Friday, December 10, 2021

गीत सुने मेरै यादले तिम्रा मुटु रेटिए रे

सुने मेरै यादले तिम्रा मुटु रेटिए रे 
बजारमा त्यो मुटुका टुक्रा भेटिए रे

मधुशाला जान्छौ अरे मैलाई भूल्न भनी  
प्यालाप्यालामा तिम्रा आँसु फेटिए रे 

बर्बराउँछौ रे अझैपनि मेरै नाम लिई 
बेहोशीमा केके कोर्छौ सबै मेटिए रे

खुशी लाग्छ सुन्दा देख्दा तिम्रा हालतहरु  
जसलाई भनी मलाई भुल्यौ उनै टेढिए रे !!


Thursday, December 9, 2021

अनेक निहुंमा हरेक साँझ जहर पिएको छु

कलकल नदी मात्र हैन बगर पिएको छु
हिजोआज मैले सपना रहर पिएको छु 

भौंतारिनु नै त जिन्दगी रहेछ यात्रा भन्दै  
स्वदेश परदेश गाउँबस्ती शहर पिएको छु 

लेख्दिन कहानी फाटेका जुत्ता फुटेका कुर्कुच्चा 
घुम्ती मोड गल्ली पुरापुरा डगर पिएको छु  

कसले के कती कहाँँ पिए, बालै भएन  
अनेक निहुंमा हरेक साँझ जहर पिएको छु 

सुन्य सुन्य सुन्यतामा, खोजुँ कसोरी

सुन्य सुन्य सुन्यतामा, खोजुँ कसोरी 

मान्छे छ्यौ मुटुमा गाउँ सोधुँ कसोरी!! 


हातमा रातो गूलाब, छिरें बजारमा 

भिडमा सबै छन् उस्तै, रोजुँ कसोरी!!


यादले सिमा नाघे, छचल्किए परेली

देख्छन् कि कसैले लौ, रोकुँ कसोरी!!


नगर बदनाम मायाको, अरुले जस्तै   

छताछुल्ल जाम जस्तै, पोखुँ कसोरी !!


सुन्य सुन्य सुन्यतामा, खोजुँ कसोरी  


x

Sunday, October 3, 2021

संयुक्त गजल सङ्ग्रहको लागि पठाएको गजल

किन्छौ भने म मेरो, आन बेचिदिन्छु   
के छैनन् बजारमा?, शान बेचिदिन्छु।।
   
बेचिसके विभुषण र तक्मा सरकारले
जेजति रहे नेपालीको, मान बेचिदिन्छु।।   

कोही बेच्छन् सिमाना, कोही नदिनाला 
उत्तरी हिम-शिखरका, मचान बेचिदिन्छु।।   

थाकिसके सब बिद्रोही, बागीहरु यहाँ 
मिल्छ भने सहिदका, थकान बेचिदिन्छु।।  

सार्वभौम अधिनमा, यो देश खण्ड खण्ड 
नरिसाउ 'ब्याकुल' तिम्रो गान बेचिदिन्छु।।

बाल गजल

ढुङ्गाको दुनियाँमा, ढुङ्गाकै घर हुन्थे 
जति ढुङ्गा थप्यो, ,,उती शहर हुन्थे  !!
 
गट्टा खेलिन्थ्यो,, बाघचाल खेलिन्थ्यो 
आहा ती ढुङ्गासङ्ग, खेल्ने रहर हुन्थे  !!

माटाका हुन्थे भाँडा, र  झुम्राका पुतली 
ढुङ्गाको छपनीमा, , ढुङ्गैका भर हुन्थे  !!

अबोध हुन्थे व्यबहार,तोतेबोली उस्तै  
बाल मनमा, न त त्रास न त डर हुन्थे  !!

के बन्थेन र ढुङ्गाले बालपनको संसारमा  
जहाज उड्थे उहीँ,,,,, उहीँ मोटर हुन्थे !!

के भेट्थे र यो जिउँदो लाससङ्ग edt req gazal

मान्छे थिए उनीहरु सुनाएर गए 
अतितका भमरा गुनगुनाएर गए
 
आहा ती पल त्यो प्यारो बचपन 
घुर्की नै सहि है खुनखुनाएर गए
 
सकेसम्म रुवाए अनेका बहानामा 
अन्त्यमा नरोभनि थुमथुमाएर गए

के भेट्थे र यो जिउँदो लाससङ्ग 
एकहुल झिङ्गाहरु भुनभुनाएर गए 

सिकिस्त छ जिन्दगी

कहिले सपनाले थिच्छ 
कहिले रहरले चिमोट्छ 
आशाका चिसोले निमोनिया बढेछ 
त्यसैले त जिन्दगी रातभरी खोक्छ 
बिहान भरी खकार्छ,
थोरै तातोपानी पिउँछ,
जिन्दगी आँफै सोच्छ 
जन्मेको खाट देखि घाटसम्मको यात्रा नै म हुँं भनि 
परन्तु 
हिजोआज जिन्दगी सिकिस्त छ 
सिथिल छ,बेचैन छ
असफलता सङ्ग मित्रता बाहेक उसले केही लगाउन सकेन 
कहिले आफ्नै हत्केलामा भाग्य खोज्दै हराउँछ 
कहिले ज्योतिषिलाई चाइना देखाउन जान्छ 
सबै तिर राम्रो छ तेरो भनिदिन्छन् 
एकछिन दङ्ग पर्छ, खुशी हुन्छ
पलभर मै 
चिथोर्न आईपुग्छन् 
निमोठ्न आईपुग्छन् 
कोपर्न आईपुग्छन् 
यथार्थका एेठनहरु 
उसै त सिकिस्त जिन्दगी 
त्यसमाथिका असहज एेठनहरु ।। 
उमेर त केवल अंक हो भन्थ्यो जिन्दगी 
हिजोआज निदाउन न सक्दा 
बुढेशकाल पो हो कि,
न थकान छ, न केही बोझ नै 
र पनि जिन्दगी मलिन छ 
सालीनता देखाउन खोज्छ 
दुनियाँलाई देखाउन चाहन्न 
उसलाई ङिजोलिरहेका रोग र ब्यथाहरु 
जहाँं उसलाई हेरेर  
हा हा हा गर्नेहरु मात्र छन्, 
परिस्थितीका बैसाकी टेकेर 
तङ्रिन खोज्छ जिन्दगी 
आत्मबिश्वासका ट्याब्लेटहरु खाईरहन्छ 
अद्रिश्य नै किन नहुन् 
आशाको दियो सल्काउँछ।। 
दरिन खोज्छ जिन्दगी 
तङ्रिन खोज्छ जिन्दगी ।। 
हिजोआज सिकिस्त छ जिन्दगी ,
----------
१७ अशोज, २०७८ आईतवार  
    

Thursday, September 30, 2021

ढुङ्गालाई कुटें,,,, फूलले दिए जब चोटहरु !!

अन्जानका आफ्नै, भूलले दिए जब चोटहरु 
ढुङ्गालाई कुटें,,,, फूलले दिए जब चोटहरु !!

पहाडलाई के दोश, बतासले अन्तै मोडलिए  
बिचरा पत्थर,,,, धुलले दिए जब चोटहरु !!

कसले पिउँछ र पानी सागरको, नदी छोडेर  
पुरिन्छन् कुवा ईनार मुलले दिए जब चोटहरु !!

