल्छेडा र उकाली लागेकै छैन 
थाहा भए सम्म 
ओराली र भन्ज्याङ्ग अनि चौतारीमा 
बास बसेकै छैन 
कहीं कतै कुनै खोल्सा 
तरेको पनि याद छैन 
तर म साँच्चै हराएँ 
सतह मै हराएँ म ! 
समानान्तर रेखाहरु झैं 
सिधा भएर पनि हराएँ म 
सायद 
समानान्तर रेखा अनन्त भएरै होला 
नत्र भेटिनु पर्ने 
खै त?
भेटिन 
दोबाटो चौबाटो 
दोभान त्रिबेणीमा 
भुलें कि भन्दा पनि 
खै? म कतै मोडिएकै छैन 
तर पनि म भेटिन 
र सतहमै खोजिरहेछु 
हो, म सतह मै हराएँ !! 
डर लाग्न थाल्यो 
कतै मलाई गणितले त घटाएन 
कतै मलाइ सुन्याले गुणा त गरेन 
तर गणित मेरो गन्तब्य होइन 
र पनि म हराएँ 
अनि खोजिरहेछु निरन्तर 
सिधा समानान्तर रेखाहरुमा 
सतहमा केवल सतहमा 
हो सतह मै हराएँ म 
र सतहमै खोजिरहेछु !!
गहिराई देखि डराउने मान्छे म
उचाईंमा डराउने मान्छे म
सागर छेउ जान्न म 
पहाड चढेकै छैन 
र पनि सतहमा हराएँ म
त्यसैले त अझै म 
सतह मै खोजिरहेछु 
म आफुलाई !!

बिहानीका सिलसिलाहरु

1.
बिहानीका सिलसिलाहरु 
अविछिन्न गतिमा 
पिडाका पहाड हुन् या
सास्तीका सागर 
बिहानी सुन्दर लाग्छ 
आशाका किरणहरु संगै
नौला आयाम
सुनौला अनुभुतिहरु
पूर्बिका चिसा स्पर्शहरु
क्षितिज आफ्नो लाग्छ
छरिएका बादल आफ्नो लाग्छन्
हरेक निशामा प्यार भेटिन्छन्
सामुन्द्रिक छालका सर्साहाट
किनार चिलहरुका कल्याङ्गकुलुङ्ग
आफ्नै लाग्छन्
त्यसैले हरेक बिहानी संग
मित लगाउन मन लाग्छ
सिरेटाहरू संगै सुसेल्न मन लाग्छ
बिहानीलालीहरु संगै जिस्कन मन लाग्छ !!
मेरा बिहानीहरू !!


2,

एक बिहानी मेरो
सुन्दर बिहानीहरू
खुशी त यतै भेटिन्छन्
मिठा सपनाका त्यान्द्राहरुमा 
जब बिहानी आखा खुल्छन् !
सुर्योदय संगै चिरबिर आवाज
सुनौलो क्षितिज
मिठो चिसो आभास
सिरेटोको स्पर्श
कदम रोकिदैनन्
नजर रोकिंदैन
मिठा बेचैनीहरुमा
पाईलाहरु चल्न थाल्छन् !!
आजको एक बिहानी मेरो पनि
आशाका पाईलाहरु
विश्वाशका धरातलमा टहलिएका बेला
खुशीका धराहरु खोज्न निस्किन्छन्
अनि भेट्छन् मेरा नजरहरुले
सिताम्य पात,
मुस्कुराराउन खोजेका कोपिलाहरू
बतास संगै लहरिएका काँसका बुट्यानहरु
शरदले खाएको
जिन्ग्रिंग घाँसका तिल्काहरु
हो धेरै भेटिन्छन्
बिहानी हिंडाईं संगै
बेमतलबी अनुहारमा बटुवाहरु
खै के खोजेका हुन्
निमेसभर मुस्कान् छैनन्
र पनि खुशी भेट्छु मैले
नितान्त एक्लो हुन्छु
र पनि मिठास
अव्यक्त अनुभूतिहरु भेट्छु
बिहानी तिनै सिरेटहरुमा!
झन् झन् लोभ्याउछ मलाई
मेरा नजरका रहरहरुलाई
सागर माथि फैलिएका
बिहानी निशाहरुले
प्रतिबिम्बित बान्की परेका
सुरज किरणहरुले !
मन्त्रमुग्ध हुन्छु
म मेरा बिहानीहरुमा !!

