Sunday, April 10, 2016

लघुकथा मास्टर्नी साब!

लघुकथा-२

मास्टर्नी साब

  "कान्छा छिट्टो मेरो ब्लाउजमा अाइरन लगाइ दे त, बत्ती आयो !" मास्टर्नी साबको हुकुम थियो। खै थाहा भएन आज मास्टरनी साबलाई के को हतार थियो। नौ सभा नौ बजेको हुँदो हो निकै हतारमा थिइन मास्टर्नी साब ।हाम्रो गाउँकी मास्टर्नी साब। न कहिले पढाउन गएकी देखियो न कहिल्यै कुनै किताब वा पत्रीका पढेकी नै देखियो। कनीकुथी सहि गर्न भने गाउमा ४४,४५ सालतिर आएको पन्चायती रात्रीकालिन प्रौढ शिक्षामा सिकिन। तै पनि मास्टर्नी, कस्को के लाग्यो र? कसैलाई अचार खान मन लाग्यो मास्टर्नी, कसैलाई सिटामोल चाहियो मास्टर्नी, कसैलाई कसैको गुन्युँ पछार्ने फुर्सद भयो की मास्टर्नी। यस्तो लाग्थ्यो गाउँकै आवश्यकता हुन् हाम्री मास्टर्नी।
कान्छो त्यस्तै १० ११ सालको फुर्तिलो केटो, खै कहिले बाट त्यसघरमा आयो मलाई ठ्याक्कै याद भएन।
"जाबो ५ जनाले खाएको भाँडा माझ्न पनि कती बेर लगाएको भन्या" अर्को कर्कसाले मेरो एकाग्रता भङ्ग हुन्छ।
पढेर भन्दा पनि लगनमा परेर मास्टर्नी भएकी थिन् उनी। गाउकै भद्र भलाद्मी थिए मास्टर साब। केहीबर्ष पहिले दुनियाँ छोडेर गए उनलाई मजबुत मास्टर्नी पदवी छोडेर। बोल्न टाठी हाम्री मास्टर्नी यता उता महिला, बाल बिकास, सहकारी, महिला बचत आदि इत्यादी अन्तर्गतका साना कार्यक्रम र गोस्ठीहरुमा ब्याच लगाएर मन्चमा बस्न असाध्यै रुची भएकी हाम्री मास्टर्नी लाई आज के को हतार भएछ मनमा गम्दै थिएँ म। अर्को उर्दी आयो:
"कान्छो आज स्कुल जान पर्दैन म तेरो मेडामलाई भेटेर तलाई सन्चो छैन भन्दिम्ला है"
" ल ल आमा " सानै देखी त्यही घरमा हुर्किएको ले होला, कान्छो पनि मास्टर्नी साबलाई 'आमा' नै भनेर सम्बोधन गर्छ।
केहीछिनमा, कालो ब्लाउज कालै सारीमा मास्टर्नी साब छालाको ब्यागबोकेर
" होइन ए कान्छा मेरो चप्पल खै, अघी सम्म यही नै त थिए?" मास्टर्नी साबलाई झन हतार हुँदै थियो।
" आज स्कुल गैनस् क्यारे, माथिको दुई बोरा धान सुका, भरे म आए पछी मिल जानु पर्छ, लहिनो भैंसी छ मोर्ला बेलैमा कुन्डो पनि दे है, बाख्रालाई कलिलो बकैना न दे है, मेरो चप्पल खै भनेको?? बिग्रिएको रेडियो झैं लाग्थिन हाम्री मास्टर्नी साब।
" आमा पनि! यी के त" हातमा एक जोर कालै चप्पल ल्याएर दिँदै कान्छो।
मलाई भने मनमा खै खै भएर आयो। अनि तगारोमा छेकेर सोधें,
"हैन हो मास्टर्नी साब आज के को हतार हो, कताको साइत हो?"
" अं नानी आज गा बि स मा कार्जेक्रम छ " कालो सारी मिलाउँदै हतारमा मास्टर्नी साब।
अर्को कौतुहल मेट्दै सोध्छु " ए'' के को कार्यक्रम रहेछ? "
" साना बाबुनानीलाई पाठशाला पठाऔं,
गृह बाल शोषनको अन्त्य गरौं" को बारेमा हो नानी, हेर्नु न म त झनै ढिला भएं" एती भन्दै मास्टर्नी साब लामा लामा पाइला चाल्न थालिन।
खै उन्ले के भनिन् मैले के बुझें, हेर्छु कान्छो बकैनाको रुख चढ्दै थियो।

------------------
                                                                                                                                                                                                                                                                                                                                                                                                   

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...