Saturday, November 8, 2014

कबिता: बादैबाद !!

भन कुन कुन बाद छ तिमी सँग ?
थाहा छ मलाई,
जिन्दाबाद र मुर्दाबाद छ तिमी सँग
रोटीको कथा मार्क्सबाद छ भने
रगतको ईतिहास माओबाद पनि
हराएका र बिर्सिएका सन्स्कार भित्रका
उग्र र चरम बाद छ तिमी सँग,
दस्ताबेज र मुखपत्रमा सिमित
समाजबाद छ भने,नमेटिने रेखाभित्रको
मौखिक जनबाद छ तिमी सँग,
हो धेरै बादहरु छन् तिमी सँग
म सँग जस्तै, उ सँग जस्तै
असहमत,बिमत अनि
अनाबश्यक बहुमत पनि छ
तिमी सँग।

टायर बालेर आगो ताप्ने तपाउनेको
झुन्ड छ तिमी सँग,
भिडमा चण्ड र मुण्ड पनि,
बिरोधको लागि बिरोध अनि
पाइला पिच्छे अबरोधका 
¨स्पिड-ब्रेकर¨ पनि।

¨मेरा गोरुका बार्है टक्का¨
थाहा छैन यो कुन बाद हो?
हिजोआज यहि बादको खेति मौलाएको छ
तिम्रा करेशाहरुमा,,
उखलेर फ्याक्नु पर्ने सामन्तबादका गराहरुमा
आज तिमी नै अतिबाद रूपि मलजल गर्दैछौ,

¨धर्म अफिम हो¨ भन्नेहरु तिमी नै
राता टिका लगाएर,
कुन बादका पर्चाहरु छर्दै छौ?
आमाको छातीमा टेकेर
बाउ सिद्द्याउने तिमीहरु लाई 
थाहा छैन कुन बादले हुर्काएको हो,

भन अझै
मैले थाहा नपाएका कति बादहरु लुकाएका छौ
बर्बादिका बन्दुक देखाउदै
आर्तनाद माथि नुन चुक छर्दै छौ?

--------------
श्रीभक्त पौडेल¨आफन्त¨
रामपुर चितवन
८ नोबेम्बर २०१४,
स्पेन
 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...