Thursday, April 30, 2015

देशमा सरकार छैन EQ

के भन्नु छ र देशमा
सिंह दरबार निदाएको छ
सिंह दरबार छिरेपछि बनाएका
नेपाल खाल्डोका कैयौं दरबार निदाएका छन्,
त्यस दरबार भित्रका राजारजौटा
निदाएका त छैनन्, तर
निदाएको ढ्वाङ गरिरहेका छन्।
सानेपा दरबार मौन छ
कि भाग नखोसियोस भनेर
कुर्ची नतानियोस् भनेर,
बल्खु दरबार
दुनो सोझ्याउदै जाल बुन्दै छ
पेरिस डाँडा, लाजिम्पाट दरबार
निदाउन सकेका छैनन्
कि सिंह दरबार छिर्न नपाएर,

के भन्नु छ र देशमा
दैब ले त ठग्यो ठग्यो
स्वघोसित महाराजाहरु
दारा तिखारेर बसेका छन्
कात्रो तानेर सिरकमा खोल
हाल्न खोज्दैछन् सायद,
मृत्‍युको खबर गनेर बसेका छन्
लाज घिन र सरम पचेकाहरु
झन्डा फहराएर
कथित निरिक्षणमा निस्कन्छन्।

के भन्नु छ र देशमा
बस यती भन्छु,
देशमा सरकार छैन।
via comment in fb

Wednesday, April 29, 2015

सरकार कहाँ छ? EQ

सोध्दै छ चौतारा सरकार कहाँ छ
यो जिन्दगीको सरोकार कहाँ छ?

ओइरिएको छ भन्छ राहतै राहत
भेटेनौं हामीले परोपकार कहाँ छ?

चाहिएन पहिचान बचाऊ आज नै
खोज्छौं आँफैले उपकार कहाँ छ?

जितार पठायौं राजधानी ए नेता
भोट् चाहिंदाको नमस्कार कहाँ छ

सोध्दै छ देशले सरकार कहाँ छ?
-आफन्त
बैशाख १६, २०७२
बुधवार
photo: onliekhabar.com 

Tuesday, April 28, 2015

सलाम गर्छ देश उसलाई EQ

लासहरुको थुप्रोबाट चिच्चाहट आउंछ
मलाई बचाउ, कि म जिउंदो छु
परोपकारी हातहरु सल्बलाउंछन्,
मृत्‍यु जित्नेहरुको परेली चल्छन्
यस्तो लाग्छ,
कोपिला फक्रिएको देख्दैछौं,
मृत्‍युले थिचेको थियो
सपनाले किचेको थियो
धर्म,अधर्मले पो किचिएको थियो
सायद यस्तै सोचेको थियो
त्यो बिजेताले,
भगवान कहलिन्छ उ
जसले कालको ओढार बाट निकाल्छ
उसलाई, धुकधुकी र नाडी चल्दाचल्दै
केही आश केही सास बाँकी रहेका
मन मुटुहरुलाई
नयाँ जिन्दगीको माला पहिर्याउंदै,
सलाम गर्छ देश उसलाई
कन्जुस्याइँ नगरि।

# २०७२ साल बैशाख १२ गते ११ ५६ बिहान गएको भूकम्पकले बनाएका देशभरिका भाग्नाबेसहरुमा अहोरात्र खटीरहेका देशका सेना,प्रहरी,युवा,बिदेशी राहत टोली, र सम्पूर्ण नेपाली परोपकारी हातहरु प्रति आभार र उहाहरु प्रति समर्पित,

पाप मोचन

अधर्मले थेगेन समाज आज
भन्दै थियो कबि
धर्म नबेच, पछुताउनु पर्ला
र धर्ममा आफु पनि नबेचिए,
देख्यौ नि,भोग्यौ नि
जो देखिदैन आउदो रहेछ
सोरेर लाने पनि त रहेछ,
प्रक्रितीलाई मात्र के दोश,
पन्छीन खोज्दै थियौ
धर्म, अस्तित्व, आस्था,
विश्वाश देखि टाढा
आज आँफै लखेटिंदै छौ
लखेट्दै छ तिनै भुतले
बर्तमानमा,

कबिता त अक्षरहरु हुन
स्वभाविक लाग्छ
आङ्गनका बिस्कुन जस्तै
आखिर बिस्कुन पनि त आहारा नै हुन्
किन बुझ्दैन मान्छे?
लेखिएका थिए कैयौं कबिताहरु
धर्म नबेच भन्दै,
माध्यम बनायौ राजनीतिको,
अनि कुर्लियौ
कबिहरु कागजमा सिमित हुन्छन्
उनिहरु त पागल हुन
अक्षरहरुकै खेती गर्छन्
तर
कबि कहिल्यै कागजमा सिमित रहेन
रहेका पनि छैनन्
हो उ किसानी गर्छ
हो उ पागल पनि हो
सत्य यथार्थ ओकल्ने पागल नै हुन,,

प्रसङ्गले बाटो बिरायो यहाँ
धर्म अफिम हो भन्दै
धावा बोल्यौ,
आज गौ दान गरेर
पाप मोचन गर्दै छौ!!

