Monday, April 18, 2016

लघुकथा कालो बोको

खडेरी,डंढेलो र तुयांलोले आक्रान्त बस्ती, केही बेर रमाएको थियो आज बेलुकी पख। आकाश कालो न कालो हुँदै थियो भने उत्तर तर्फ देखिने देउचुली र बर्चुलीको चुचुरामा बादल ठोक्किएका देखिन्थे। "हो, अब आज त पानी पर्छ पर्छ", भन्दै थिए कोही भने, कोही "होइन यसै छारो सम्म मार्छ कि" भन्दै असहमती जाहेर गर्थे। बाटामा खेल्न गएका केटाकेटीहरु घर छिर्दै थिए। बुवा लौ है टौवा उडाउंछ कि भन्दै पुराना काठ र मुढाहरुले थिच्दै हुनुहुन्थ्यो।आमा भने ग्यांसको अभाबले भित्र फुकेको आगो निभाउन दौडँदै हुनुहुन्थ्यो।

तर हावाहुरी उत्तर पश्चिम हुँदै पूर्व गयो। केही फलेका आँप र लिचिका चिचिलालाई भुइँभरी झार्दै।

रातपरी नसकेकाले अघिसम्मका अड्कलबाजहरु घरको गेट नजिकै जम्मा हुँदै थिए। आखिर अघि असहमती गर्नेले जितेको भान भयो।पढेलेखेका अंकल भन्दै थिए; "के को पानी पर्थ्यो नासाले भनेको देशको १७ प्रतिसत बनजङ्गल त यसपालिको खडेरीमा लागेको डन्ढेलोले सकिसक्यो रे"। छिमेकी मामा भन्दै " हैन बाबु पोहोरको भूकम्प गएको एक बर्ष भा'छैन अझै के के हुने हो, जेठको पहिलो साता नभै पानीको लक्ष्यण नै छैन"।
यतिन्जेलमा न्यौपाने पण्डित पनि जुँघामा ताउ लगाउँदै अाइ पुगे। केहीबेर सबैको अड्कलबाजी सुनिसकेर

" के को भुइँचालो न नासा, जब सम्म हामीले शनिस्चरे र अाइतबारेको पूजा गर्दैनौं तब सम्म हाम्रो गाउँमा पानी त मेरो कान काटेपनि पर्दैन"। एक कान दुइकान मैदान, अन्त्यमा आउने शनिबार शनिस्चरे माई र अर्को आईतवार आईतबारे देबताको पूजा गर्ने निर्णय भयो। मलाई भने एकजोर हुर्कौला परेवाका जोडी र कालो बोको खोज्ने जिम्मा लागाइयो।    

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...