गजल

आफ्नै मलामी,, गनेर मर्ने रहर छ
मर्दैछु आफन्ती, भनेर मर्ने रहर छ ।।

अस्तित्व मेटिने, चिन्ता टट्कारै
बर पिपल झैं,, सरेर मर्ने रहर छ ।।

उचाइँले पोल्छ, गहिराईको डर
त्यो उचाईंबाट, झरेर मर्ने रहर छ ।।

भागेको छैन म अझै, समस्या देखि
तिनै भबसागरहरु, तरेर मर्ने रहर छ।।

गुमनाम भो 'आफन्त,' भन्नेहरु माझ
केहि न केहि त, गरेर मर्ने रहर छ।।

गजल

यादमा बाँचेर त हेर, साथ बिर्सन्छौ
तस्बिर हेरेर नै तिमी, रात बिर्सन्छौ

सजिलो नहोलान्, ति केहि पलहरु
अँध्यारोमा समाएका, हात बिर्सन्छौ

तारामा दुनियाँ, जूनमा त्यो अनुहार
साँझमा पिएको जति, मात बिर्सन्छौ

सम्झनामा हाँस, कल्पनामा मुस्कुराउ
बिपनामा भै गरेका, बात बिर्सन्छौ

एकांकी पन तिम्रो,, गजल कोर्न थाल
दिएका छन् भने कसैले, घात बिर्सन्छौ

हल्लिएर हेरें मैले !!

समयको बदलाब सँगै, बद्लिएर हेरें मैले
मैनजस्तै यो अँध्यारोमा, पग्लिएर हेरें मैले!!

न यो दुनियाँ बद्लियो, न उज्यालो नै भेटें
मानबताको मूल्य खोज्न, अग्लिएर हेरें मैले !!

जगै छैन विश्वाशका, कमजोर यो धरातलमा
धमिलोदेखि भाग्दै-भाग्दै, सङ्लिएर हेरें मैले!!

भेटिन ति रङ्गहरु, इन्द्रेणीलाई अङ्गालेको थिएं
पस्चातापका यिनै रङ्गहरुमा, रङ्गिएर हेरें मैले !!

'होश' के हो थाहा छैन, नशा नछोए पनि
'बेहोसी' छस तँ भन्छन्, हल्लिएर हेरें मैले !! 

१ मङ्गसिर,२०७४ 
शुक्रबार 

Sunday, August 20, 2017

कथा: ऊ, म र मेरो एकांकिपन













रेबिका पौडेल 
हेटौंडा


कानै थर्किने गरि जहाज ले आवाज निकाल्दै काठमान्डू स्थित अन्तरास्ट्रिय विमानस्थल बाट जमिन छोड्यो !
बानेस्वर मा रहेको म ! नसुन्ने कुरै भएन !

समय उही गते बार फरक तर मलाइ जहिले रात को साढे नौ बज्दा एकैपल्ट मुटु थर्किन्छ ! कारण यहि हो त्यहि भाडो जहिले त्यहि समय मा उड्ने पापी भाडो जसले मलाई र तिमीलाई हजारौ किलोमिटर टाढा पुर्याईदियो कहिले भेट्न नसक्ने गरि ! त्यहि कतार एयरवेज को जहाज जसले तिमीलाई र मलाइ रूहाउदै अलग पारिदियो !
फेसबुके चिनजान सुरुवात मैले नै गरेको थिएँ तिम्रो सुकोमल जवानी अनि बान्की परेको अनुहार मा लोभिएर ! सायद हुनु थियो त्यहि जुन हामीले बेहोर्नुपर्यो त्यसमा मै अपराधि ठहरिएँ ! आखिर केहि थिएन स्वतन्त्र साथि को साइनो त्यहि पनि फेसबुक मा ! तिम्रा हर तस्बिर मा मन अल्झिन थाले …आज एक भोलि दुइ अनि पर्सि तिन हुदै
------
…कहिले घटेन बरु बढिरह्यो …साथ, सहयोग, भरोशा, अनि नजिकपन  !
आफ्नै उल्झन मा उनिएकी तिमि अनि ब्यबहरिकता ले थिलथिलो म ! साइनो गहिरो मित्रताको अनि एक अर्काको एक्लोपन हटाउने बहाना ! फेसबुक च्याट ले पुगेन आवाज साट्न रहर भैदियो …अनि एकै झमट मा मन को कुनामा तरंगित हुन पुगेको सुमधुर तिम्रो आवाज अनि आफ्नोपन ले बाधिएको मेरो बोलीमा लठ्ठिएकि तिमि …थाहा छ पहिलो दिन मै हामीले झगडा गरेको ?