15/01/2072
Tuesday 

मृत्‍यु जितेर फर्कदै EQ


२०७२ बैशाख १५ मंगलवार
--------------
तिमी रुंदा म रुनेछु भन्नेहरु
आज मलाई नै छोड्दै छन्
शोक बाट नब्युंझंदै
सुकसुकाउंदै छु म,
गुनासो छैन मलाई
एक्लो छैन म,
समयको चक्रपातले छोडेका
इंटा ढुङ्गा पत्थर छाती भरी छन,
दुखेसो छ त केवल,
केही दिन बसेर गए पनि त हुन्थ्यो
छाती भरी लागेका रगतका टाटा,
पुछेर गए पनि त हुन्थ्यो
कम्मर तल अझै च्यापिएका
बिम र चौकोस हटाएर गएपनि त हुन्थ्यो
मुटु माथिका अझै कैयौं खिलहरु
निकाल्नु थियो,
झनै दुखित छु आज
तिम्रा लस्कर देख्दा,
कोही आर्यघाट धुवांउँदै
कोही बुङ्मती,बिष्णुमतीका किनार धुवांउंदै
कोही खै कसरी पो छोड्दै छन्
माफ गर मलाई,
अफसोच छ मलाई
कि उनिहरुलाई चार कांध दिन सकिन,

आज त नाडी चलेकाहरु पनि
चार भन्ज्याङ्ग काटेर जाँदै छौ है?

के भन्नु हुन त,
मैले थेग्न नसकेर पनि हो,
न आज रात काट्ने छत्
न प्यास मेट्ने पानी नै छ
मेरा आङ्गनमा,

जाओ जाओ
बिदाईको हात हल्लाउन पनि त सक्दिन
तर पर्खेर बस्ने छु छिट्टै,
तिमीहरुले मलाई मलहम नलगाए पनि
तिमीहरुको बाँकी रहेका सपनाको लागि
म हरपल तिम्रो साथ रहने छु,
फर्केर आओ छिट्टै,
तिमिहरुको गास बास को ब्यबस्था गर्ने छु छिट्टै,
मेरा गहिरा घाउहरु आएर पुर्ने कोशीस गर,

मतलबी भन्दिन म,
यसपाली तिमीहरुलाई  
छरिएका तिम्रा अाफन्तिहरु
बाटो हेरेर बसेका छन,
कि तिमी मृत्‍यु जितेर फर्कदै छौ आज
मेरो घर आङ्गनबाट !!

हाइकु ५ EQ

अंध्यारो पो छ
शुक्ल पक्ष भन्छन
धुलाम्य बस्ती!

पोखरी त छ
प्यासी उस्तै छ मान्छे
आँसु रगत् को

मान्छे था´छैन
कुकुर रोएको हो
धुन होइन !

फर्कियो अरे
दुनियाँ रुवाएर
नआओस् त्यो!

बैठक बस्यो
कस्को भागमा कति
नभए बिरोध्

EQ


बैशाख १५,२०७२ मंगलबार

जानेले त देखेनन् बरु, म जिउंदो ले, के के देख्न पर्दैछ यहाँ
आहत छ राहत छैन, लौन भगवान, के के लेख्न पर्दैछ यहाँ
मृत्‍यु कठिन हुन्छ, कठोर हुन्छ भन्थे, महशुस हुँदैछ आँफैलाई
देउताको शहर थियो,पाटिपौवामा जहाँं, के के टेक्न पर्दैछ यहाँ ,,FB posted
--------------
धुवाँधुवाँ छ शहर, चिता रुँदैछ यहाँ
सुनेर भित्री कहर, पिता रुँदैछ यहाँ
धर्मको लेखा होकि,कर्मको रेखा हो यो
देखेर हरेक प्रहर्, गिता रुँदैछ यहाँ
- आफन्त
-----------------
नचर्किएका भित्ता छैनन्, नरोएका चिता पनि
हिमालय´को काखमा नै, रोयो आज गिता पनि
----------------
न कुनै सरकार आए न कुनै सरोकार आए
आए त केवल मनकारी यिनै परोपकार आए

सग्लाहरु, ढल्किएका छन्
छाती त्यसै सल्किएका छन्

धुलो धुवाँ र चित्कारले आज
गाउँ बस्ती छचल्किएका छन्

अबिबेकी, जिउँदा मुर्कुट्टाहरु
अझै लुट्न पल्किएका छन्

मेरो क्षतबिक्षत जन्म-भूमी सँगै
सबैका मनमुटु गल्किएका छन्

मल्हम नपाएका घाऊहरु कैयौं
कन्क्रिट मुनी बल्किएका छन्
--------------
18 baishakh dedication to SONIT AWAL 4/5 months babu
हेर मैले संसार जितेको छु हार नखाउ है
त्यो मृत्‍युलाई पछारेको छु हार नखाउ है
जिस्कायो हिजो मृत्‍युले भगाएं देख्यौ नी
पापीकाल पनि लतारेको छु हार नखाउ है




---
comments on Khagendra Sangraula´s article: 