Wednesday, September 29, 2021

मिश्रित भावमा स्वतन्त्र गजल

आईज ए! हावाहुरी, तेलका दिप बालिसकें मैले 
केही जीवनका छिद्रहरु थिए, जो टालिसकें मैले!!
 
खै अब त जिन्दगीसङ्ग पनि, केही गुनासा छैनन् 
जिन्दगी कै तानाहरु पो, सधैं सुन्न थालिसकें मैले!! 

मिठा झुटहरुका सहाराले, बने विश्वाशका पर्खाल    
तिम्रा के कुरा, आँफैलेआँफैलाई त ढाटिसकें मैले!!
 
कति नै पो बाँचिएला र अब अभावका दुनियाँमा 
हेर्नुस् न आधाआधि शताब्दी नि, काटिसकें मैले !!

मौका नै दिन्न,भन्न कि'आफन्त' पिउन जान्दैनस  
थोरैथोरै गरी धेरै जिन्दगीमा, पिउन जानिसकें मैले!! 

Wednesday, September 22, 2021

श्री आफन्तका पाँच समसामयिक पञ्चाङ्गहरु


१, 
अन्तत गुण्डाराज चलायो सरकारले  
सहिदका सपना जलायो सरकारले 
आँफैं बेच्छ किन्छ विभुषण पदकहरु 
भुसका खेतिमात्र फलायो सरकारले
गरीबका टहरा जलायो सरकारले !!
२, 
मिलाउने भन्दा धेरै फुटाउने भए 
मिलेसम्म आफ्नलाई जुटाउने भए 
खै कसरी चल्ला यसरी देश परिवेश 
जेलका अपराधी ति छुटाउने भए 
जनताको भरोशा नि टुटाउने भए !!
३, 
हेर्नुस न काला त गए गोरा आए 
आउन त आए नि तर कोरा आए 
नेपाल आमाका त पक्कै होईनन् कि 
खै कस्ताका कस्ताकस्ता छोरा आए 
आमा भन्नुहुन्छ पूरानै मोरा आए !! 
४,  
न सम्सद चल्यो न पूर्ण सरकार चल्यो 
दुनियाँ हसाउने केवल् अखबार चल्यो 
सत्ता शक्ती सामर्थ्यका लागि मात्र रहेछन्
परिवर्तन् लागि भन्दै हिजो तरवार चल्यो  
कुशासनमा लिप्त शिन्ह दरबार चल्यो !!
५, 
कहर मात्र जङ्गलका स्याल शहर छिरेपछी  
स्याललाई पनि सत्तामा जाने रहर छिरेपछी   
कुकुर बिरालाको चिन्ह मात्र देख्नुभो नेताहरु 
सम्सद भित्र ति बिसङ्गतीका लहर छिरेपछी 
पानीको आषा नै छैन कुवामा बगर छिरेपछी !!

- श्रीभक्त पौडेल'आफन्त'
पाइसभास्को,स्पेन
६ आस्विन,२०७८, बुधबार  

Sunday, August 1, 2021

रेटुं भन्दा अचानोमा, नरेटिने याद छोड्यौ !

आखिर किन भनलौ, नमेटिने याद छोड्यौ 
पन्ना पन्ना पल्टाउँदा, नभेटिने याद छोड्यौ!!  

निन्द्रा किन्न पाईएन, सपना बेच्ने शहरमा  
सजिलै सङ्ग छातीमा,नलेखिने याद छोड्यौ !!

पिडा उल्झन् मन-मुटुमा, कसले बुझ्ने यहाँ 
घाऊभए देखिन्थे कि, नदेखिने याद छोड्यौ !!

सम्झनामा तस्बिर अरे, सपनीका साथहरु 
रेटुं भन्दा अचानोमा, नरेटिने याद छोड्यौ !!

खालिखाली क्यानभास, 'आफन्त'का नयन  
जिन्दगीका रङ्गहरुमा, नफेटिने याद छोड्यौ !!

Saturday, July 31, 2021

आफन्तका आसुँ

सुन्नुस् न केही त पक्कै छुटेको छ जिन्दगीमा 
छातीमा एतैधेरै चिरा के फुटेको छ जिन्दगीमा!!
 
निकै उदास छन् साँझ, सुन्यतामा आँखा गए 
लट्टाई यीनै हातमा चङ्गा लुटेको छ जिन्दगीमा!! 

नदेखिने घाऊहरु दुख्छन् बढ्दा मुटुका धड्कन् 
थिलो'थिलो ज्यान कसले कुटेको छ जिन्दगीमा !! 

सम्हालिंदैनन् खुशी ओठमा नयनमा निद छैनन्
एस्तो लाग्छ खुशीका पुल टुटेको छ जिन्दगीमा !!

विश्वाश गर्नुस् आज हजुर यो आफन्तका आसुँ 
मेरो भाग्यले नै भाग्यलाई चुटेको छ जिन्दगीमा !!

Wednesday, July 28, 2021

आफन्तका प्रेम र सृङ्गार रसका पाँच पञ्चाङ्ग

1.
फूल कोपिला पात डाली मन पर्‍यो 
सानु तिम्रा कानका बाली मन पर्‍यो 
सौन्दर्यता भेट्छ्यौ आँफै एेनामा हेर  
ती आँखा परेलीका काली मन पर्‍यो  
सारा बगान् सम्हाल्ने माली मन पर्‍यो ।। 
2.
मेहन्दी रङ्गले, हातमा मेरै नाम लेखिछौ 
साउन महिना मनमा चारै धाम लेखिछौ 
ब्रत बस्छ्यौ हर सोमबार चाहेको पुगोस 
दाहिनेमा चन्द्रमा र देब्रेमा घाम लेखिछौ  
हेर झनै सुवाएको जहाँ श्रीराम लेखिछौ!!
3.
यसपाली त रातो सारीमा देख्ने मन छ 
त्यै शिवालय पछाडी एक्लै भेट्ने मन छ
भूल्यौ तिमी नाच्दा म सर्माएको त्यो तिजमा
उम्कनै दिन्न अब त बाटो छेक्ने मन छ  
तिम्रा सुन्दरतामा पञ्चाङ्ग लेख्ने मन छ !!
4.
मनका कैयौं बातहरु अझै अधुरा छन् सानु 
केही चाहनाका मीठा बहाना अपुरा छन् सानु
आँट बटुली आज तगारोमै रोक्न आएको छु  
भनन किन हो तिम्रा मुस्कान मधुरा छन् सानु 
मलाई त भन त्यो मन भित्र के कुरा छन् सानु !!
5.
भन्छन् उमेर सङ्गै ढल्किजान्छ जवानी पनि 
त्यस पछी कसले सुन्ला हाम्रै कहानी पनि 
सम्हाल भन्छु अझै कि त मलाई सुम्पे हुन्छ 
आउ बनाऔं हाम्रा हर्, सफर सुहानी पनि 
सुर्योदय बिना के गर्नु र, ती बिहानी पनि !!

