Saturday, March 19, 2016

मिल्छ भने नआइज ए नयाँ बर्ष


पटक पटकका पराकम्पनले
ब्युँझिएका अनिदारातहरु
आँखाको बिष मरेका छैनन्
को निदाएको छ र अझै?
त्रसित शहर त्रसित रहर  
त्रसित छ मन अझै
सम्झिएर पोहोरको नयाँ बर्ष,

कहिले मध्यान्ह कहिले मध्यरात
थकित मनहरुलाई थप थकित पार्दै
हल्लि रह्यो हल्लाइ रह्यो
हल्लाइ रहेको छ अझै,
सम्झिएर पोहोरको नयाँ बर्ष
त्रशित छ मन अझै !

हो नि, पोहोरको नयाँ बर्ष
तगारो छिचोलेर आङ्गन नकट्दै,
प्राकृतिक अफसोचहरुको भेल लिएर आइस
हाम्रा प्रकृतिक छटाहरुमा चिराचीरा पार्दै
हो नि त्यसैले
त्रसित छ मन अझै,

ढुङ्गा र पत्थरले थिचे थुप्रै
जिउँदा सपनाहरु
धरोहरहरु खन्डहर बने भने
केहीक्षण त निमिट्यान्न भए
भगवान, आस्था र भावनाहरु,

पोहोर कति निस्ठुर भैस है नयाँ बर्ष?
त्यसैले त मन अझै
त्रसित छ
तेरा कम्पनहरु भन्दा धेरै
मृत्यु सँग पैंठेजोरी खोज्ने
गोर्खाली छातीहरुलाई
धेरै चस्काइस नि 'बैशाख'।

दोधारमा छु म
अनि ओढारमा पनि
त्यसैले त
दोमनमा छु
कहाँ जाउँ दोभानमा छु
मनाउन नयाँ बर्ष यसपालि
फेरि ढलाउनेहोस् कि
बाँकी रहेका सपनाका महलहरु
मिल्छ भने न आइज ए नयाँ बर्ष !  





No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...