¨कङाल बस्तिमा चन्डाल सर्दार

खै लेखें भनेका होलान यो बरीस्ठेले? साथीहरुको ज्याकेट च्यातियो भन्दैछन् जाउ खोज्न ति भग्नाबेसहरुमा ज्याकेट होइनन् सुनका घडी भेट्नेछौ। हुन त तिमी जस्ता नास्तिकलाई के भन्नु खै? सबैलाई सर्बबिदितै छ सरकार निकम्मा भयो, निर्देशन् भएन, सरकारले गर्नुपर्ने अत्याबस्यक कुनै काम गर्न सकिरहेको छैन,आदी इत्यादी भन्दैमा परोपकारमा बढाउनु पर्ने हातहरु गोजिमा राखेर बालुटार जाने? बिध्वान लाग्थ्यो बिचरावान लाग्थ्यो तर तिमी त सांच्चै नै मुर्कुटाहरुको नाइके पो निस्कियौ।के को राष्ट्रिय सरकार जुन सरकार जसरी बने पनि उही अनुहारहरु दोहोरिने नै हुन जो ०४७ सालदेखी शक्ती र कुर्चीको वरपर झिङ्गा भन्किए झै भन्किरहेका छन्। घेरेर होइन त्रिपाल बेरेर एउटा बस्ने जोहो गरेको भए वा वा कमाउथ्यौ तर आजको तिम्रो पारा सही अर्थमा भन्नेहो भने ¨कङाल बस्तिमा चन्डाल सर्दार¨भने जस्तो भयो। प्रार्थना गर,मैन बत्ती बाल त्यो पनि सक्दैनौ भने कथित भडुवाहरुको जुलुश निकाल्ने काम नगर।


Monday, April 27, 2015

खै कस्तो खेल खेल्यो दैबले

चार कांध नशिव नभएका मृत्‍युहरु
अभावमा जलिरहेका छन्
दाउरा घ्यु दागबत्तीहरुको,
चिता आँफै दङ्ग छन्,
रोएका देखिन्छन् धुवां पनि,
आङ्गन घाट बनेका छन्
अहो कति कठोर् हुँदो रहेछ मृत्‍यु
बांचेका पनि मृत्‍यु सरह,
बगरहरु ढाकिका छन्।
शहरहरु रुमल्लिएका छन्
कंक्रिटहरुको चिहानमा।
खै के हेरेर बसेको छ दैब ??

खै कस्तो खेल खेल्यो दैबले
हिमालयको काखमा,
धारेहात लगाएर र
सराप्दा दैबलाई आँफै थाकिसकें,
-----------
बैशाक १४,२०७५


Sunday, April 26, 2015

छिर्दिन अब, मन्दिरहरु तेरा

छिर्दिन अब, मन्दिरहरु तेरा

न कांध न मलामी न आफ्ना
चितामा जलने, रहर´हरुलाई

के थाहा, मृत्‍यु कस्ता थिए
धुलाम्य तिनै, शहर´हरुलाई

नसोध भो, दुख्यो कि भनि
अमुक रहे जो, नगर´हरुलाई

निंदमा रहेन, मध्यरात पनि
सोध तर्सिरहने, प्रहर´हरुलाई

कोहराम मच्चियो, मध्यान्हमा  
चुंडेर नै लग्यो, जिगर´हरुलाई

संसार जित्ने, गोर्खाली लगिस
मृत्‍यु जितेका, निडर´हरुलाई

हराभरा मेरा, सम्पदाहरु थिए  
कसरी हेरुं अब, बगर´हरुलाई

छिर्दिन अब, मन्दिरहरु तेरा
रोकिनस् मृत्‍युका लहर´हरुलाई

हे भगवान

ए भगवान !!

छस जस्तो त लाग्दैन, मलाई ए भगवान
कत्ती बिस्मात लाग्दैन, तलाई ए भगवान?

बर्वादिको ताण्डव्, हिमालयकै काखमा आज
ताप्दैछस् आगो, नेपाली जलाई ए भगवान?












माग्दिन भन्थें गुहार, हिजोदेखि नै तं सँग
बिन्ती नआईज दुनियाँ, छलाई ए भगवान
 
कहाँ राज गर्छस् तं?, शिंहासन यो लडाएर
आफ्नै राज्यमा धरोहर, ढलाई ए भगवान

टुट्ने छन् आस्था, गिर्नेछन् विश्वाश पनि
अति भो रोकिदेखा, तेरा भलाई हे भगवान




Friday, April 24, 2015

जिन्दाबाद लोकतन्त्र

पटक पटक् चुनाव, रहेछ लोकतन्त्र
आखिर बन्दकिताब, रहेछ लोकतन्त्र

भ्रस्टचार बलत्कार, निकै मौलाएछ
बुझियो नयाँ नकाव, रहेछ लोकतन्त्र

नेता त सधैं दुलाहा, जन्ती जनार्दन
मुख भरिको जवाफ, रहेछ लोतन्त्र

सहिदको त्यो सपना, रगत कस्ले बुझ्ने
कुर्ची कुर्चिको हिसाब, रहेछ लोकतन्त्र

मनायौ काटी रिवन!, यस साल पनि
मत्स्य न्याय निशाफ, रहेछ लोकतन्त्र

आफन्त 

छिटो बित्यो रात जो G

दुई मन, एक सिरानी, छिटो बित्यो रात जो
पापी लाग्यो त्यो बिहानी, छिटो बित्यो रात जो