कति मिठो झगडा है …मेरो मुख बाट निस्केको सुभ सब्द ‘बादरनी’ ..अनि तिमि कस्तरी रिसाएर फोन काटेकी ! अनि तिमीलाई मिठो लागेको हाम्रो बाझाबाझ ..चर्काचर्की नै परेको नि ..कल्पना गर त कति मिठो है !
त्यहि आवाज ले पछ्याई रह्यो ! सुन्न मन लागिरह्यो ! बोलु बोलु मात्र भैरह्यो ! सधै सधैको लागि !
अनि कति बहाना बनाउथ्यौ है ..आज मलाइ निन्द्रा लागेको छ क्या …भोलि कुरा गरौला नि हुन्न ? तिमीलाई सधै डर हुन्थ्यो न भोलि बोलिदिदैन कि …अनि अड्को ..भोलि ल ! अनि तिम्रो आवाज मा पौडी खेल्न आतुर म …भोलि कहिले टुट्न पाउथ्यो होला र ?
अनि थाहा छ हाम्रो प्रत्यक्ष भेट ! तिमि लज्जावती झार बनेकी ..अनि म ..म पनि तिमि जस्तै लजालु बनेको कि खै ….तर मुटु ढक ढक …झन्डै रोकिएको नि ……लागेथ्यो त्यो समय कहिले नसकियोस ..तर समय हाम्रो बस मा थिएन ! समय लाइ रोक्न सकिएन छेक्न सकिएन आफ्नै रफ्तार मा बहिरह्यो !
हुर्कदै गरेको प्रगति पथ तिम्रो लागि कति महत्वपूर्ण थियो अनि मेरो लागि चुनौती ! त्यहि प्रगतिपथ को मुना मैले निमोठ्न सकिन… तिम्रो हजारौ आग्रह लाइ आफ्नो सपना संग साट्न सकिन ! म संग सपना देख्ने अधिकार थियो तर सपना सजाउने हैसियत थिएन अनि तिम्रो भाग्य संग खेल्ने अधिकार मलाइ भाबिले लेखिदिएको थिएन ! म तिम्रो सुन्दर सपना भत्काउने अधिकार लिएर जन्मिन सकिन ..सायद भाग्यविधाता संग मेरो जन्म संग लेना देना थिएन ..लाग्छ यो संसार का दुख संग पौठेजोरी खेल्न मात्र मेरो आबस्यकता थियो !

आखिर त्यहि दिन जुन दिन तिमिले आसु बहाउदै म संग बिदा मागेकी थियौ ……मलाइ… नजाउ…भन्नुस..न प्लिज…  ! अनि जहाज भित्र बाट अन्तिम पल्ट फोन गरेकी थियौ …..म तपाई …लाइ ..छोडेर ..गए ल …अनि म केवल हवस् ….मा नै अल्झिए राम्रो..संग…जाउ..ल ….त्यति बेला सम्म मा भुइँ मा थचक्क बसिसकेको थिएँ अनि मोबाइल भुइमा खसिसकेको थियो ….

Saturday, August 19, 2017

गजल




















रेबिका पौडेल 'सत् सङ्ग'
हेटौंडा, मकवानपुर 

साथ हुँदा जिन्दगी यो, दुख:सुख चल्दो रैछ !
आफ्नो मान्छे दुर हुँदा, मुटु धेरै जल्दो रैछ !!


मनोरम् छ दृश्य यहाँ, शुन्याताको आभाष भो !
एकान्तमा सम्झी बस्दा, आत्मशक्ती गल्दो रैछ !!

बाटो हेर्दा प्रतिक्षामा, जुगौजुग जस्तो लाग्छ !
मिठो मिठो कल्पनामा, जिन्दगी नै ढल्दो रैछ !!

हुन त दिलमा सजाएर, लेखिएको हुनु पर्छ !
भरोसा र समयले, कैले काँही छल्दो रैछ !!

Thursday, August 17, 2017

गीत

आभाश हराएर यहाँ, दुरी बढे जस्तै
बदनामी बस्तीमा प्रेम, शुली चढे जस्तै !!

बिनै कम्प कम्पनहरु, चर्किएका छाती
उसै माथि तिखातिखा, छुरी चले जस्तै !!

