Thursday, February 5, 2015

जिन्दगी बग्दो रहेछ.......

आज कसैले फेसबुकको भित्तामा लेखेको पाएं : लाग्छ जिन्दगीमा धेरै सपनाहरु अधुरो नै हुदारहेछन्¨,वास्तवमा जिन्दगीका सपनाहरु मात्र होइनन् जिन्दगीका कैयौ यस्ता तिता मिठा पलहरु अधुरा रहन्छन् कि हामीले महशुस नै गर्न भुल्दो रहेछौं। सुरुवात गर्दा रहेछौ तर नतिजा देखिनु अगाडि नै हामी भाग्दा रहेछौ अर्थात हामी देखे पनि नदेखे जस्तो याद र सम्झना आए पनि वास्तै नगरी अगाडि बढीरहेका हुँदा रहेछौं। तर त्यही अधुरा पलले जिन्दगीका कुनै एस्ता मोडहरुमा चसक्क घोच्दो रहेछ कि एक पटक तिनै अधुरा छाडी आएका पलहरुमा रमाउन मन लाग्दो रहेछ। हो सपना भन्ने शब्द त आँफैमा अधुरो हुन्छ केवल क्षणिक हो सिनेमाको पर्दामा झै। आफु निदाइन्जेल रमाइलो ब्युंझे पछी उही चिसो सिरानी र खाली खाली यादहरु। तर पनि कैयौ एस्ता अधुरा सानातिना लाग्ने या भनु मुल्यबिहिन भावना र मित्रता जुन अधुरो सिनेमा, अधुरा कथा र कहिल्यै पुरा नहुने आधुनिक कबिताहरु जस्तै रही रहने रहेछन्। तर पनि जिन्दगी बग्दो रहेछ सिमसार बाट निस्केको सानो कुलोको कन्चन पानी झै हलहलेको जरा हुँदै। कोही फर्कन्छन् पुरा गर्न भने कोही बिर्सन्छन् ति पुराना अधुरालाई पुरा गर्न र सजाउन। मायामा,मित्रतामा,यात्रामा, पढाईमा चाहे अन्य कुनै क्षेत्रमा, मेरो त झनै जीवनमा कैयौं यस्ता अधुरा अपुरा दास्तान (कथा) छन कि लेखेर मैले त सक्दा पनि सक्दिन र अब त पुरा गर्न पनि सक्दिन म, किन कि कतै समयले त कतै दुरिले भने कतै भावनाले त कतै कर्तब्यले अपाङ्ग बनाइसकेको छ मलाई। तर पनि बिर्सेंको छैन मैले मेरा प्यारा तर अधुरा अपुरा मेरा जीवन सँग मितेरी लगाइसकेका तिनै तिता-मिठापलहरु। दोश म आफुलाई मात्र पनि दिन्न आज किन कि गल्ती मात्र नभएर बाध्यता र परिस्थितीले पनि उत्तिकै जोड गरेको थियो र गर्दैछ पनि। कतै चाहेर पनि पुरा गर्न सकिन भने कतै चाहना नै अपुरा भएपछी कस्को के लाग्दो रहेछ र? कतै पात्रले चिनेन् मलाई भने कतै कथाले मागेन मलाई। त्यसैले त समयले निर्देशित गरेको ति कहानीहरु प्राय अधुरा र अपुरा नै रहे सपना सरह। थाहा छैन जिन्दगीको यो क्षणमा किन हो मलाई तिनै अधुरा कहानीको याद आएको छ।
--------------------------
कसले भनेको भिडमा एक्लो होइन्न भनेर, खै त आजभोलि एस्तो लाग्छ कि म नितान्त एक्लो छु यद्यपी म भिडमा नै हुन्छु। मैले केही सुनेको हुन्न न मलाई भिडले सुनेको हुन्छ न भिडले मलाई चिनेको हुन्छ। भिड जता जान्छ म त्यतै हिंडेको हुन्छु तर यस्तो लाग्छ हाम्रो गन्तब्य फरक छ उत्तर दक्षिण जस्तै। म भिडलाई कोट्याउंछु चिमोट्छु तर भिड पनि म जस्तै पत्थर बनेको झै लाग्छ। कहिले कही त च्यांट्ठिएर चर्को चर्को स्वर मा कराउन मन लाग्छ। आखिर भिडले नै सुन्दैन भने मेरो चित्कारको के काम। होस् चुपचाप भिडमै हराइरहन्छु एक गुमनाम यात्री सरह। रङ्गिन भिडमा म श्याम-स्वेत हुन्छु किन कि मलाई घुस्नु छ त्यहा बिलिन हुनुछ वही।
------------------------
अहो कस्तो अल्छि लागेको आज बाहिर हिउँ परेर सेताम्य छ तर हिउँ खेल्न जाने जागर पनि छैन रहर पनि छैन, कुनै बेलामा फूलचोकिको डाँडामा रमाए भने कुनै बेलामा स्विजरल्यान्ड्को पाखामा भने कुनै बेला जापानको हिउँ सँग रमाएं। सेतो छ चिसो हुन्छ हिउँ बस एती नै काफी छ।
--------------------------
17 February 2015

सपनाहरु बास बसे, जिन्दगीको मझेरिमा
सबेरै उठि हिंड्नुपर्ने, झिस्मिसेको अधेरिमा !