आधा रात त्यसै बित्यो, चुप चाप थियौ हामी
लाज लाग्ने यो कहानी, छिटो बित्यो रात जो

सुस्त सुस्त् जून् पहाडमा, क्षितिज् रह्यो अंधेरोमै
मिठो चोखो हाम्रो जवानी, छिटो बित्यो रात जो

छोटो मिठो सानो संसार्, कल्पनाको परीधिमा
उन्दा उन्दै जिन्दगानी, छिटो बित्यो रात जो

अधर मा, निधार मा, छोडेका ति डोबहरु
खोज्दैछु ती निशानी, छिटो बित्यो रात जो 

लामा लाग्छन् रातहरु

लामा धेरै लामा, लाग्छन् मेरा रातहरु
भाग्य चोर्न होकी, माग्छन् मेरा हातहरु

बाचा लामै गरेपनि, बिच त्यो बाटोमा
थाहा छैन किन, भाग्छन् मेरा साथहरु

पराई को के कुरा भो, आज भोली यहाँ
आफ्ना´हरु झुटा, मान्छन् मेरा बातहरु

होशमा को छ र, तै पनि यो शहरमा
नाटक हो कि झैं , ठान्छन् मेरा मातहरु

लामा धेरै लामा, लाग्छन् मेरा रातहरु
बैगुनी´ले ब्यर्थै, ताक्छन् मेरा रातहरु  

जिन्दगी हाजिर छ G

खेलेर जाउ, खेलाएर जाउ, जिन्दगी हाजिर छ
टुट्ने बाचा´कसमहरु खाउ, जिन्दगी हाजिर छ

खेलौना त रहेछ, जिन्दगी, फुटाए पनि त भो
सामुन्ने छु जोड या फूटाउ, जिन्दगी हाजिर छ

लेखेर छाडेको छु मैले हिजै, कबिता जिन्दगीका
गुनगुनाउ या गीत यो गाउ, जिन्दगी हाजिर छ

चौतारो बन्नेछु, सदैब यहाँ, बर पिपलु सँगै
अतितले पोले फर्केर आउ, जिन्दगी हाजिर छ

खेलेर जाउ, खेलाएर जाउ, जिन्दगी हाजिर छ
माया जालमा जेलाएर जाउ, जिन्दगी हाजिर छ  

बताउने कस्ले G

आफ्नाहरु आफ्नै हुन्छन्, बताउने कस्ले
न´भिजाई रुमाल् धुन्छन्, बताउने कस्ले

तारा झारे जमिनमा, सित बिलाई गयो
बातै बातमा जुन छुन्छन्, बताउने कस्ले

टुप्पो बाट पलाए कि, भुइँ भुलि गए
बिना त्यान्द्रो जाल बुन्छन्, बताउने कस्ले

बनावटी मुस्कान् उन्का, ओठ्मा हांसो छैन
भित्र-भित्रै एक्लै रुन्छन्, बताउने कस्ले

पिडा आफ्नै खुशी आफ्नै, आफ्नै जिन्दगानी
के आफ्नाहरु आफ्नै हुन्छन्, बताउने कस्ले 

लजाउन चाहन्छु

मनको सृङ्गार नयनमा, सजाउन चाहन्छु
हर रात नब दुलही झैं, लजाउन चाहन्छु

अाइन्दा नभन ब्यर्थै आँसु, बगायौ तिमीले
तिम्रोलागि नै आँसु मोती, बनाउन चाहन्छु  

निम्ताएको छु स्वर्गका सारा, परि र ताराहरु
बुझ्यौ नी स्वागतमा तिम्रो, नचाउन चाहन्छु