हिजोआज तिम्रो मेरो, दुरी बढे जस्तै

स्पर्शका अनुभूति, तृषित रह्यो यो मन
झझल्कोमा बादलपारी, चुरी बजे जस्तै

धुवाधुवा नजर भरी, निमेश छैन रतीभर
पिरती कै बनपाखामा, धुरी जले जस्तै !!

उसै माथि तिखातिखा छुरी चले जस्तै
हिजो आज तिम्रो मेरो दुरी बढे जस्तै !!

सपनामै चट्याङ्ग पर्छ, सुनामी नि चल्छ
हो न हो  पिरामीडका, चुली ढले जस्तै

२०७४ साउन ३२,
फेसबुकमा परीमार्जित सहित् पोस्ट भएको 

Thursday, August 10, 2017

अर्को एक फजल हतारका गजल

हाम्रा दुई आँखा जुधेर के भो, चार भएन
एउटै शहरमा हुनुको नि कुनै, सार भएन !!

भूल्यो होला उसले'नि,सायद यहि सोच्यौ
पलपल रुँदै नसम्झिएको कुनै, बार भएन !!

लेखें कैयौं प्रेम-पत्र, जीवनका पन्नाहरुमा
पढ्न पाईनौ कहिल्यै, पठाउने तार भएन !!

ति तिखा तिम्रा हेराई, मिठो कोमल बोलि
अघोषित प्रेम- दिप बल्ने यहाँ, दार भएन !!

मझधार मात्र भेटें मैले, लहर पच्छ्याउँदा
हामी दुईलाई मिलाउने गोरेटो, धार भएन !!

एक फजल

खोल्दै छौ रे दिलको दुकान शहरमा
महल भत्काएर वहीं मचान शहरमा !!

छरपस्ट छन् अझै प्रेमका घाइतेहरु
बेकार हुनेभो हाँसोको डुबान शहरमा !!

शेयर बाँढ्दैछौ रे नि लगानी मायामा
देख्दिन कतै म् नाफा नुक्सान शहरमा !!

पथिक निस्किए पूराना प्रेम पुजारी
भो भो नबनाउ अब मकान शहरमा!!

मन्दिरमा प्रहार मस्जिदमा प्रहार गरी
जगाउँदै छौ किन काँचो मशान शहरमा ??

मजा बेग्लै

आखिर किन हुन्छ हँ, जुनेली रातको, मजा बेग्लै
उनको आँखाबाट, जति पीएँ, मातको मजा बेग्लै !!

आखिर! टुट्नु नै त थियो, कमजोर सम्बन्ध  कतै
थोरै खुशी मिल्यो, थोरै आँसु, घातको मजा बेग्लै !!

हेर्छ यो दुनियाँ प्रेमका नदि वासनाको सागर भनि
सहनेछु अझै लगाउ, ए दुनियाँ बातको मजा बेग्लै !!

हरेक महिना सावन,ती हरेक रात सुहाग नै लाग्थे
जब चुरी बज्थे नजिक मेहन्दी हातको मजा बेग्लै !!

आखिर, किन हुन्छ हँ? जुनेली रातको मजा बेग्लै?????

Wednesday, August 2, 2017

मन पर्दैन


कहिले काहिँ उनको पारा मन पर्दैन
उनलाई छुने पानीका धारा मन पर्दैन !!

शुक्ल पक्ष्यमा भेटिने चन्द्रमा जस्तै
त्यो जुन नजिकका तारा मन पर्दैन !!

सागर जस्तै शान्त नदि झैँ चाल छ
तर बानीमा जो छ खारा मन पेदैन !!
-----
थाहा छ उनको,, चाह छ गहिरो
यो मनमा उस्तै,, डाह छ गहिरो !!

बाँचेको हजुर


रहरले हैन म करमा बाँचेको हजुर
क्यार्नु अर्कैको भरमा बाँचेको हजुर !!

उतार चढाब भो भन्छन् मुद्रा विनिमय
सटही कमजोर दरमा बाँचेको हजुर !!

कहिले भूकम्प कहिले बाढीपहिरो
भूगर्बका गैरा चरमा बाँचेको हजुर !!

मजबुत पाईलाहरु बलिया आँट छन्
परन्तु म डरै डरमा बाँचेको हजुर !!

अस्थिर बनायो मलाई समय चक्रले
कि त मर कि गरमा बाँचेको हजुर !!