Sunday, July 25, 2021

कविता: जून अनि म











आजफेरी केहीबेर टोलाएँ
क्षितिज माथिको त्यो जून हेर्दै  
नबुझिने प्रितमा, 
शीत मिसिएका धून हेर्दै 
कति कोमल हुन्छन् है? २  
जुनेली रातहरु साथी  
जुनेलीका मातहरु साथी 
सुम्सुम्याउँछु म सधैं 
शीतले भिजेका पातहरु साथी!
कति मिठास हुन्छन् है 
पुर्णिमाका रातका बादलमा पनि
नत्र को सङ्ग खेल्छ त्यो जूनले 
लुकामारी साथी 
को सङ्ग गरोस त नत्र 
भलाकुसारी साथी।।  
एस्तो लाग्छ, 
सायद
ताराहरु रिसाएका पो हुन् कि 
पर पुग्छन् टिलपिल गर्दै 
रुँदै पो हुन् कि,,
कि आज मौका मिल्यो भनि 
त्यही रोशनीले आँफैलाई 
धुँदै पो हुन् कि,,
छि:यो मनले के कति सोच्न सक्छ 
त्यही जूनको जुनेली रोज्न खोज्छ 
कस्तो हुँदा हुन् कृष्णपक्षका पल 
कानेखुशी गर्न पाए सोध्न खोज्छ।। 
आजफेरी केहीबेर टोलाएँ
क्षितिज माथिको त्यो जून हेर्दै  
सुन न,
ए जून!
तिमी त मेरो मित जस्तै लाग्छ 
यो मन भरिको प्रित जस्तै लाग्छ 
मैले गाउन नजानेर के भो त है 
मैले गुनगुनाउने गीत जस्तै लाग्छ!!
दु:ख औंशि हुन् भने यहाँ सु:ख पुर्णिमा  
यसैले सुखदुख जीवनका रीत जस्तै लाग्छ!!
अहो फेरी हराएछु,
समय मध्यरातको भएर पनि 
दुई प्रहर रातका गए र पनि 
म छु तिमी छौ अनि 
यो सुनसान जुनेली रात छ 
आउ झर बस म नजिकै 
अझै गर्नुपर्ने मिठा बात छ!
परेलीमा लुकाउने मन छ 
यी नयन झुकाउने मन छ 
तिमी एेया भन्छौ भने  
चिमोटेर दुखाउने मन छ।। 
मनभरी गुनासाका पोका 
तिम्रैसामु फुकाउने मन छ।। 
आजफेरी केहीबेर टोलाएँ
क्षितिज माथिको त्यो जून हेर्दै!!

Saturday, July 24, 2021

सुन्छु कसैकसैले त नुन, बारी सके यार !!

मलाई आफ्नैले जालमा, पारी सके यार
धुकधुकी छँदैमा मठमा, सारी सके यार !!
 
खै कसले पुर्याएछन्, झुटका समाचारहरु  
सुन्छु कसैकसैले त नुन, बारी सके यार !!

देख्यौ नि मेरा मलामी, घाट पुगिसकेछन् 
उ हेर बाँसे खटियाबाट, झारी सके यार!!

लुछ्न लुट्न पल्किएका,ती आफन्तहरुले  
पुरानो खरबारी समेत, खारी सके यार !!  

तिमी अझै नि, चक्कुछुरीका कुरा गर्छौ 
बुझ्दैनौ मेरै सपनाहरुले, मारी सके यार !!

Saturday, July 10, 2021

भानु स्‍मृतिको उपलक्ष्यमा

तनहुँ प्यारो रम्घा गाउँ उसैमा जन्मेका भानु 
लेकबेंसी बगर गोठाला गर्दै हुर्केका ती भानु!!
मेलापात पूजा भजनमा शिलोक ति गाउँदथे 
ब्रम्हज्ञान थियो उनी सङ्ग त्रिलोक नै जान्दथे!!

श्रीकृष्ण थिए जो पितामह दुनियाँले पुज्दथे   
उनैको दिब्यज्ञान भानुले सब संस्कृत बुज्दथे!!    
उल्था गरे सरल लयमा संस्कृतको रामायण 
नेपाली भाषा बिज्ञानमा पुरस्कृतको रामायण!!

छोटा मिठा चिरिच्याट्ट लयका कविताहरु लेखेर 
सुनाउँथे जनमा तत्काल श्लोकलहरी वरिपरी देखेर!!
बाँसको सपेटामा बाँसैको लेखनी मोसोको मसीले 
अनेकौं ग्रन्थ सालको खोटो बाली भावका कसीले!!

दिए 'आदिकवी'उपाधि मोतीले १९४८ सालमा  
सजिलो कहाँ थियो र राणाहरुको त्यो कालमा!!
उनका पनि त खोसिए जागिर लान्छना लगाई
बिताए काल कठोरीमा पल परन्तु ज्ञान जगाई !!

लालित्य सरलता विचारका मिठास छन् कृतिमा   
जानी नजानी एतिसम्म लेखेँ उनको यो स्‍मृतिमा 
नभुलौं नेपाली जनले कदापी भाषा यो संस्कृति          
रहेसम्म ब्रम्हाण्ड मानवजाती अनि हाम्रो प्रकृति!!   
----------------------------------
प्रेमप्रकाश पौडेल 
रामपुर चितवन 

Thursday, July 8, 2021

प्रमोद अधिकारीको गजल

न पग्लिने नौनी रहिछौ मेरो ताप खेर गए  
जवानीका मौशम हिउँद बर्षा राप खेर गए !!

न नजिक बस्न दियौ न टाढा रहन आखिर 
लागे लाग्थ्यो मलाई बरु ति पाप खेर गए !!

यता प्यासमा म हुने तिमीले कुवा लुकाउने 
तिम्रा बहेली खेल्ने खोलिका ढाप खेर गए !!

जहाँँ भन्छ्यौ त्यहीँ जसरी भन्छ्यौ त्यसरी 
दिन्थें कोमल दस औंलाका छाप खेर गए !!

चल्नै दिईनौ ईन्जन खिया लागे पाटपुर्जामा 
त्यही गतिमा चल्थ्यो मोटर चाप खेर गए !! 
---------
रेक्याभिक आइसल्याण्ड  

पञ्चाङ्ग

 पञ्चाङ्ग 
जान अन्जानमा साना ठूला भूल भए 
केही तिखा काँडा केही प्यारा फूल भए 
'जिन्दगी' हो बाचुन्जेलको महासागर 
कतै यी आँखाका पानी कतै धूल भए 
कहिं मुटुका ढुक् ढुकी कहिं शूल भए।। 
-आफन्त 

आफन्तको १ डाली कोपिला

१, 
निकै दौड धुप छ जिन्दगीमा 
बाहिर सडकमा मै'राम्राहरुको आज 
आफ्नो त न रुप छ जिन्दगीमा।। 
२, 
त्यो पूरानो टुकीले झस्कायो आज 
त्यो मट्टितेलको बास्ना अनि सुतिको दार  
मिठा मिठा यादले चस्कायो आज।। 
३,
भेटिन्छन् कि राम छाती चिर्ने मन छ
किन भन्छौ त मलाई नास्तिक भनेर सधैं 
लक्ष्मणले झैँ धनुष भिर्ने मन छ।। 
४, 
कति सुन्नु सधैं त्यही मन्त्रिका भाषन  
एस्तै छ हालत देशको चोरले सिट्टी बजाउँछ  
भाषन सुनि चुल्होमा पाक्दैन राशन।। 
५, 
हिजोआज पटक्कै जिउन मन लाग्दैन  
खै यो कस्तो बितृष्णा हो आफ्नै जिन्दगी सङ्ग 
जम-घटमा पनि पिउन मन लाग्दैन।।   

