Thursday, April 14, 2016

लघुकथा ------ भुसाको ठुटो


"काले, यो भुसाको ठुटोलाई अगुल्टोमा झोसेर ले आ'त"।
 आङ्गनमा खेलिरहेको छोरोलाई धियांल बाजेले काम लगाए। कालेले पनि बा को हातबाट सालको पातमा बेरेको मोटो बिंडी जस्तै लाई लिएर भित्र पस्यो। म हेरिरहेको थिएं, धियांलबाजे गाउँको मुखिया नै थिए। झारफुक देखि लिएर आमा समूहको सम्पूर्ण काम उनी आँफै गर्थे, किन नगरुन त गाउँमा पढेलेखेका उनी मात्रै थिए भन्दा पनि हुने थियो। रिटायर्ड नेपाली लाहुरे, लेबनान शान्तीसेना गएर फर्किएका।निकै फुर्तिला धियांल बाजे। बिहान एक हल मेलो जोतेर दिउंसोको खाना खानुअघि बजार गएर रासन पानी लिएर आएर पनि लेकको बनबाट एक भारी स्याउला घाँस ल्याउन भ्याउँछन्।
कसैका छोराछोरी लाई उंधोउभो (छेर्ने छाद्ने) भयो भने आफुले सधैं बोकिराख्ने पूरानो झोलाबाट जीवन जल झिकेर दिन पनि पछी पर्दैनन्। गाउँमा कोही केटाले बिहेगरे भने पनि परिवार नियोजनका अस्थाई साधन सुटुक्क दिने गर्छन् धियांल बाजे।
जिल्ला सदरमुकामबाट बसमा ४५ मिनेट अनी केहीबेरको उकालो कटेपछी उनको गाउँ पुगिन्छ। सामाजिक र बिदेशी स्वयम सेवककामको सिलसिलामा मलाई त्यो गाउँ गहीरहन पर्थ्यो।
धेरै बर्ष पछी एक दिन बजारमा उनै धियांल बाजेलाई देखें, पछाडि उही पुरानो झोला, हातमा प्लास्टिकका झोला,उस्तै फुर्तिला।टाढैबाट "दाई नमस्कार!सञ्चै हुनुहुन्छ?" औपचारिकता निभाए मैले तर जवाफ आएन, त्यसैले अल्ली नजिक गएर फेरी "दाई नमस्कार!सञ्चै हुनुहुन्छ?"।"ए सर, अं बाबु सञ्चै, अनी तपाईं नि? खै हाम्रो गाउघर त माया नै मार्नु भयो त? एकै सासमा यती कुरा सिद्धिन नपाउँदै " के गर्ने हो सर कान कम सुन्ने भयो म त, अनी प्रेसरको पनि दबै खांदै छु, म त मर्छ होला है सर चांडै"। सबै कुरा सुने पनि नसुने झै गरी मैले अघी थपे " हिँड्नुस् दाई त्यो पसलमा चिया खांदै गफ गरम एक छिन्"।
चिया पिउँदै निकै बेर मिठा रमाइला गफ पनि भएछन्। जेठो छोरो पनि नेपाली सेनामा रहेछ, कान्छी छोरी पनि मन पर्ने ड्राभर समाएर बिहे गरिछ, जेठी छोरीको त पहिले नै बिहे भैसकेको थियो, गाउँ मै।
"दाई भोक पनि लागेको छ खाजा पनि खाउँ है !" बाहिर सडक निकै तातेको थियो गर्मी उस्तै। एक एक बोतल कोककोला र एक एक प्लेट चाउमिन खांदै गफको सिलसिला चलिरह्यो। तर पनि दाइले माहिलो छोरो त्यो कालेको कतै पनि चर्चा गरेनन्। छुट्टीने बेलामा मैले केही सम्झिए झैं गरी सोधें " साँच्चै दाई, माइलो छोरो के गर्दै छ, कि उ पनि लाहुरे भयो?"
दाईले केही मुख बिगारदै केही सम्झिए जस्तो गरेर भन्न् थाले, " के को लाहुरे हुने सर, त्यो त के के जाती खाने गरेर बिग्रियो नि, मेरो पेन्सन त उसैको उपचार मै ठीक हुने भयो, काठमाडौं लगेर ल्याए अल्ली ठीक भयो अब त सुध्रियो कि भनेको फेरी गाँजा र के जाती कालो पदार्थ खान थालेछ, गाउँका अन्य केटाहरु सँग सिकेर, त्यसैले रिह्याबमा राखेको छ। अहिले उसैलाई भेटेर आएको नि"। म अक्क न बक्क भएं, यती भन्दै धियांल दाई त ट्रक चढेर गै सकेछन्। मलाई भने त्यही भुसाको ठुटोको याद अाइरह्यो।।  
  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...