सांच्चै नै लाग्दैछ आजभोलि जिन्दगीका सपनाहरु रात नपर्दै बास बस्न थालेका छन्। सँगै हिंड्न पनि डराउन थालेका छन्। सधैं तातेताते हात समाएर हिंड्ने र हिंड्न सिकाउने सपनाहरु बेंसिको चौतारो सम्म पुग्न पनि मान्दैनन्। के गरुन बिचरा सपनाहरु न कहिले पुरा हुन सकेका छन्। न कहिल्यै खुशीमा रमाउन नै। रात अन्धेरिले खान्छ दिन उजेलोले निल्छ भने झै कतै पनि सुस्ताउन पाएका छैनन् मेरा सपनाहरु। थकित छन् पाइला निरस छ आफ्नै अनुहार भने कसरी खुशी दिन सक्छु र म मेरा सपनाहरुलाई। लक्ष्य र गन्तब्य फरक पर्दै गएपछी कसको के लाग्दो रहेछ र?
------------------------
आज फेरी मन एक्कासी बेचैन भएर आयो। मन अस्थिर भएर आयो। उकुसमुकुस भएजस्तो भित्रबाटै अतित र बर्तमानले कोक्काए जस्तो भएर आयो।डांको छोडेर रुन पनि सक्दिन हांस्न पनि सक्दिन। अधुरा र अपुरा दिवा स्वप्नहरु मात्र नभै स्वभाविक जिन्दगीका उथलपुथलले सांच्चै  सुनामिले प्रहार गरेजस्तो लागेको छ बिना ज्वारभाटा नै। देखिदैनन् घाउहरु चहर्याइरहेका छन् पोलिरहेका छन् नमिठो गरी दुखिरहेका छन्। शान्त हुन एक गिलास चिसो पानी पिउछु घाटी भिजाउछु तर मनले कत्तिपनि सितलताको अनुभब गर्न सक्दैन।कतै ढांटेर हिंडियो सम्बन्ध, आफन्त र नाता फटाएर पनि हिंडियो, आखिर किन? किन आज साउनको भेलले छोडेको मुढा जस्तै मिल्किएको छ जिन्दगी? बेबारिसे लास जस्तै लडेको छ जिन्दगी? आँफै चल्नु पर्ने आफ्नै जीवनअका अबिछिन्न्न गतिहरुलाई किन घिसार्दै छु म? किन समय मेरो पक्षमा चल्दैन? के दोश छ आखिर मेरो? सतहमा चल्न खोज्दा भुमरी चल्छ गहिराहिमा चल्न खोज्दा पहिरो,,के यही नै हो त जिन्दगी? मेरो जिन्दगी? यस्तै यस्तै सोचाइमा छ मन। चलेको हुन्छ, बलेको हुन्छ जलेको पनि हुन्छ, किन स्थिर हुन सक्दैन यो मन? मेरो मन। कैयौं पल्ट कोशीस गर्छु थुम्थुम्याउन खोज्छु मन तर धड्कन बढाउछ यो मन। बुझ्दै बुझ्दैन या बुझ्न कत्तिपनि खोज्दैन यो मन मलाई अनि मेरो परिस्थितीलाई। हुन पनि कती दोश दिउ म मेरो मनलाई,यो बेजान मनलाई?
फाल्गुन ८,२०७१ शुक्रबार
------------------------------
20 may 2015, wednesday at EPA Herrera
घरिघरी तर्साउने कम्पनहरुले, स्थिर मनलाई झस्काउंछ। चाहेर होस् या नचाहेर नै होस् आजभोलि मन तर्सिरहेकै हुन्छ। शायद प्रक्रिती र नमिठो समयको झट्काले धक्काले होला कदमहरु हल्लिरहेका हुन्छन। न मन स्थिर छ न कदमहरु नै हुन त सारा शहर नै कापेको बेला जती कठोर बलियो भने पनि यो मन कांपेकै हुन्छ। धुलो,धुवा चित्कार अनि भग्नावेशहरुमा रुमल्लिएका जीवन र जिन्दगीहरु देख्देख्दै  पनि आखिर मन नै त रहेछ कहाँ मान्दो रहेछ र? कती मतलवी हुन थालेको छ यो मन पनि मेरो मात्रै होकी अर्काको पनि होला कुन्नी? हुन त बानी परिसकेकाहरुको त के कुरा न तिनका मन रुन्छ न मुटु नै दुख्छ। 

क्रमस ....


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...