Thursday, March 24, 2016

म र मेरा शब्दहरु

म र मेरा शब्दहरु

बोल्दिन म मेरा शब्द बोल्छन्
बहिरा हौ, अन्धा त छैनौ नि !!
कि अन्धा पनि भयौ साथि ?
ब्रेनलिपी सिक्नेछु तिम्रा लागि,
तिमी तयार मात्र बन
म हरेक तिकडम् लगाएर
जिन्दगी पढाउने छु।

जिन्दगीका क ख रा
ज बाट सुरु भएपनि
म जरा सम्म खोतल्नेछु जिन्दगीका।।
हो, म अनपढ छु र पनि
सर्बज्ञानी बनाएको छ
जिन्दगीले नै,

भनिहालें नि
बोल्दिन म,
मेरा शब्द बोल्छन्
बहिरा र अन्धा नै भए पनि
स्पर्शहरुमा बोल्छन् मेरा शब्दहरु
हो चेतनशिल छन् मेरा शब्दहरु
चेतनाले भरिएका छन् मेरा शब्दहरु
केलाएर पढ, स्पर्शमा पढ,
बिन्ती अनादार नगर मेरा शब्दहरु
किन कि
किन कि तिमीलाई धेरै आदर गर्छ
तिमी अक्षर हौ, मेरा शब्दहरुका।।

अब सोध मलाई
जिन्दगी के हो? भनेर
म पढाउँदै छु,
जसरी बुझ्छौ बुझ
स्पर्शमा वा भावनामा,
हो, जिन्दगी शब्द हो
केलाएर बुझ
तात्तातो छ सेलाएर बुझ।
कतै आङ्गनका बिस्कुन जस्तै छन्
चलाएर बुझ,
कतै सारङ्गीका तार जस्तै
रेटेर बुझ।
बुझ्न् सक्दैनौ हार नखाउ,
सजिलो माध्यम छ
सङ्गित भरेर सुन जिन्दगीमा
आँफै गुनगुनाउन सक्छौ
भमरा झैं भुनभुनाउन सक्छौ
जिन्दगीकै बगानहरुमा।

आउ बुझ मलाई
म अर्थात एउटा जिन्दगी
एेनामा हेर अर्को म देख्नेछौ
जे देख्ने छौ त्यही नै हो
तिम्रो मेरो जिन्दगी,

बोल्दिन म मेरा शब्द बोल्छन्
बहिरा हौ, अन्धा त छैनौ नि !!
कि अन्धा पनि भयौ साथि ?
ब्रेनलिपी सिक्नेछु तिम्रा लागि,
तिमी तयार मात्र बन
म हरेक तिकडम् लगाएर
जिन्दगी पढाउने छु।
------------

अस्तु
कल्पना पौडेल आचार्य "नानी"
चितवन रामपुर

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...