आफन्तका १२ शीत book

 
शीत 
चिसो 
प्रित 


मिठो।। १ 
----
चन्द्र 
दाग 
मन्द 
आग।।२ 
----
लुट्यौ 
कुट्यौ 
चुट्यौ 
फुट्यौ।।३ 
----
च्याट्ट 
मायाँ 
फ्याट्ट 
मायाँ।।४   
----
मन 
चोखो 
तन 
भोको।।५
----
आफ्नै 
सारा 
अश्रु 
धारा।।६ 
----
सु:ख 
आफ्नै 
दु:ख     
आफ्नै।।७ 
----
बैभ (व) 
लागे 
दैव 
भागे।।८ 
----
झरी 
पर्‍यो 
चरी 
मर्यो।।९  
----
घर 
भित्र 
बैरी 
मित्र।।१०
----
डुलें 
देश 
फूले 
केश।।११    
----
खल्लो 
साँझ 
झल्लो 
साथी।।१२  

आफन्तका पाँच पञ्चाङ्ग

 
१, 
आलो घाऊ देखाएर परारको भन्यौ
काला सियाईका रेखा दरारको भन्यौ  
भन्थ्यौ बुझबुझारत बाँकी केही छैन 
आफ्नै जिन्दगी किन करारको भन्यौ
किनाराको गहिराई मझ्धारको भन्यौ।।    
२, 
नहुनु थियो जे चाहिं भयो त्यो प्यार रहेछ 
मौनताको बस्तिमा झुटको बेपार रहेछ 
अरे कसले भनेको जिन्दगी मेला भनेर 
पतझड् सिङ्गारीएका खोक्रा बहार रहेछ 
ऊ मेरो मान्छे भन्नु नै यहाँ बेकार रहेछ।। 
३,
आजै सक्नु पर्ने एउटा जरुरी काम छ
कताबाट निस्कौ लौन जताततै जाम छ
बगलीमा छुरा अनि बातै बात को खात
ढुङ्गा देखे पुज्नु पर्ने न मुखमा राम छ
भोको पेट दौडी रा'छु मनभित्र माम छ।। 
४, 
निक्लुं भन्छु दबाउंछ्यौ पिरतीको दलदलमा
बाचा कसम् खुवाउंछ्यौ हर घडी पलपलमा  
उल्टो छुरा चलाऊन कस्ले सिकायो भन सानु 
राप उस्तै बढाउंछ्यौ उकालीको खलखलमा
बत्ती किन निभाउंछ्यौ उजेलीको तलतलमा।। 
५,
आफ्नो प्रचार आँफै गर्दैछु म आज 
भर्खर् भर्खर् त बामे सर्दैछु म आज 
उम्रेला नउम्रेला भोलिका कुरा हुन्
हेर्नु ढुङ्गामा बिऊ छर्दैछु म आज
दिनुस हात खोली तर्दैछु म आज।।  
------------------
- श्रीभक्त पौडेल'आफन्त'
सान सेबास्टियन, भास्को राज्य स्पेन  

Wednesday, June 30, 2021

गजल जस्तै

कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी ।

कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी ।

हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी ।

समिकरण यो जीवनको, नमिलेको देख्दा आज 
पहिरोको त्यो चट्टान होकी, घर्किएको देख्दाखेरी ।। 

उँदै सलल उँभै सलल, लान्छ कि त आजै   
घरीघरी यही झरी यहाँ, दर्किएको देख्दाखेरी ।।  

गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।

Saturday, June 19, 2021

आफन्तका ५ पञ्चाङ्ग

१,

भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन्

साच्चै भगवानको, मन्दिर कहाँ छन्

स्वतन्त्रताको आभाष,, हरायो साथी

वारपार गरायौ,,'लकिर' कहाँ छन्     

बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!!

२, 

नमिठै भए'नि, बात मिठा

अँधेरै भए'नि, रात मिठा 

खै केछ उनमा, थाहा छैन

सहेरै भए'नि, घात मिठा 

बेहोशै भए'नि मात मिठा !!


३, 

जिन्दगी झुर,, सपना चकनाचुर भएको बेला 

नबोलाओ है मलाई, म एकसुर भएको बेला

म जस्तो छु जहाँँ छु, नबिथोल ए आफन्त मलाई 

बिनै गल्ती सजायं,, मुटु थुरथुर भएको बेला 

कसम यो छातीमा आगो, हुरहुर भएको बेला !!


४,    

नास्तिक भएछु म,, राम बाट भरोशा हरायो  

आखिर के रहेछ,, दाम बाट भरोशा हरायो,   

वा तेरो त नामैमापनि, क्या दम छ यार भने

आज त झनै आफ्नै, नाम बाट भरोशा हरायो

छुनै छाड्यो नशाले, जाम बाट भरोशा हरायो !!


५, 

घरीघरि रिसाउने उनको,, बानी मन पर्‍यो  

रिशमा आँखाबाट बगाउने, पानी मन पर्‍यो  

मन परेपछी पर्‍यो पर्‍यो, मनै त हो रहेछ    

यो प्रेम हो जहाँ फाईदा हैन, हानी मन पर्‍यो 

साँच्चै राजकुमारी भन्दा धेरै,, रानी मन पर्‍यो।।   


Wednesday, June 16, 2021

जिन्दगीका कक्टेलहरु

समयको अन्तरालमा, हिजो जहर पिएँ 
सङ्गसङै पूरा नभएका, कैयौं रहर पिएँ।। 
 
चाहनाका स्वाद बेग्लै, सपनाका रङ्गहरु 
आखिर किन मैले?, आफ्नै नजर पिएँ।।   

सीतन बनाएँ भाग्यलाई, चट्नी समयको 
मौनता भित्रका तिनै, चिसा कहर पिएँ ।। 

कति मिठालाग्ने, जिन्दगीका कक्टेलहरु  
सराब भन्दाधेरै, बितृष्णाका नहर पिएँ ।। 

मेटिएनन् तिर्खा अझै, रीत्तिसके बोतल 
नदी मात्र त हुँदै हैन, मैले बगर पिएँ ।। 

Monday, June 14, 2021

नदी भन्दा पहिला, ढुङ्गे बगर आए!!

धेरै पछी उनका, केही खबर आए                                                                                                                थाहाछैन मनमा, कस्ता रहर आए !!

बुझेँ चोटको मज्जा, पिडामा हुन्छन् 
प्रेम सङ्गै पिडाका, मिठा जहर आए !!

मायाका याम हुन् कि मौषम हुन् यी 
एक पछी तुरुन्त, अर्का लहर आए !!

न मन मनभित्र, न पाईला स्थिर रहे 
सपनामा समेत, नौला शहर आए !!

स्वभाविक नै हो, सहनुनै पर्छ यहाँ  
नदी भन्दा पहिला, ढुङ्गे बगर आए!!      