Friday, July 28, 2017

गजल

के मन के जमिन, मरेका देखिन्छन्
जिउंदैमा बैतर्णी, तरेका देखिन्छन् !!

सत्बिज होईनन्, यी सपना र पनि
शहरमा सपना, छरेका देखिन्छन् !!

उक्लेका उक्ल्यै ति,रहरहरु शिखरमा
गन्तब्य नै नचूमि, झरेका  देखिन्छ्न् !!

प्रतिस्पर्दा भए, जिउने कलाहरु आज
जिन्दगी संकटमा, परेका देखिन्छन् !!

भेटिन्नन् आफन्त, आफ़न्तिहरु माझ
वर डाक्दा झन् पर, सरेका देखिन्छन् !!

** साउन १३ २०७४, पल्लव ई साहित्यिक पत्रीकामा प्रकाशित गजल
* Pic own click 28 July Albir

गजल


हतास छ बतासलाई, छोएर गयो
सम्झनाका शुशेलीमा, रोएर गयो !!

धमिलीए पूराना,, पदचाप उनका
मैलिएका यी यादहरु, धोएर गयो !!

सकिन पच्छ्याउन, लागेनन् गोडा
पच्छ्याउँछ्स् कि अझै, सोधेर गयो !!


तितो बर्तमानमा, रमेन त्यो सायद
सुनौला किरणहरु नै, खोजेर गयो !!

मतलबी दुनियाँ, मतलबी भो बतास
सहज ति झ्याल ढोका, रोजेर गयो !! 

Monday, July 24, 2017

टिपन टापन


खर्चेर सारा शब्द मायाका गजल लेख्नेछु
बिर्सिएर दुखी संसार गित सरल लेख्नेछु
दुरीको आभास हराउछ यी तस्बिर देख्दा
बिश्वाश गर तिम्रा कबिता अविरल लेख्नेछु !!

बगानमा तिमी बस्दा फूल लजाए झैं लाग्छ
दर्पणमा तिमी हास्दा ऎना लजाए झैं लाग्छ
भोभो छोडिदेउ अब बाग बगैंचा घुम्न प्रिया
राती झस्स ब्युंझदा तिमीले चलाए झैं लाग्छ !!

तिम्रा दुई नजर झील झैं लाग्छ
धूकधुक छातीको दिल झैँ लाग्छ
ति ओठका के तारिफ गरुँ रेबि
रारा तिलिचोका डील झैं लाग्छ !!

गजल



मनको सुन्ने कि, दिलको साथि
नसोध कारण, खिलको साथि

जति पिडा हुन्छ, यो एकान्तमा
बिर्सन्छु म घाऊ, किलको साथि

इन्द्रेणीले देख्छ, घाम् पानी संगै
प्रितमा डुबुल्की, झिलको साथि

यादमा बाँचेको, तस्बिरमा रुन्छ
सम्झना टिलपिल्, डिलको साथि

ब्यथा कथा थुप्रै, अज्नबी शहर
पहाड नसम्झ, तिलको साथि !!

९ सावन २०७४, सोमबार
आल्बिर

प्यार बस्यो

नहुनु थियो उनको तस्बिरमा प्यार बस्यो
लजालु ति गाजलु आँखामा  यार बस्यो !!

अनौठो साहिनो गाँसियो घुमाउरो पारामा
निकै मुस्किल पोभो साथि दिलदार बस्यो  !!

सृंगारिक माहोलमा गजल कोरिन्छन् यहाँ
जहाँ बषन्त संग संगै मिठो बहार बस्यो !!

मोहित नजर उनका मृद मुस्कान उनैको
दुई बचन बोलि पल पलको त्योहार बस्यो !!

गजल


छ न त  छ नि सरकार, देशमा ??
छन् दरवारै दरवार,,,, देशमा !!

मेटिन्नन् ज्वाला, भोकको त्यसै
छ भाषणको ललकार, देशमा!!

चोरको हातमा, चाबी र ताल्चा
पर्खाल बिनाका, गजवार देशमा!!

झुटका फाँटमा, लुटका खेती
झुटले चल्दैछ, अखबार देशमा !!

उठेका थिए मुठी दबे झैं लाग्छन्
"बुद्धका आँखा", तरवार देशमा!!

लोलाए झैं लाग्छ्न् नजर

गित

लोलाए झैं लाग्छ्न् नजर
उन्का तस्बिरहरुमा
कहिले लाली कहिले गाजल
मधुर मुस्कानहरुमा !!