निरस लाग्छन् हरमौसम, गीत अनी संगीत
सायद कसिलो अंगालोमा, रमाउन चाहन्छु

ईशारा देउ आउनु अघि, प्रतिक्षामा रहुंला
अंधेरिमा यी चुरा पाउजु, बजाउन चाहन्छु



Thursday, April 23, 2015

पिरतीको, जात थाहा छैन G

दिन त यसै उसै बित्यो, रात थाहा छैन
भोलि सबेरै उनी सँ´को, बात थाहा छैन

रुवाउने र हसाउने, साहिनो गासौं भने
नसोध भो पिरती´को, जात थाहा छैन

बहार् लाग्छ हर मौषम, घाम जून एकै  
जिन्दगीमा आज सम्म, घात थाहा छैन

मनको चोखो नजरको चोखो, हजुर्‍कै काले
देखाउने र टोक्ने अर्कै, दात थाहा छैन

चढ्ने रैछ मन मन्दिरमा, टिपें फूलबारिमा
दुबो के हो कोपिला अनि, पात थाहा छैन


गीत कलेजी रेट्नलाई

नआउ ऊडि परी झैं भेट्नलाई
दिलमा बसी कलेजी रेट्नलाई

यो बन पाखा, नफुले के भो र
नलाउ माया तुरुन्तै मेट्नलाई

त्यसै पनि बग्यो आँसु नुनिलो
नुनीलोमा नै बिषालु फेट्नलाई

मनको यो घाऊ देख्दैन दुनियाँ
पछ्यौरी छनि दुनियाँ छेक्नलाई

मनको बह, आँखाको रह लाई
कसले रोक्ने कबिता लेख्नलाई

नआउ ऊडि परी झैं भेट्नलाई
दिलमा बसी कलेजी रेट्नलाई

सोच्दिन अब G

पराई सँग मनको कुरा खोल्दिन अब
तस्बिर हेर्दै एकलै एक्लै बोल्दिन अब

सम्झना बासी रहे यादहरुले पोले पनि
आउने जाने बटुवा सँग सोध्दिन अब

एक्लो जीवन एकलो यात्रा लेखेको यही
पुग्छु म जहाँ सहयात्री त खोज्दिन अब

अतित घाऊ बन्यो खाटो बसिसक्यो हिजै
बर्तमान´को सियोले ब्यर्थै घोच्दिन अब

को हो पराई को हो आफन्त नसोध बिन्ती
सोचेर के हुँदो रहेछ र?? सोच्दिन अब 

Tuesday, April 21, 2015

अघोरीहरुले अब

नबांध मलाई बिन्ती, सिमा डोरीहरुले अब
रक्त् राजनीतिका भद्धा, र अघोरीहरुले अब

चिलाउंछ घिनाउंछु, कथित बाणिहरु सुन्दा
नलिय जनताको नाम, हे फोहोरीहरुले अब

भुल्यौ आखिर् पापपुण्य, भत्काएर मठमन्दिर
बिर्सने छैन बेनीम्याग्दी, माडी ठोरीहरुले अब

चाहंदिनन् आमा, कामना गर्दछिन निरन्तर
बोक्न नपरोस् बन्दुक, छोरा छोरीहरुले अब

कोही छैनौ ओभानो, पानी माथिका डाम्ना हो
डस्ने छ सल्कायौ हिजो, तिनै कोरीहरुले अब 

गजल जाम लिने छैन

भुलेर् बेईमानी´को, नाम लिने छैन
फेरी उस्कै नामको, जाम लिने छैन

विश्वाश सारा उड्यो, पिरतीको पंक्षि
खांदै बाचा कसम, राम लिने छैन

धोका रहेछ माया, नबुझ्नाले हिजो
भोलि कसैको हात, थाम लिने छैन

दोबाटो´को फकीर, प्रेम´को पूजारी
सुनाएर् आफन्तले, दाम लिने छैन

लेख्नेछु कथा बेथा, जिन्दगीका यहाँ
बेचि आफ्नै कहानी, खाम लिने छैन 

पिरतीका गीत् गाऔं

चौकीदार नराख, तिम्रा गाउँ नाकाहरुमा
खोज्न आउँदैछु आँफैलाई ती आँखाहरुमा

नहेर भो त्यो एेना, मेरा किताबहरु पढ्
भेट्नेछ्यौ मुहार हरेक पन्ना खाकाहरुमा

ए सुन त कोईलीले बोलाएको छ तिमीलाई
कि म आउँदैछु हुँदै, तिम्रा बन् पाखाहरुमा

आउँदैछ आफन्त डोली जन्ती दुलाहा बनी
सिंगारीएर् बसे सानु, पाल्पाली ढाकाहरुमा

नसुन भो गीत अब न्याउली र सारङ्गिका
पिरतीका गीत् गाऔं मिलनका भाकाहरुमा 

Monday, April 20, 2015

गजल राहू पुरानै

किन निको हुन्थ्यो, देशको घाऊ पुरानै
सताइ राख्ने त्यो, बन´को राहू पुरानै

सरापे कै त हो, आखिर सतिले यहाँ
छिर्कने हान्दै छ, छिमेकी साहू पुरानै

मुस्किल् छ सागर, ज्वारभाटा रोकिन्नन्
असक्त छ माझी, टुटेको नाऊ पुरानै

बुझ्दैनन् जनता, भए टाठा बाठा नेता
राजनीतिको खेल्, कुर्चिको दाऊ पुरानै

रेगिस्तान ढाक्यो, पौरखी पाखुरा उहिं
स्वदेश´मा हेर्नुस्, त बल´बाहु पुरानै

किन निको हुन्थ्यो, देशको घाऊ पुरानै
सताइ राख्ने त्यो, बन´को राहू पुरानै
----------------------
बलबाहु:-(बलिया पाखुरा, अरनिको को वास्तविक नाम पनि) 

Sunday, April 19, 2015

नतौल ए मान्छे हो !

