Wednesday, March 2, 2016

ए अामा




    
कल्पना पौडेल आचार्य "नानी" 

-------------
सक्छ्यौ ??
ए आमा!
फर्काइ देउ मेरा बालपनहरु
तिम्रा काखमा निदाउन चाहन्छु
को खाइ को खाइ नानी हाम्म !!
तिम्रै हातबाट बुबु माम् खान चाहन्छु,
आज फेरि
तिम्रा रङ्गिन पोतेहरुमा झुन्डिएर
तिनै पोतेहरु चुंडाल्न चाहन्छु,
नुनु गर नानी, नुनु गर
मातृत्वका स्वरमा लोरी सुन्न चाहन्छु
किन कि यो परदेशमा
ननिदाएको धेरै भैसकेको छ।
सक्छ्यौ ??
ए आमा!
आउ बोक मलाई
पटुकिको र मजेत्रोको आडमा
थाकिसकेको छु म
चल्न नसक्ने भएको छु म आज,
छिर्कने हान्नेहरुको भिडमा
छिचोल्न सकिरहेको छैन,
नभए पनि तिम्रो चोर औंला देउ मलाई
त्यही समाएर हिंड्न चाहन्छु
ताते ताते !!
आउ आज फेरि
मेरो अनुहार माथि झोलुङ्गोमा
एउटा रातो फूल झुन्ड्याइदेउ,
किन कि निराश भैसकेका छन्
मेरा आँखाहरु धुवाँ र धुलो देख्दा देख्दै।
ए आमा!
उप्काउन चाहन्छु तिम्रा राता टिकीहरु
सुन्न चाहन्छु राता चुराहरुको छिन्छिन्।
कहिल्यै नथाक्ने तिम्रा हत्केलामा
थिर्‍ थिर्‍ नानी, थिर्‍ थिर्‍
उभिन चाहन्छु,
टाढैबाट चिन्न सक्ने
तिम्रा गुन्युहरुमा लोटपोट भएर
खेल्न चाहन्छु,
काउबुडी काउबुडी !
खै मैले त हांस्न बिर्सिसकेको छु
आएर लगाउ मेरो पेटमा
कि म खित्का छोडेर हांस्न चाहन्छु।
आउ लगाउ आज फेरि
मेरो निधारमा कालो टिका
कि कसैको म नारी माथि
गिद्धे नजर नलागोस्।
भोक लागेको छ आमा
मेथी पड्काएको
अङ्गेनामा गूद्गगूद् पाकेको
नरम जाउलो लिएर आउ।
संसार देखिसकेका मेरा आँखाहरुले
आज तिम्रो उही गाजलु नयन
लाली लत्पतिएका ओठका
मायालु मुस्कान हेर्न चाहन्छु।
ए आमा!
सक्छ्यौ आउ,
आज म पनि
तोते भाषामा
पूराना यादहरु सुनाउन चाहन्छु।
-------------
कल्पना पौडेल आचार्य (नानी)
चितवन रामपुर 
तस्बिर: भद्र थापा, फेसबुक मित्र

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...