लोलाए झैं लाग्छ्न् नजर ....

सौन्दर्यताको मसि खसे
जून जस्तो मुहारमा
एउटा थोपा टल्किरह्यो
टिका बनि निधारमा !!

लोलाए झैं लाग्छन् नजर....

छातीमा टाँस्छु उन्का तस्बिर
एकान्तमा हिजोआज
हराए झैं हुन्छु आफैं
पिरतीको शहर माझ !!

लोलाए झैं लाग्छ्न् नजर ....

Tuesday, July 18, 2017

गजल दुरी चाहिएन


दिन्छ्यौ भने सितल बतास, भो हुरी चाहिएन
जुनी जुनिका साथमा हात, भो चुरी चाहिएन !!

धेरै सहें प्रहारहरू मैले, ताकत सकिए मेरा
मुस्कान देऊ बचन रूपि, भो छुरी चाहिएन !!

के गर्नु ??रित्ता महल मात्र, एकान्तमा तर्साउँछ
अंगालोको छहारी काफी छ, भो धुरी चाहिएन !!

धेरै भयो एक्लै एक्लै, बरालिएको जीवन यात्रा
देउ स्पर्श सहितको आभास्, भो दुरी चाहिएन !!

- श्रीभक्त पौडेल "आफन्त"
 रामपुर चितवन
हाल परदेश

Send to Pallaw e paper 


Tuesday, July 11, 2017

कसरी

ढल्दैछ रात,,, निदाउने पो कसरी 
घटाऊ जोड, मिलाउने पो कसरी

च्यातिए सपना, उध्रिए बिपनाहरु  
सियोमा धागो, छिराउने पो कसरी 

हाँस्नुपर्छ साथि, रुँदा रुँदै पनि अरे 
आँसुमा हाँसो, मिलाउने पो कसरी 

सकिंदैन है अब, पिएर भूल्न पिडा 
सुन्यमा सुन्यता, बिलाउने पो कसरी

Wednesday, July 5, 2017

गजल


हराएँ कति कति , महशुस जिन्दगीका
खोज्दैछु म आज, 'तखल्लुस' जिन्दगीका

स्वतन्त्रताको नाटक्, मन्चन हुँदै जहाँ
निषेध भए त्यहाँ, मनखुश जिन्दगीका

कसको के लाग्यो र, बैरी लागेपछि अब
लुटिए हेर्दा हेर्दै, 'सबकुछ' जिन्दगीका

मन्जुरीनामा बिना, असहज् सम्बन्धहरु
एका'एक च्यातिय, तमसुक जिन्दगीका

बादल् संझिएँ हिजो, कुहिरो झैं फ़ाटेपनि
ऊँडे सपना कठै, फूसफुस जिन्दगीका !!

Monday, July 3, 2017

भूल जिन्दगीको

फक्रनै दिएनन् समयले, फूल जिन्दगीको
कसोरी टक्टक्याउने खै, धूल जिन्दगीको!!

धरोहर ढलेको देखेँ, आस्थामा चोट पर्दा
आखिर किन टुट्दैछ त, पुल जिन्दगीको!!

मेटिए पदचापहरु, फर्किएर हेर्ने मन छैन
शायद सुधार्न सकिएन, भूल जिन्दगीको!!

दुखाई के हो सोध्नु, मेरा  घाऊ देखिन्नन्
बढ्दैछ छातीमा साथी, शूल जिन्दगीको !!

न एेन, न बिधान, न नजीर रह्यो यहाँ
तिर्नै नसकिने भो, महशुल जिन्दगीको !!




Thursday, June 29, 2017

ओठ मुस्कुराउंदा


निधारको टिकी तिम्रो, जूनेली झैं लाग्छ
खै रिसाएर बोले पनि, शुशेली झैं लाग्छ

के के हुन्छ हुन्छ मन, त्यो तस्बिर छुँदा
मुहार तिम्रो सुन होकी, उजेली झैं लाग्छ

सोह्र स्रिङ्गार'नि फिका, ओठ मुस्कुराउंदा
मोहकतामा ति नजरहरु, तरेली झैँ लाग्छ

शब्द छैन त्यो सौन्दर्यताको बयान कसोरी
मोहनी लगाउने पक्कै, परेली झैं लाग्छ !!


