Friday, August 8, 2014

म बुख्याचाँ


कबिता 
 ................
कोही केही नसोध मलाई
कुनै सवालहरु
म थकित छु
जवाफहरु खोज्दा खोज्दै,,
हृदयका कुनामा अड्किएका,
लाखौं सवालहरु छन्
म उत्तर दिन नसकेर नाजवाफ छु
शर्मित छु आँफै,त्यसैले भन्छु
नसोध मलाई सवालहरु,,

जिन्दगीका पूर्वार्द र उत्तरार्दका
सोधिएका छन् सवालहरु
के किन कसको लागि
कुन कसरी कहिले
बस सवाल यही नै हुन्
पहिलो सवाल छ
तँ को होस्?
हो,म को हुँं
आखिर को हुँं त म?
म यस लौकिक अलौकिक
पृथ्विमा के गर्दै छु?
आँफै नतमस्तक छु
लाचार छु,,
न म बिद्रोह गर्न सक्छु
न म चुप नै बस्न सक्छु।

हो त्यसैले भन्छु
नसोध मलाई कुनै सवालहरु,,
जीवनका सवालहरु
मृत्‍यु परान्तका सवालहरु
बाच्नुको सार्थकता
बाचेको यथार्थता ,,
अकाट्य छन् सवालहरु
एकाध छाडेर वास्तविक छन् ।

आधारहिन जीवनका रहश्य
बिचाराधिन हुँदै गर्दा
माथिङलमा सवाली झटारोको बर्षा हुन्छन्
रोग शोक भोक
पापी पेट भित्रका सवालहरु
लोभ मोह इर्श्या
कहिल्यै नअघाउने
मान्छे रुपी अर्धचेत
बुख्याँचाले नै सोध्दै छन्
सवालहरु,,
त्यसैले नसोध मलाई 

आकाश र धर्ती
धर्ती र क्षितिज
कसरी बताऊ के र कस्तो छ
सम्बन्ध,,
जीवन र मृत्‍यु
मृत्‍यु र आत्मा
कसले देखेको छ र?
त्यो सम्बन्ध
भोगेका ले त छाडेर जान्छन्
आखिर म पनि त
तिमी जस्तै
बुख्याँचा नै हुँं नि
ठिङरिङ्ग छु
धर्तिको बोझ बनेर
बुख्याँचै बुख्याँचाको भिडमा।

अन्धाहरुले हात्ती भेटेको लोक कथाको
एक अन्धा नै हुँं म पनि
भोगाइ र महशुसले मात्र
बग्रेल्ती सवालका जवाफ छैनन्
म सँग,,

प्रकृति र परिवर्तन  
परिवर्तन र समाज
समाज र हामी
बिचको परिभाषा
नमन गर्न म सक्दिन
बमन गर्न म सक्दिन

त्यसैले नतेर्स्याउ
सवालका भाटाहरु
म फड्किन सक्दिन।
सवालै सवालको पहाड
बोकेर बाचेको बुख्याँचा
हुँ म पनि

बोझ छ छातीमा
बाच्नु पिडाको !!

...........
श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर  

1 comment:

  1. चितवन बाट प्रकाशित दैनिक पत्रीका ¨पारदर्शी¨मा प्रकाशित हुन गैरहेको कबिता

    ReplyDelete

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...