नतौल ए मान्छे हो !
नजोख मेरा शब्दहरु
गौंण लाग्न सक्छन् तिमीलाई
नपढ बहिस्कार गर मेरा शब्दहरु
तर नतौल कुसंस्कारको तराजुमा,

मेरा अक्षर,मेरा शब्द
प्राण हुन मेरा,
अधिकार पनि त छैन तिमीलाई
जोख्न र तौलन
आखिर मैले पनि त
ठुलो-बर्णमालामा बाट
अक्ष्यराम्भ गरेको हुँं
ह्र्स्व दिर्घ बिग्रेका होलान
बिग्रेलान कहिं कतै,
तर
बाटो बिराएका छैनन्
मेरा शब्दहरुले  
न तिम्रा रङ्गिन छन् न मेरा
आखिर किन खोज्छन् वजन
यहाँ मेरा अक्षरहरुमा,
तराजु लिएर उभिएको छ दुनियाँ,
भाब खोज्छौ तर
घाऊ देख्दैनौ
किन कि तिमीलाई
कहिल्यै दुख्दैन र दुख्ने पनि छैन

तिर्छु भन्दाभन्दै Gajal

दिलको ढोका बन्द गर्यौ, छिर्छु भन्दाभन्दै
माया प्रेमको बाँकी खाता, तिर्छु भन्दाभन्दै

तिता मिठा, यादहरु नै, जिन्दगीका साथी
अबिश्वासको कालोआकाश्, चिर्छु भन्दाभन्दै

भरोषा टुट्यो दुनियाँ´मा, तिम्ले छाडी जाँदा
त्यै चोखो तिम्रो अंगालोमा, गिर्छु भन्दाभन्दै

नजानु थियो, गयौ किन, पश्चाताप होला
समाज´को बाधा अड्चन, भिर्छु भन्दाभन्दै

दिलको ढोका बन्द गर्यौ, छिर्छु भन्दाभन्दै
माया प्रेमको बाँकी खाता, तिर्छु भन्दाभन्दै 

Thursday, April 16, 2015

म हुन्छु

खोज मलाई देशको पहरामा हुन्छु
बेली चमेली बनका लहरामा हुन्छु

शालीकग्राम खोज्दछु कालीगण्डकीमा
मुक्तिनाथका पवित्र छहरामा हुन्छु

पवित्र छन हाम्रा मेची महाकाली ति
नियाल्दै कान्तिपुर धरहरामा हुन्छु

चाँदनी दोधारा धनकुटा अनि हिले
इटहरी मेरै धरान् तरहरामा हुन्छु

सुन्छु म गायत्री धरम अहं बेच्दिन
सिक्छु ठूलोबर्णमाला कखरामा हुन्छु


के दोश







बषन्तमा फक्रिएनन, मालीको के दोश









बषन्तमा फक्रिएनन, मालीको के दोश
मुस्कुराएनन् ओठहरु लालीको के दोश

भिरको राम्रो लालिगुराँश्, आँखाको गाजल
लतपतियो त्यही गाजल, कालीको के दोश 

जालझेलमा दुनियाँ छ, कस्को छ विश्वाश
आफ्नो धर्म पुरा गर्छन्, जालीको के दोश

जोवन् चढ्यो पंख सँगै, गुँडको के माया
उडी जान्छन् चरीहरु, डालीको के दोश

बषन्तमा फक्रिएनन, मालीको के दोश
मुस्कुराएनन् ओठहरु लालीको के दोश ??

Wednesday, April 15, 2015

त्यो सडक

जवाफ देओ
ए मान्छे हो मलाई!
हरेक बटुवा र यात्रीको
गन्तब्य सम्म पुग्ने त्यो सडक
कसोरि निर्जिव भयो?
तिमीहरु नै त हौ
कहिले सुनसान
कहिले एक्लो सडक भनेर
गीत र कबिता लेख्नेहरु पनि,
यदी दुख्दैनथ्यो भने
किन बुट बजार्यौ
पोल्दैनथ्यो भने
किन टायर बाल्यौ?
बिचार र सिद्धान्त होस् चाहे
लाली पपको माग
कर्फ्यु चलायौ
गोली चलायौ
घांटीको नशा सुक्ने गरी
हल्ला चलायौ
बोली चलायौ
त्यही सडकमा,
अन्धो छैन सडक
हरेक पथिकको सहारा हो।
तिम्रा बोलीका ठेगान चिप्लिए पनि
घात त गरेको छैन नि,
कहिले प्रयोगशाला बनायौ
कहिले धर्मशाला बनायौ
यही सडकको आधारमा,
त्यसैले आज नकुर्लिय
त्यही सडकको छातीमा बसेर,
कि,
यो निर्जिव सडक भनेर,
हेर्दै जाउ कुनै दिन यस्तो आउने छ
जसरी भिडले तिमीहरुलाई छोड्दै छ नि
त्यसरी नै यो सडकले तिमीहरुलाई छोड्ने छ
समाज र राजनीतिको भद्दा साहिनो तोड्ने छ 