Sunday, June 25, 2017

ईदको जून

ईदको जून

आजको त जून संगै, जाम प्यारो
त्यहि जून संगसंगै यो, साम प्यारो

तस्बिर हेरि मन बुझाए पनि साथि
उनको त आज'भोलि, नाम प्यारो

अँधेरोले ढाके जस्तो, दिनहरुमा
पोले पोलोस ए साथि, घाम प्यारो

रगत रगतमा, स्वदेशको याद छन्
चाहे 'ईद' किन नहोस, राम प्यारो

आउ न आउ

आउ न नजिक आउ!

आउन अझै सामिप्यमा आउ
हो म तिम्रो पर्खाइमा छु,
खुला छन् बाहुहरु
कि अङ्गाल मलाई
कि म अङ्गाल्छु तिमीलाई,
कसेर बांध मलाई
तृसित छु म
तिम्रो साथको,,
तिम्रो स्पर्स सहितका सामिप्यताको
आउ न आउ
मेरा सुन्दर सपनाहरु
सपनाका परिहरु मलाई पर्खिरहेका छन्,
खेलाउ मलाई,
भुलाउ मलाई
आउ न अझै नजिक आउ
सुम्सुम्याएर आफु सँगै
उडाउ मलाई
उड्न चाहन्छु
गूड्न चाहन्छु
यो दुनियाँ संसार भुल्न चाहन्छु,,,
आउ म तिम्रो प्रतिक्षमा छु,
बत्ती निभाएर बसेको छु,
उजेलिमा डाकेको छैन
अँधेरिमा आउ,,,,
लाज कत्ति मानेको छैन
सुटुक्क आउ
मेरो आँखामा बस
परेलीमा बस
कल्पनामा बस
सपना आउछिन तिमी सँगै
रातका प्रहरहरुमा आउ
छटपटिएको छु म
कोल्टो फेर्दै, थकित म
तिम्रो आगमनमा बत्ती निभाएको छु
झ्याल ढोका पर्दा सबै बन्द छन्
यहाँ केबल तिम्रो उपस्थिती
जायज छ!
म एक्लो छु, तिमी आउ
अनि हामी दुबै हराउँ ,,
,,,,,,,,,,,,,,,,,,,,,
०१:३५ बिहान
सोमबार २६ जुन,२०१७

दुधको दुध, पानीको पानी भन्थ्यौ

दुधको दुध, पानीको पानी भन्थ्यौ
केवल तिम्रै लागि, जवानी भन्थ्यौ !!

न दुध' न पानी, प्याशमा छु आज
मलाई राजा आफुँ चैं रानी भन्थ्यौ !!

नजरको बाटो हुँदै, दिलमा बसाएँ
रात मन नै पर्दैन, बिहानी भन्थ्यौ !!

आखिर किन अनेकौं सवाल मेरा
सुन न सुन मेरा, कहानी भन्थ्यौ !!

photo: carnaval 2017 donostia

Friday, June 23, 2017

काँचो मशान


------------- 
घाटे बैध्यहरुको जुलुश देखिन्छ
एका बिहानै केन्द्रिय मसान घाटमा
ढुङ्गाले थिचेर हुन्छ कि हिर्काएर हुन्छ
"इति श्री" गर्नु पर्ने ख्याकलाई
ब्युंताउंदै छन्,
बरीस्ठे काँचो मशानहरु।
दुममा दम नभएका भुस्या कुकुरुहरु
मुख आँ गरेर बसेका छन् वरीपरी,
हैजाले पनि लान नसकेको
ख्याकको कै जय!जयकार गर्दैछन्
डुमहरु, हरिया बांस उचाल्दै।

अर्को जुलुश देखिन्छ
छद्म-भेषि मुर्कुट्टाहरुको,
औशरबादी मुर्कुट्टाहरु
आँफैले जिउंदै गाढेका
चिहान खोतल्नमा माहिर छन्,
बायु र प्रेतात्माको पूजारीहरु
धोती र लूङ्गी स्याहार्दै आईपुग्छन्
आफ्नो भाग खोज्दै।

भुताहा चौरमा मेला लाग्छ
जिउंदा भूतहरुको
आरक्षण र भाग खोज्न,
तिखा दाराहरु खियाउंदै,
घाट घाट जस्तो लाग्दैन
रात रात जस्तो लाग्दैन
टायर जलेका छन्
भेटिन्नन् पूर्ण अस्तू !

