Monday, February 23, 2015

रित्ता क्यान्भासहरु

रित्ता क्यान्भासहरु मन पर्न थालेको छन् आजभोली मलाई। खै किन हो कुन्नी आफ्ना लाग्छन् यी रित्ता क्यान्भासहरु। न कुनै रङ्ग न कुनै तस्बिर, न कुनै तेलिय तरङ्ग नै तैरिरहेका हुन्छन् तर पनि म धेरै बिम्बहरु देख्छु, आधारहरु देख्छु अनि डुब्दै गरेकाहरुको लागि त्यान्द्रो सहारा भनेझै सहाराको एक लिस्नो भेट्छु। धमिलिएका अतित लाग्ने बर्तमान देख्छु म खाली रित्ता क्यान्भासका पन्नाहरुमा। न चित्रकारले केही कोरेको हुन्छ न कुनै रेखाङ्कित आकृति नै तर पनि म त्यहा सिङ्गो संसार पाउछु। अभिलाषा बोकेर उदाउँदै गरेको सुर्य अनि त्यही सुर्य सारा पश्चिमी क्षितिजलाई सुनौलो र रङ्गिन तर आँफै थकितभएर मतलबी दुनियाँ बाट ओझल पर्दै गरेको द्रिस्य देख्छु। शरदका चहक जुनेली रातहरु अनि सावनका अध्यारा रातहरु पनि म त्यही देख्छु। म कबी होइन म पागल पनि होइन तर म सबै थोक त्यही देख्छु। समानान्तर रेखाहरुले (उतार चढाव् बिना) बनेका आँखा सामुन्ने ठोक्किन आउने बर्तमान होस् या ति रेखाहरुलाई काटने छेदक म तिनै खाली क्यान्भासमा देख्छु।

एक छुट्टै अनुभुती गर्छु म खाली क्यान्भासहरु हेरेर प्याला का प्याला नशाले नदिने मात र मादकता म पिउछु ति खाली क्यान्भासहरुबाट मेरा बैशालु नजरहरुले सायद। एक मन त लाग्छ आँफै केही रङ्गहरु भर्दुं। तर जिन्दगीमा सिसाकलम नचलाएका यी हातहरुले खै के पो कोर्ने हुन् कसरी पो कोर्ने हुन? अह हुँदैन म खाली ति रित्ता क्यान्भासहरु मैलाउन चाहन्न। किन कि त्यो सेतो सादगीमा म आफ्नो जीवनका ब्यालेडहरु कोरिएको पाउंछु, मिठा मिठा धुनहरु सजिएको पाउंछु। जमिन र आकाश जोड्ने त्यो काल्पनिक रेखामा म आँफै पिङ्ग खेलिरहेको छु कि जस्तै लाग्छ भने सेता बायुपन्खी घोडामा मायालुलाई बोकेर उन्डिरहेको छु जस्तो लाग्छ। आखिर खै के छ यी(ती) रित्ता क्यान्भासहरुमा न कुनै चित्र छ न कुनै सचित्र कबिता नै।तर म त्यहीं केही न केही पढिरहेको हुन्छु, एक मुर्तिकार आफ्नै शिपमा मख्ख परेको झै या भनु जर्ज बर्नाड शा को एक पात्र पिग्मालिअन झै, हो म एक नव दुलही ठुलो एेनामा टोलाए झैँ टोलाउछु किन कि त्यहा प्रतिबिम्बित छन् मेरा भावभिङ्गिहरु। फूलेका राता गुलाबहरु हुन् या झरेका पारीजातका मेहकहरु म सबै त्यहिं लिन्छु तर टिप्न चाहन्न अघिनै भनिहालें नि म मैलाउन्न चाहन्न ति सेता पन्नाहरु। निला समुन्द्र अनि समुन्द्र छेउमा रहेका टल्कने किनाराहरु जहाँ स्वतन्त्र घुमेका सि ईगल् (सामुन्द्रिक चिल्) अनि घमाइलो दिनमा वहिं मायालुको काखमा निदाएका मायालुहरु अहो कति रोमान्टिक भएछु म, म त्यही देख्छु। मलाई बाहिर दुनियाँ फिटिक्कै मन पर्नै छाडेको छ। आमाको काखमा निदाएको एक बालक झै म तिनै रित्ता क्यान्भासहरुमा निदाउन सक्छु। यस्तो लाग्छ म तिनै रित्ता क्यान्भासहरु हेर्दै जिन्दगीका र जीवनमा  बाटो भुलेका यात्रीहरुलाइ सल्लाह नै दिन सक्छु। 

अहो आज यो मन फेरी बहकिएछ।। 

२४ फेब्रुवरी,२०१५ 
मंगलबार 
स्पेन 
०१:२० बिहान  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...