गजल म छैन

छैन आज साथी, होशमा म छैन
जिन्दगी जिउने, जोशमा म छैन

थाकेको आकाश, देख्दछु सधैं नै
परन्तु उसै सँग्, रोशमा म छैन

पिडाको पहाड, दुखको सागर्´मा
खोजेर त हेर, कोशमा म छैन

परेला गरुङ्गा, प्याला भरी भरी
तरल् रैछ बग्ने, ठोसमा म छैन

छैन आज साथी, होशमा म छैन
जिन्दगी जिउने, जोशमा म छैन

¨हरारेश्वर भगवान¨


Art by Bibek Paudel (Lamjung Sundarbazar)

एक्कासी शहर हल्लियो
भुइंचालोले होइन हल्लाले
देउता हरायो मन्दिरबाट,
अचम्मित पर्छु म
कस्तो शहर हो यो?
निराकार छन् भगवान भन्दै
पत्थर खोपेर आकार दिए
आज उनै बहुलाएछन्                                                                                                                                     भगवान हरायो रे?!
अभिस्ट इच्छाले गर्दा                                            
अनिस्ट भयो
निर्क्यौल यही रह्यो मेरो,
परन्तु थियो र त हरायो,
आखिर मध्य-शहर
पूजारीको मातहत बाटै
आखिर कहाँ गयो त
त्यो भगवान??
अनिकाल पर्छ अब यहाँ
रोग ब्याधिले सताउंछ
नागहरु निस्कन्छन्
मान्छे बहुलाउंछन्
अनेक तर्क बितर्क चल्न थाल्छ
चोक बजारहरुमा,
आधुनिक युवा अड्कल काट्छन्
सूनामी आउन सक्छ।

होइन, अब छिट्टै रुद्रभिशेक गर्नु पर्छ
अछुतहरुको हातमा परेको जस्तो लागेको छ मलाई
खरानी र अबिर पोतिएका स्वघोशित बाबाको तर्क थियो।
यो पूजारीलाई चार भञ्ज्याङ कटाउनु पर्छ
ब्रिद्ध ब्रिद्धाको सुझाब थियो,
दोश मन्दिर भएको स्थानको हो
अर्का धुरन्धर पन्डितको ठोकुवा थियो,

हेर्दा हेर्दै सिङ्गो शहर एकै ठाउँमा,
जहाँ
बरफ,चटपट पानीपुरी म:म:को बजार चल्छ
केहि क्षण त मान्छे भगवान बिर्सिन्छन्।
भेला चल्छ भद्र भलाद्ध्मीहरुको
बिशिस्ट पन्डितहरुको आगमन हुन्छ
गेरु बस्त्रका जोगीहरु
श्वेत बस्त्रका मेनका र उर्बशीहरु
नाङ्गाहरु,
आखिर निर्णय हुन्छ,
¨हरारेश्वर भगवान¨को मन्दिर बनाउने
हिमालयको माटो हिमालयकै पत्थर
पूरानो मन्दिर लाई दक्षिण पारेर,,

तर म अझै सोच्दै छु
आखिर कहाँ त्यो भगवान
किन खोज्दैनन् आज हराएको भगवान???

मन्दिर थपिदै छन्
भगवान हराएको हरायै छन्
,,,,,,,,,,,,,,,,,

जननी जन्मभूमिश्च

स्वदेशको बाटो भुले पनि, माटो नभुलौं
पुरानो घाऊ दुख्न सक्छ, खाटो नभुलौं

नभन बिर्सि सकें, बाल´सखी सङ्गिहरु
हुर्की बढी खेलेका गाउँले, पाटो नभुलौं

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
अपूर्ण रहे पनि जन्मको, साटो नभुलौं