कथा यो होइन
प्रसँग अर्कै छ,
चिन्ता छ कि
कतै अलिकती पवित्र रहेको
प्यारो आर्य घाट अपवित्र नपारुन्
कथित घाटे बैध्यहरुले,
 
- श्रीभक्त पौडेल आफन्त 
६ माघ २०७२, बुधवार 
स्पेन

मनहरु

समकालिन साहित्यमा प्रकाशित कबिता
कबिता

मनहरु

आस्थामा टिकेका मनहरु
अतालिन्छन् कहिले कतै
आस्थाका धरोहरहरु ढलेका देख्दा
र पनि सम्हालिन्छन्
तिनै मनहरु
कि विश्वाशका आधारहरु
अझै मजबुत छन् भनेर।

प्रकृतिका क्रुर खेलहरु सँग
केहीक्षण हार माने पनि
अदम्य शाहस सहित
मुस्कुराउँछन् घाइते ओठहरु।
पोहोर ढलेको धरहरा
त्यो न्यातपोल,त्यो कृष्णमन्दिर
कान्तिपुर नगरी
आस्था भरोशाका मठहरु
जुरुक्क उठ्नेछन् छिट्टै

मुस्कुराउनेछन् श्रीअन्तुको उदय सँगै।
मुस्कुराइ नै रहनेछन्
दोधाराका अस्त सम्म।

केबल आस्थामा
निहुरीन जानेका शिरहरु
झुकेनन् कहिल्यै
परचक्रिका आङ्गनहरुमा
न कहिल्यै नतमस्तक नै बने
साम्राज्यबादीका तोप र गोलाहरुमा।

अभिभाज्य नेपाली मनहरु
कथम कदाचित्
स्वार्थका नाराले बिथोलाउन खोज्छन्
बिखण्डनका कबिताले भजाउन खोज्छन्
परन्तु, सम्हालीरहेका छन्
अडिग छन् सगरमाथा जस्तै,
ती नाथे पराकम्पनहरु
आउन् न जति आएपनि
तर हामी र हाम्रा मनहरु
पैँठेजोरी खेल्न समेत तयार छन्।

अबिचलित मनहरु !
एकत्रित मनहरु !
हौशला र आँट सहित
नालापानीमा लडेका मनहरु
अझै ज्युँदै छन् भने
त्यो नाथे छिमेकीको
ढुङ्गे तगारोले  
के नै पो छेक्न सक्छ र?
कर्मठ छातीभित्र एकत्रित मनहरु
हाँसी हाँसी स्विकार्नेछ
लाखौं चुनौतिहरु !

किन कि
आस्थामा अडिग छन्
नेपाली मनहरु!
आस्थाले विश्वाश
विश्वाशले भरोशा
भरोशाले कर्म

कर्मले न्यायोचित सम्मान।।
-------
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
बुधवार,
बैशाख ८, २०७३ 

फेसबुक मित्र पार्वती डाँगी ज्युको मतला पच्छ्याउँदै


पसिनाको स्वाद मिठो, सागरको पानी जस्तो  

जिन्दगीको प्रगति,, छेपाराको कहानी जस्तो !! 


एता छेक्दा उता बग्छ,,, सावनको भेल पानी 

दुई दिनको जोवन,, उधारोको जवानी जस्तो !! 


न छहारी छ,, न छ बादल, न जूनेली रात मेरा 

न कोर्दा गजल बन्यो, विरहीको रुमानी जस्तो !!


लेख्न खोज्दा आँसु बग्छ, पत्ताहरु सुक्न थाले 

भिर मौरीको ब्यथा,, पर्देशिको बिहानी जस्तो !!

दिल खोलेर हांस्ने मन छ

गीत

दिल खोलेर हांस्ने मन छ,, खुशी कहाँं होलान्
उडाई लैजा बतास मलाई, खुशी जहाँं होलान्

धेरै भयो नहाँसेको,, एेनाहरु फुटे सरी
मनका भित्रका खुशीहरु, समयले लुटे सरी

दिल खोलेर हांस्ने मन छ, खुशी कहाँं होलान्
.
धेरै भयो नभेटेको,,, मन की रानीलाई
मजुरजस्तै नाची डुल्ने, बन कि रानीलाई

इन्द्रेणीका रंङ्गहरु,, चोरुँ  चोरुँ लाग्छ
बाटो हिंड्ने बटुवालाई,, सोधुँ सोधुँ लाग्छ

दिल खोलेर हांस्ने मन छ, खुशी कहाँ होलान्
उँडाई लैजा बतास मलाई, खुशी जहाँ होलान्

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...