Friday, June 4, 2021

आउ चन्द्रमा रोकेको छु एक रातका लागि

म मौनतामा छु, केही मिठा बातका लागि 
आउ चन्द्रमा रोकेको छु एक रातका लागि ।।  

चाहना त छैन हिजोआज, बेहोसीमा बस्न 
एकपटक मुस्कुराउ है, पूरानै मातका लागि ।। 

भिजुँ भिजुँ लाग्न थालेको छ, तिम्रो मायामा 
बादल बुन्दैछु प्यारका, त्यही बर्षातका लागि।।  

भुइँमा मुर्झाएछन् फूलहरु, माली हराएछ कि 
कसले चुँडेछन् कोपिला,, एक पातका लागि।। 

खै के ले पो हो, निकम्मा बनेछ आफन्त  
के नै बाँकी रह्यो र, अब बर्बादका लागि।।   

Wednesday, June 2, 2021

४ शेर

क्षमता भन्दा पनि धेरै, शोक पालेर  
हँसाउन यो दुनियाँलाई, जोक पालेर 
 
दबाब उस्तै प्रभाव, अभाव उस्तै छन् 
मेटेर नै नमेटिने अनेकौं, भोक पालेर

देख्थिस सपना जूनताराको, दिउँसो निदाई 
टिप्लास र के अब ब्यर्थैका, झोक पालेर   

छोड्दे बस्न अब त भो, मौनतामा श्री  
कोरोना भन्दा भयानक, रोग पालेर ।। 

Tuesday, June 1, 2021

बेचेर सपनाहरु, मैले रात किनेको छु song

बेचेर सपनाहरु, मैले रात किनेको छु

होश लिलाममा राखी मात किनेको छु।। 


नसोध प्रेमका परिभाषा,हारेको मान्छे म   

मायां दिएर पो,,, बर्बाद किनेको छु।।   


रोकें कैयौं सूनामी, आँसुका भेलहरु 

ओढेर अभावका घूम, बर्षात किनेको छु।। 


भुलेर भुल्नै सकिने, कस्ता यी यादहरु 

छाती दुखेको निहुँमा, आघात किनेको छु।। 


जल्न भनि पष्चातापमा, आगो किनेको छु 

चुँडिएका चङ्गाहरुको मैले, धागो किनेको छु।। 


 





 


x

Monday, May 24, 2021

गीत: मलाई नखोजे हुन्छ !!

म, आँफैमा हराएको बेला नखोजे हुन्छ 
त्यो, गुमनामहरुको बस्तिमा नसोधे हुन्छ!!
 
न भेट्छौ मेरा पाइला, न भेट्छौ छाया कतै 
उल्झनहरुमा अब, रङ्गहरु नघोले हुन्छ !!

उदास उदास छ यो मन एक्लै बसेको बेला 
बिन्ती छ हजुर, मन नलागे नबोले हुन्छ !!

काँडाका कालीनहरुमा निदाउँछु भने 
मेरै लागि भनि फूलहरु नरोजे हुन्छ !!  

न भर रह्यो न भरोशा यो जिन्दगीमा 
अनन्त यात्रामा छु मलाई नखोजे हुन्छ !! 

जिन्दगी यहाँ उसैपनि खराब, समय झनै खराब निस्क्यो

जिन्दगी यहाँ उसैपनि खराब, समय झनै खराब निस्क्यो
औषधी भनि लुकाएको झोल, के भनुँ खै सराब निस्क्यो !! 

भन्थें मर्नपाए पनि हुन्थ्यो बरु, कहिले काहीँ साथी सङ्ग  
मरेरै पनि धेरै बाँच्न मनलाग्ने, यो कस्तो लगाब निस्क्यो !!

न माटोले पुग्छ न पानीले पुग्दो रहेछ आकाश भो टाढा 
जे छ हाम्रै वरपर भनिन्थ्यो, उसैको पो अभाब निस्क्यो !!

धन, रुप, शक्तिका घमण्ड, कता हराए हराए दुनियाँमा 
हेर्नु त्यही जाबो भुसुनाको, कति डरलाग्दो रबाब निस्क्यो !! 

लड्दैछ बिज्ञान लड्दैछन् बिद्वानहरु, जित्नुछ यो महामारी 
अद्रिस्य जैविक शक्तिमाथि, मानव सभ्यताकै दवाब निस्क्यो !! 


धेरै भयो देशमा सरकार भेटिन्नन्।।

पक्ष, प्रतिपक्ष 

व्याख्या, अप-व्याख्या 

सन्तुलन, असन्तुलन्

सिफारीस्, अनुमती 

पारीत, अध्यादेश 

धारा, उपधारा 

रीट, बहस 

सडक अनि सदन 

साम्सद, अनि मन्त्री 

पदच्युत,नियुक्ती 

सपथ, कामचलाउ 

रोग, शोक, भोक 

बैठक, भत्ता, उद्घाटन 

अत्याचार असन्तुस्टी 

अभाब, दबाब

यी सब थोक भेटिन्छन् 

नियम भेटिन्छन् कार्यन्वयन भेटिन्नन्

अफिस भेटिन्छन् कर्मचारी भेटिन्नन् 

देश भेटिन्छन् सिमाना भेटिन्नन्

जनता भेटिन्छन् सरकार भेटिन्नन्

सरकार भेटिन्छन् सरोकार भेटिन्नन्

अपराध भेटिन्छन् अपराधी भेटिन्नन्

मन्दिर भेटिन्छन् धर्म भेटिन्नन्

पूजा भेटिन्छन् कर्म भेटिनन्नन् 

यो मेरो देश हो हजुर 

यहाँ सब थोक भेटिन्छन् 

र पनि केही भेटिन्नन्

लिखित भेटिन्छन् लागू भेटिन्नन्

भूमी भेटिए सार्वभौम भेटिन्नन् 

सार्वभौम भेटिए भूमी भेटिन्नन् 

काङ्ग्रेस भेटिन्छन्

कम्युनिस्ट भेटिन्छन् 

रा.प्र.पा र मधेषी भेटिन्छन्

पहाडी र हिमाली भेटिन्छन् 

नेपाली भेटिन्नन्। 

उध्योग भेटिएलान् उत्पादन भेटिन्नन् 

यो मेरो देश हो हजुर 

यहाँ सब थोक भेटिन्छन् 

र पनि केही भेटिन्नन्

पाठशाला भेटिन्छन् शिक्षा भेटिन्नन्

जोगी त भेटिन्छन् भिक्ष्या भेटिन्नन् 

हिटलर भेटिन्छन् बुद्ध भेटिन्नन्

हावा पानी भेटिन्छन् सुद्ध भेटिन्नन्   

यो मेरो देश हो हजुर 

यहाँ सब थोक भेटिन्छन् 

र पनि केही भेटिन्नन् ।। 

पुलिश भेटिन्छन् चोर भेटिन्नन् 

जुलुश भेटिन्छन् स्वोर भेटिन्नन्। 

शिन्ह दरबार, बालुवाटार 

शितल निवास, सानेपा 

बुढानिलिकण्ठ, नारायणीहिटी 

सब भेटिन्छन् 

आस भेटिन्छन् सास भेटिन्नन्

महल भेटिन्छन् बास भेटिन्नन् ।।

भाषन भेटिन्छन्न राशन भेटिन्नन् 

शाशक भेटिन्छन् शासन भेटिन्नन्, 

यो मेरो देश हो हजुर 

यहाँ सब थोक भेटिन्छन् 

र पनि केही भेटिन्नन् 

धेरै भयो देशमा सरकार भेटिन्नन्।।  



Sunday, May 23, 2021

टिपन टापन २०२१


उसलाई थाहा नभएको मात्र हो 
म उसको उसको म पहिल्यै हो ।। 

---------------------------

केही खुशी थिए मेरा,, उसैको साथ छोडी आएँ 
जोसङ्ग मैले केही प्रेम थोरै आत्मियता लिई आएँ !!
------------------
पोल्छ थाहा छ, खुशी पिडाका जर्दामा राखें
चल्तिमा हुनेपर्ने चहक, जवानी कर्जामा राखें !
चियोचर्चो गर्नेहरु गर्दै गर्छन्, भेटुन् पो कसरी  
सारा जिन्दगी त मैले, सपनाका पर्दामा राखें !!
----------------------
नजर बाटै पिय भनिन्, पिउन छाडेको बेला थियो    
अतितका धोका सम्झि, जिउन छाडेको बेला थियो ! 
रहर मरे मेरै, उदाङ्गो रातमा सब सपना उध्रिए मेरै
तिनै उध्रिएका सपनाहरु,सिउन छाडेको बेला थियो !!
________________________

भो खोज्नु पर्दैन त्यति बेला

हराई सकेको हुन्छु, भो खोज्नु पर्दैन त्यति बेला
देख्नु भयो कि कतै,भनि सोध्नु पर्दैन त्यति बेला!! 