हिमाल´ले लोभ्याउंछ, सगरमाथा शिर
उकाली´मा टेकेका तिनै, भाटो नभुलौं

बिझाउन्न घांटी, झिनुवा बासमतीले तर
यो भिरपाखामा पौरखीका, आटो नभुलौं

बैशाख २ ,२०७२ बुधवार 

Monday, April 13, 2015

रहेछ

चर्कने छाती, मन दुख्दो रहेछ
नयन भित्रै, आँशु सुक्दो रहेछ

देखाउँछु भन्छु, चर्किएका चिरा
दुनियाँ सामु, पिडा लुक्दो रहेछ

दिन्न म दोश, पुर्पुरो यो अभागी
हुने लाई सब्, थोक पुग्दो रहेछ

तथानाम् गाली, सत्तोसराप् गरेनी
उस्को सामुन्ने, शिर झुक्दो रहेछ

कविता : नआए हुन्छ नयाँ वर्ष :: Chakrapath.com

कविता : नआए हुन्छ नयाँ वर्ष :: Chakrapath.com

Friday, April 10, 2015

अनुरोध छ नयाँ बर्ष

आउ नयाँ बर्ष आउ, स्वागत छ तिम्रो
अनुरोध छ, धेरै आशा र बिश्वास लिएर आउ
कहिल्यै नटुट्ने आस्था र भरोशा लिएर आउ
संक्रमित् छन् मान्छे यहाँ उही पुरानो रोगले
सक्छौ दिर्घबुटी लिएर आउ,
अहमताको रोगले ओछ्यान परेका छन् महाराजाहरु
आफ्नै प्रतिज्ञाले थिचिएका छन् भिष्म पितामहहरु
अर्जुन र कृष्ण कै, महाभारत चलेको बेला
आउ नयाँ बर्ष,
खुशी छु म तिम्रो स्वागत गर्न पाउँदा
बिचारहरु छरिएका छन् उदेश्य एउटै भएपनि
त्यसैले अलिकती उज्यालो लिएर आउ,
बिशेष बिन्ती छ मेरो
बाचा पुरा गराउने परम बुटी लिएर आउ
लिस्नाहरु भात्किएका छन् यहाँ
केही खुड्किलाहरु लिएर आउ,
शिंह दरबार र बस्तिको दुरी बढेको छ
नयाँ साल जस्तै नयाँ अभियान लिएर आउ
शिंह दरबारको पारीलो घाम बस्ती पुर्‍याउनु छ
शन्त साधुहरु सैतान निस्कन थाले
केही बाकिरहेका बुद्धत्वका उपदेश लिएर आउ
सिद्धान्तहरु त निख्रिसके दस्ताबेजहरुका
सक्छौ राता पहेंला ठेलिहरु लिएर आउ
आउ नयाँ बर्ष, तिम्रो आगमनमा खुशी छु म।
राजमार्गहरु प्यासी छन् आजभोलि
सिङ्गै गाउँ र बस नै पिए पनि
त्यसैले त्यो प्यास मेटिने जडिबुटी लिएर आउ,
कमजोर छन् सरकार र कुर्ची
मजबुत् कडी लिएर आउ,
एेनका किताबहरु च्यातीसके
गोर्खे लौरो, कानुनको
बलियो छडी लिएर आउ,

अनुरोध त धेरै छन्, नयाँ बर्ष
यसपाली मैले भनेका सम्झिएर ल्याउ
अग्रिम साधुबाद छ ।। 

नआए हुन्छ नयाँ बर्ष


लेख्दिन भो म कबिता नयाँ बर्षको
धेरै मसी र अक्षरहरु खन्याइ सकें
सेता पन्नाहरुमा,
ति मेरा कबिताहरुको अबमुल्यन भयो
पुराना बर्षहरु झैं, यो साल पनि,

तिमी आयौ, गयौ
चुप चाप चुप चाप
न पदचाप सुनें
न कुनै सर्सरहाट नै
पोहोर परार जस्तै,
न कुनै परिवर्तन
न शान्तिको श्वाश।

हरेक पलहरु अंधेरोमै बिते
अबिश्वासमा बिते अनि
घात र प्रतिघातमा बिते,
त्यसैले आज तिम्रो लागि
लेख्ने कबिताका लागि
न म सँग कुनै शब्द छन्
न कुनै अक्षरहरु नै,
अभिलाषाहरु तोडिए
लाखौं सपनाहरु टुटे
जुन तिमी आउनु अघि देख्ने गरेको थिएं
गुराशै गुरान्शले तिमी आउने गोरेटाहरु सजाएको थिएं
तर तिमी त तिनै फूलहरु कुल्चिएर गयौ
न बिम्ब रहे तिम्रा, न प्रतिबिम्ब नै,
नयाँ साल तिमी त केवल
शुभ कामनाका शब्दहरुमा
खिया लागेको किलामा सिमित रह्यौ
पुराना किताबका गाता झैं
च्यातियौ चैत मसान्तहरुमा।

त्यसैले त,
नहोस् पोहोरको जस्तै, यो नयाँ बर्ष
राजधानिको फोहोर जस्तै यो नयाँ बर्ष
नलेख ए कबिहरु, बात दोहोरीने नयाँ बर्ष
प्रतिगामीहरुको त्यो, रात दोहोरीने नयाँ बर्ष,
हरिया बाँसका खप्टेराहरुमा नआए हुन्छ नयाँ बर्ष
पहिचानका अप्ठेराहरुमा त नछाए हुन्छ नयाँ बर्ष,

२०७१ चैत्र २७ शुक्रबार

Sunday, April 5, 2015

प्रेम पूजारीहरु

शहर् शहरमा, भेटिन्छन्न् प्रेम पूजारीहरु
नजान्दा धुलोमा, मेटिन्छन् प्रेम पूजारीहरु
भक्ति र भगवान्, नचिनेर सायद यहाँ
मन्दिर् अगाडीनै, रेटिन्छन् प्रेम पूजारीहरु

ईशारै ईशारामा, आग लाग्न सक्छ
नहेर जिन्दगीमा दाग लाग्न सक्छ

ठप्प पारेर देश चुस्किमा रमाउछौ
ट्यांकर रोकेर ह्विस्कीमा रमाउछौ

देवता त तस्बिर र मुर्तिमा हुन्छन्
तिमी धर्तिमा रहन सिक मान्छे भएर !

नसारी प्यालामा, पिउंछन् प्रेमका रोगीहरु
फाटेका दिल´नी, सिउंछन् प्रेमका रोगीहरु
भागेर जिन्दगीमा, फर्कान्छन् उही गोरेटो
अाई बजार´मा, जिउंछन् प्रेमका रोगीहरु

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...