भन्न् त कठोर छु भन्थ्यौ, मुहार लुकाएरै भएपनि 
कांतर भन्छ दुनियाँले,आँसु पोख्नु पर्दैन त्यतिबेला 

स्वतन्त्रता दिएं भन्छु म त, चाहना त्यही थियो   
मन लागेको गरेहुन्छ, मन रोज्नु पर्दैन त्यति बेला!! 
 
आउ भन्दिन कदापी, सपना र याद बनी रातमा  
टोलाई कहीं एक्लै, केही सोच्नु पर्दैन त्यति बेला!!  
 
भन्थ्यौ भगवानमा भरोषा भएन, भन म के भनुँ?
नास्तिक नै हौ भने, ढुङ्गा ढोग्नु पर्दैन त्यति बेला!! 

Friday, May 21, 2021

सिलसिला उस्तै अनि नजिर उस्तै छन्

मलमलका कुर्चिमा फेरी अर्को देखिन्छ 
अहिलेको भन्दा त केही चर्को देखिन्छ ।।

भनेको थिस् भन्नु होला तपाईंले भोलि 
शहरमा चाकडी-वाजको लर्को देखिन्छ ।।
 
धर्म त यीनको लुट नै हो थाहा छँदैछ 
हेर्दै जाउँ कुन जात कुन थर्को देखिन्छ ।।(थरको)

बिज्ञप्ती,आदेश,नियुक्ती के आउंछ जहाँ    
नबुझिने हस्ताक्षरको उस्तै धर्को देखिन्छ ।।
  
सिलसिला उस्तै अनि नजिर उस्तै छन् 
केही दिनपछी घाटको न घर्को देखिन्छ।।  (घरको) 

Wednesday, May 19, 2021

आफन्तका केही शेर

यो परानी रहुन्जेल सम्म खरानी को आषा नराख 
थाहाछैन मेरो अन्त्येस्टि सतहमा हुन्छ कि गहिराईमा ।। 

धेरै थोक सिकाउँदै छ अँध्यारोले पनि 
सलाईलाई सधैं ओभानो मै राख भनि ।। 

जरुरत थियो या थिएन एउटा कलम र कापी किनें 
बल्ल थाहाभयो कि भोकले औंलाहरु काम्दा रहेछन्।। 

तिमी तूफान र सूनामीको समाचार हेर्दै नयाँं टिभी.मा 
म नारायण गोपालका गीत सुन्दै थिएं पूरानो रेडियोमा।।

कति पियो होला है जमिनले पनि भन्नुस् त  
होस् हराएरै त होला एतीबिघ्न हल्लिएको पनि !!    

Monday, May 17, 2021

मेरा साँझहरु

जहाँ हुन्छु जतिबेला, त्यहाँ साँझ हुन्छ 
हर साँझहरु मेहफिलको, माझ हुन्छ 

सायद,
अझै म  उनको मायामा,,, अल्झेको छु 
चस्किरहने पूराना घाऊ, झैं बल्झेको छु 

थाहा छैन 
उसको यादमा हुन्छु कि ,आफ्नो बर्बादमा हुन्छु 
मिठा खुशीमा हुन्छु कि, तिता पश्चतापमा हुन्छु 

हर साँझ मलाई एकान्तमा भूल्न देउ 
पिएरै भए पनि केही पल झूल्न देउ 

त्यसैले 
साँझहरुमा मलाई, नबोलाओ साथी 
म त टोलाएं तिमीहरु, नटोलाओ साथी 











Saturday, May 15, 2021

निकै हिसाब खोज्छन् मान्छेहरु

यो कस्तो हो, मोड जिन्दगीको 
कता जाँदैछ त रोड जिन्दगीको !!

पाप, धर्म कर्म, के के हो के के 
मिल्ला र, लोडअपलोड जिन्दगीको !!

अद्रिस्य किटाणुले सभ्यतामा डस्यो 
बेकार टाउको तोडफोड जिन्दगीको !!

निकै हिसाब खोज्छन् मान्छेहरु 
न घटाऊ, न जोड जिन्दगीको !!

आज एक्कासी रोकीए धड्कन 
मृत्‍यु रहेछ, निचोड जिन्दगीको !!

म लास हुँं

हो म एक लास हुँं 
अघि सम्म त जिवित थिएं 
मेरो नाम थियो, थर थियो
त्यो पनि बिस्तारै हराउंदै 
फलानो बेड नम्बरको 
'बिरामी' नामाकरण भयो  
valencia 2018
त्यसपछी मेरो होस् हरायो 
त्यो बिचमा धेरै नामाकरण भए होलान् 
ICU को बिरामी 
त्यो कृटिकल केसको बिरामी 
एस्तै एस्तै ....
म क्रिटिकल बिरामी रहँदा 
देशमा थुप्रै परिवर्तन भए 
प्रदेशका प्रमुख पदच्युत भए 
फेरी तुरुन नियुक्ती पनि भए 
कैयौं साम्सद अपहरितमा परे या पारीए 
बुढानिलिकन्ठ, सानेपा, कता कता 
ठूला ठूला मिटिङ्ग भए 
त्यती मात्र कहाँ हो र? 
देशमा प्रधानमन्त्री पनि पदच्युत भए 
मेरो मुर्दाको मुखबाट 
अक्सिजन माक्स हटाउंदै गर्दा
नयाँ प्रधानमन्त्रिले सफत खाँदै हुनुहुन्थ्यो ।। 
के पर्छ के पर्दैन 
त्यो त उहाँलाई कन्ठस्थ थियो,
लगत्तै भन्नुभयो 
देशका हस्पिटलमा बेड अभाव छैनन् भने 
मर्नेहरु अस्पातलका प्राङ्गणमा मरेका हुन्
छि म मुर्दालाई पनि घिन लागेको छ    
म लासलाई पनि अट्टाहास हाँस्न मन लागेको 
शितलनिवास सम्झिएर 
बालुवाटार सम्झिएर।। 
कति बोल्छ यो लास भन्नुहोला 
के गर्नु हजुर 
जिउँदो हुँदा त 
अनेकन अध्यादेश ल्याएर बोल्न कहाँ दिएका थिए र? 
अहो म लास हुँं
अघि सम्म उ त्यो बेडमा थिएं 
अहिले यहाँ मिल्किएको छु 
सेतो तन्नामा लपेटिएर।
एतै कतै छु 
सायद,
फोहोर फ्याँक्ने ठाउन नजिजै हो कि  
भर्र्याङ्गका सींडी तल 
जिउँदो हुँदा सुनेको थिएं 
नेपाली सेना आउंछन् अरे   
मेरो लास उठाउन 
सलामी पनि पाउँछु अरे
अरे वाह!!
सलामी पनि ।। 
ए आओ न नेपाली सेना 
मलाई उठाओ छिट्टै  
गाह्रो भै सक्यो मलाई 
माफ गर मलाई हैन  
मेरो लासलाई। 
मेरो गन्ती भयो होला है एतिबेला सम्म त 
बेलुकिको ५ बजे मेरो गन्ती हुन्छ रे नि 
भाग्यमानी लास हुँ म 
नेपाली सेनाको सलामी पाउँछु 
स्वास्थ्य मन्त्रालयको तथ्यान्कमा 
मेरो नाम र थर चड्ने भो है। 
राजधानीको अस्पातलमा मर्न पाएं 
जिवित छिरेको थिएं 
हेर है अब लास बनेर निस्कनेछु ।। 
हो म लास हुँं 
यो मेरो मुर्दा हो।।  
देह- त्याग मुर्दा ।। 
अस्तु 
   

Wednesday, May 12, 2021

धुवाँधुवाँ छन् घाटहरु, उफ् चिहान पनि थाकिसके

ती महलहरुमा मौनता, कटेराहरुमा कहरमा छन् 
बुढी आमा भन्नुहुन्छ, सबै छोराहरु शहरमा छ्न्!!

भन्थे हिजोसम्म एकमुठी सासमा अल्झेको जीवन 
आज नाकमुख थुनी, जिन्दगी बाच्ने रहरमा छन् !!

हेर्नुस् त कस्तो दैव लाग्यो? आफ्नालाई चुडी लाने
मलामी जति पाखामा, कठै लासहरु बगरमा छन्!!

कस्ता शिलशीला कहिले सम्मका लागि जवाफ छैन  
यस्तो लाग्दैछ, मृत्‍युहरु सागरका हरेक लहरमा छन्!!

धुवाँधुवाँ छन् घाटहरु, उफ् चिहान पनि थाकिसके  
थाहा छैन भगवान, अमृतमा छन् कि जहरमा छन्!!

Monday, May 10, 2021

ट्टैथियो त्यो युग बनबासीले 'लंका' जलाए हेर्नुस् त आज शैतानले 'हाम्रो देश' चलाए ।।

 अनायस मृत्‍युका खबरले, अखबार भरिएका छन्
अझैपनि सम्सद भवनमा, ललकार भरिएका छन्

देश बन्यो प्रयोगशाला, अनेक वाद र तन्त्रहरुको 
गणतन्त्रका माला जप्नभनि, सरकार भरिएका छन्

शक्तिका पूजारीहरुले जसको, यहाँ देवत्वकरण गरे 
उहीसङ्ग आत्मप्रसंसा दम्ब, अहंकार भरिएका छन्  

न रोग छिर्छन् त्यहाँ, न त्यहाँ शोक छिर्छन् हजुर 
सत्ताका लागि रजौटाले त्यै, दरबार भरिएका छन्  

छुट्टैथियो त्यो युग बनबासीले 'लंका' जलाए 
हेर्नुस् त आज शैतानले 'हाम्रो देश' चलाए ।। 

बैशाख २७, २०७८ सोमबार 

Saturday, May 8, 2021

कल्पुको एक उदासी गजल

शहर छोड्नेहरु गाउँ पुगे पुगेनन् शहर उदास छन् 
किनार सम्म आईपुग्ने, सागरका लहर उदास छन् !!
  
बन्दगर भो अब त, अखबार रेडियो टिभीहरु पनि 
बिहान देखि साँझ सम्मका, हर खबर उदास छन् !!

थकित छन् घाटहरु, धुँवामा रुमल्लिएका जीवनहरु 
आकाश,सडक,खेतबारी ती सारा बगर उदास छन् !!

खै मान्छेले बनाए कि, बनाए बिज्ञानले नै दुनियाँमा   
आफू भन्दा बिषालु, किटाणुँ देखी जहर उदास छन् !!  

उदास उदास लाग्छन् बतास, उदास उदास बनपाखा 
उदास छे यो 'कल्पु' झनै, उसका रहर उदास छन् !!

Tuesday, May 4, 2021

एता सेतो कात्रो, उता ताम्दानी भएछ !!

कसै सङ्गको प्रेम जानी नजानी भएछ 
कैयौं सम्बन्धहरु, मनैले नमानी भएछ!!

निकै ध्यान दिएर सुन्छन्, मान्छे यहाँ  
पोख्दैथिएँ दुखेसो मिठो रूमानी भएछ !!

कसरी भनुँ, चिन्दैन मलाई यो समाजले 
दुनियाँलाई नै दिन काट्ने, कहानी भएछ!!  

केही पल सुस्ताएको थिएँ, यादहरुमा 
झस्कँदा नयनभरी, पानी पानी भएछ !!

समयले कोल्टो फेर्छ, पर्खनुपर्छ भन्थे 
एता सेतो कात्रो, उता ताम्दानी भएछ !! 
 
छ्या रुनुहुन्न तँ त छोरोमान्छे, आमाले भन्थिन् 
आज तिनै आमालाई, सम्झिरुने बानी भएछ!! 

Monday, May 3, 2021

के बिज्ञान पनि हारेकै हो त?

 के बिज्ञान पनि हारेकै हो त?
------------------------------
अहो!
यी कस्ता महोत्सबहरु 
मान्छेले नै मनाउनु पर्ने 
मान्छेकै मृत्‍युका महोत्सबहरु 
हो मृत्‍युका महोत्सबहरु,
कङ्गाल बस्तिहरुमा पल्किसकेका 
चण्डाल भुशुनाहरुको तान्डब 
तिनै भुसुनाका नाममा 
अघोशित मृत्‍यु सङ्गका युद्दहरु 
जहाँ मान्छेहरु हार्दैछन्
एस्तो लाग्छ 
भगवानहरु समेत हार्दैछन्
नियमित आउने कालरुपि
यमराजहरु पनि हार्दैछन्
हार्दैछन् बिद्ध्वानहरु 
अनि हार्दैछ
बिज्ञान पनि 
नतमस्तक छ बिज्ञान 
अणुबम र शक्तिशाली क्षेप्यास्त्र बनाउने बिज्ञान 
रातारात विश्व संरचना ध्वस्त बनाउने परिकल्पनाकारहरु 
हारिरहेका छन् , अताली रहेका छन्। 
केवल एक अद्रिस्य भुसुना सङ्ग।। 
चिहान रुन थालेको छ  
घाटहरु रुन थालएका छन्
थेग्न नसक्ने मुर्दाहरु 
मुर्दाघर मात्र हैनन्
सडक भरिएका छन् । 
न मन्दिर, न मस्जिद, न गिर्जा घर 
कतै उघारिएका छैनन्
ढोका अनि झ्यालहरु 
मानव सभ्यता माथि नै आएको यो संकटलाई 
बुझ्ने पो कसले हो? 
मान्छे त थकित छन् नै 
के बिज्ञान पनि हारेकै हो त? 

Sunday, May 2, 2021

समसामयिक् रचना

 ती महल यी झुपडीमा, रोग अनि काल उस्तै थियो
सडकमा पर्खिएका लासमाथिका, त्रिपाल उस्तै थियो

बिज्ञानले कहिल्यै हार्दैन भन्नुहुन्थ्यो बिज्ञान पढाउने गुरु
तर हाम्रालागि भने पूरानो र नयाँ साल उस्तै थियो

निर्दयी भए भगवान पनि टुलुटुलु हेर्छन् मन्दिर बाट
दुनियाँमा मृत्‍युको तान्डब जताततै बेहाल उस्तै थियो 

--------------------

हेर्नु भो नि शिंहदरबार, र शितल निवासमा झ्याल उस्तै छन्
रङ्गमात्रै फरक हुन् के हजुर, नयाँ र पुराना स्याल उस्तै छन्
संघियता त एउटा कमन्डलु रहेछ, मागिखाने थलो बन्यो देश 
सातै सातै प्रदेशका स्यालहरुको, दिमाग अनि र्याल उस्तै छन्

पलभरको साथ पलभरको यात्रा रहेछ song

सहनेछु चोटहरु थप्दै थप्दै जाऊ तिमी 
बानी परिसकेको साथमा मलहम बोकेर हिंड्ने 

पोख्नेछु बेथाहरु गीत कविता गजलहरुमा 
कोर्न भनि सधैं कापी र कलम बोकेर हिंड्ने 

दिन्छु परिभाषा सोध जीवन र माया के हो 
सुनाउँछु सुन त्यो घाम र यो छायाँ के हो 

पोल्दैनन् झिल्कोले, राँको र आगोले पनि   
बानी परिसकेको छ मुटुमा जलन बोकेर हिंड्ने 

पलभरको साथ पलभरको यात्रा रहेछ  
बानीछैन हिजोआज बाचा कसम बोकेर हिंड्ने 

Tuesday, April 27, 2021

कल्पुको एक फरक सृजना

धन्न चल्दैछन् यी घडीहरु, समय रोकिएको छैन 
रोकिएमा के हुन्छ होला, अझै सोचिएको छैन !!

शायद, यही नै शिलशिला हो, प्रकृतिको यहाँ 
कहिले रोकिन्छस् तँ, भनि कतै सोधिएको छैन !!

प्राण छ वायुसङ्ग, अनि जीवनका अस्तित्व पनि 
रोकिएमा चल्न वायु, बिकल्प खोजिएको छैन !!
 
के थाहा, स्वार्थमा चलेकोछ जिन्दगी एसैपनि 
जहाँं असत्य छोडि, सत्य कतै रोजिएको छैन !!

रे रे मा चल्छ कानुन्, दैव-भरोषामा छ राज्य 
'गु' हो कि 'गोबर'छ्या त्यो घोचिएको छैन !!

Sunday, April 25, 2021

गजल 'कल्पु' को

बेकारका मान्छेहरु सङ्ग, म बोल्नै चाहन्न 
भो कर नगर म कुनै कुरा खोल्नै चाहन्न ।।

नितान्त पृथक छन्, मेरा परिवेशहरु यहाँ 
जहाँ असमन्जस्यका, रङ्गहरु घोल्नै चाहन्न ।। 

हराउन देउ मलाई अब, मेरै मौनता भित्र 
छाडेर यी मौनता, ती कहर रोज्नै चाहन्न ।।    

बुझ्दछु म मान्छेहरुका, कपट अनि छुद्रता 
के, किन, कस्को, कसरी, सोध्नै चाहन्न ।। 

जलेहुन्छ जल्नेहरु,'कल्पु'का शब्दहरु सङ्ग 
'विश्व-शान्ती'बाहेक, अन्य केही सोच्नै चाहन्न ।।  

Monday, April 19, 2021

मौनता

मेरा आवाज रोक्ने,, सरकार छदैछ
मेरा मौनतालाई रोकेर देखाउ साथी।।  

तिमीले बेकारमा रोक्यौ बोलिका आगहरु 
आज मलाई तिम्रै मौनताले जलायो प्रिया!!

मौनता स्विकृतिको आवाज हो, भन्थेँ म आफैँ 
थाहाछैन एतिधेरै दोधारहरु, कहाँबाट आउंछन्?

ती चुपचाप मैले चुपचाप सहिरहें       
मौनता पछिका बिष्फोट सहन सकिन !! 
 
नबोलेरै धेरै बोल्ने, बन्द ओठहरु उनका, सुन्दै थिएं 
कस्तो हो यो उल्झन, त्यो मौनता मैले बुझ्न सकिन ।। 

कल्पुको एक अर्को गजल

नसोध्नु भो जे जसो तसो, चल्दैछ जिन्दगी 
कहर र रहरको तेलमा नै,, बल्दैछ जिन्दगी ।। 

समयकै झेल होकि, भाग्यको खेल हो कुन्नी 
त्यही मैदानमा उठ्दैछ फेरी, ढल्दैछ जिन्दगी ।। 

न बेल पाक्यो न काग रमायो, घाम ढल्कीरह्यो  
फत्याक फुतुक्कै कर्कलो जस्तै, गल्दैछ जिन्दगी।। 

दोशपनि कसलाई पो दिनु, सबै आफ्नै लाग्ने  
हेर्नुस त आफ्नै छायाँले झैँ, छल्दैछ जिन्दगी ।। 

न घाऊ छन् न चोट देखिन्छन्, र पनि पिडा    
के भनुँ म 'कल्पु' आफैँसङ्ग, जल्दैछ जिन्दगी।।   

त्यही मायामा पनि प्रति-घात भेटिन्छन्

न चस्केर दुख्छ
न झस्केर दुख्छ
हिजोआज मुटु
अनायसै दुख्छ।।
न किल भेटिन्छन्
न खिल भेटिन्छन्
अनायसै आँखामा
झिल भेटिन्छन् ।।
न घाउ भेटिन्छन्
न खत भेटिन्छन्
अनेक बहानामा
पिउने लत भेटिन्छन् ।।
न रुख भेटिन्छ्न्
न छायां भेटिन्छन्
सम्हाली नसक्नु
माया भेटिन्छन् ।।
चलन एस्तै छन्
यहाँ दिन भेटिन्छन्
वहि रात भेटिन्छन्
त्यही मायामा पनि
प्रति-घात भेटिन्छन् ।।

Monday, April 12, 2021

गीत /गजल: लागेन खै पाप कसैलाई भूलिजाने धेरै थिए

लागेन खै पाप कसैलाई भूलिजाने धेरै थिए 
चुँडेको भए हुन्थ्यो कि, फूलिजाने धेरै थिए!!

सकिन खै मायाजालमा, समातेर राख्न मैले  
लाजको सारा पर्दा हटाई, खुलिजाने धेरै थिए!!  

जानिन रे त पिउन मैले, ति नजरका मातहरु  
प्रेम हो है भन्दै बासनामा, झुलिजाने धेरै थिए!!

मोहनी नै हो कि कुन्नि, नतमस्तक बनाए झैँ  
झुटहरुलाई  छातीभित्र , हुलिजाने धेरै थिए!!   

खुला थिए तगाराहरु, पसिदिन्थे जोकोही आई
यो चोखो मनको बगानमा, डुलिजाने धेरै थिए!!  
 

Sunday, April 4, 2021

सायद 'कशिस' भन्छन्, उर्दूका कविहरु

तिम्रा हेराइले नै मर्छु,, कुराका के कुरा 
तिखा परेली छन् उस्तै, छुराका के कुरा 

टिकाले लोभ्याउँछ, गाजलले मोहित पार्छ 
अनुहारमै अल्झन्छु म,, चुराका के कुरा

सक्दिन गर्न बर्णन, लेखि गजल कवितामा 
ती अधुरा मुस्कान काफी, पुराका के कुरा   

सायद 'कशिस' भन्छन्, उर्दूका कविहरु  
पिलाउँछ्यौ त नजरबाटै, सुराका के कुरा 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...