Friday, September 12, 2014

A real story.....



अबोध प्रेमको शिलशिला


समयको अन्तराल सँगै थाहा छैन आज तिमी कहाँ छौ? तिम्रो खबर त तिम्रो बारेमा नसुनेको पनि थुप्रै भैसकेछ। म त परदेशिएं,थाहा छ के तिमीलाई? पश्चताप गरेको होइन आज केबल पुराना स्‍मृतिका झिल्काहरु शब्दहरुका सिन्कामा उन्दै उही निठुरी यादहरु बिछ्याउने जमर्को मात्र गर्दैछु। कती पवित्र थिए हाम्रा सम्बन्धहरु कती निर्दोश थिए हाम्रा बोली,मित्रता अनी के के। सांच्चै नै समयको चाल होकी छल थाहा भएन तर पापी त समय नै हो नि होइन र? हाम्रा ति सुन्दर बिहानी,धुलो र माटोमा बितेका स्वर्णिम पलहरु आखिर मेरा लागि अतित नै भए थाहा छैन तिमीले त सायद पुरै भुलिसक्याउ हौली? हाम्रा बाल अबोध प्रेम कथाहरु तिनै रामपुरे धुलोहरुमा बिलाइसके,चितौने धुपहरुमा हराइसके तर आज किन हो कुन्नी मलाई तिनै यादहरुले घोचेको जस्तो,खोजेको जस्तो अनी लखेटे जस्तो भएको छ। हुन त म पनि एक घरबारे भैसकेको मान्छे हुँं। आफ्नो बर्तमान सँग पूर्ण खुशीमा जीवन बिताइरहेको छु। तैपनि आज यो केही थकित मानसपटलमा सलबलाई रहेका छन्। लगभग तीन दसक भन्दा बढी भै सकेका हाम्रा तिनै बाल प्रेम कथाहरु वास्तव मै अबोध,निश्चल र पवित्र थिए. भाँडाकुंडि,रुमाल लुकाइ,आस पास भुलिसकेछु ति खेलका नामहरु पनि जुन हामी सदैब रामपुरे टांडिका गराहरुमा खेल्थ्यौं या भनु हाम्रो दिनको सुरुवात नै यसरी नै हुन्थे। तिम्रा मेरा आँखाका अब्यक्त भाबहरु के तिमीलाई याद छ? तिम्रो मामाघरको कटेरा पछाडि तिमी दुलही म दुलाहा खेलेका पलहरु के तिमीलाई याद छ? तिमीलाई अहिले याद छ कि छैन परन्तु मेरो मन मस्तिस्कमा अझै पनि ति यादहरु ताजै छन् शायद अपुरा अधुरा भएर होलान्। सांच्चै नै ति सम्झनाका झटाराहरु बज्रे पनि आनन्द लाग्छन्। हो त्यसैले त कोर्दै छु,आज हाम्रा ति अबोध प्रेमका शिलशिलाहरु,,,,,

नढांटि भनुँ आज सम्झंदा पनि लाज लागेर आउंछ,हामी दुबैका नाकभरी सिङ्गान हुन्थे, धुलाम्यै हुन्थ्यौं,गालामा तेर्सा सिङ्गान कटकटिएका हुन्थे। मेरो घरको तगारो आङ्गन छेउ हतकेला भरी गट्टा र अडेल लिएर तिम्रो आगमन हुन्थ्यो। म खुशी हुँदै तिम्रो सामु हात थाप्न पुग्थें। तिमीले सर्वस्व दिए झै ति सबै मेरा अन्जली भरी खन्याइदिन्थ्यौ। अनी सुरु हुन्थ्यो हाम्रो त्यो दिनको भाँडाकुंडि र घर बनाइ खेल,जिन्दगिको यस्ता क्षणहरु जुन कहिल्यै खोजेर पाउदिन म। माटो र स-साना ढुङ्गाहरुले साँध लगाएर बनाएका ति घर सांच्चै नै सपनाका सुन्दर महल लाग्थे। धुलोमा कोरिएका सिमारेखाहरुले नै हो कि आज हामीलाई अल्ग्यायो है? तिनै घरहरु औल्याउंदै तिमीले भन्थ्यौ अती सरल र सहज रुपमा अझै म सम्झन्छु, उ त्यो हेर त हाम्रो घर यो हाम्रो भान्छा कोठा,त्यो तिम्रो र मेरो सुत्ने कोठा। म हेर्थे रमाउंथे तिमी सँग,बाल क्रिडामा। कैयौ पटक भनेकी थियौ, ¨ म पर सरेको छु, नजिक नआउ है¨¨मलाई छुनु हुन्न तिमीले¨ यद्धपी मैले बुझेको हुन्थें कि हुन्थिन थाहा छैन।

अहिले म एकान्तमा घोत्लिन्छु आखिर के थिए त हाम्रा ति सम्बन्धहरु,के थियो त ति समय। कहाँ गए ति पलहरु अहिले न मैले सोचेर पाउछु न खोजेर नै। सुनेको थिए मैले भन्दा पहिले नै तिमीले जीवन साथी रोजेर घर बसालिसकेकी थियौ रे। खै कता पश्चिम नेपाल तिर तिम्रो घर छ रे। समयले संघार नाघेको पत्तो नै हुन्थेन। मध्यान्ह भैसकेको हुन्थ्यो। तिम्रो हजुरआमाले ¨ .... नानी खाजा खान आउ¨ भन्दा हातका गट्टा र अडेल भुइमा त्यसै मिल्काएर ¨एक्कै छिनमा आउंछु है¨भन्दै दगुर्दै जान्थ्यौ। हो त्यही हो सायद हाम्रो अबोध प्रेम,अबोध प्रेमको शिलशिला।लाग्छ केही समय त्यसरी नै बिते हासी हासी बिते खुशी खुशी बिते, कहिले बडहरका रुखमा लुकामारी खेल्दै बिते त कहिले खनायो को जराहरुमा लुकामारी खेल्दै बिते। आज आएर ति सबै धमिलिएका यादहरु मात्र भन्न् सुहाउंछ।

अनि धेरै बर्षपछि, तिमीलाई देखे त्यही हाम्रो रामपुरे धुलोमा,साँझको बेला थियो अनि तिमी त्यो साँझलाई नै जलाउने गरी धपक्क बलेकी थियौ।सांच्चै नै एक कबिले देखेको भए कती कबिता र गजल लेख्थे होलान तिम्रो त्यो सुद्नरताको बर्णन गर्दै। लाज,बैन्श,उमेर,इर्श्या मोह सबैले तिमीलाई सिङारेको जस्तो लाग्थ्यो। लेहेङ्गामा सजिएकी थियौ। गाजल र टिकाले झनै सुन्दर देखिएकी थियौ। म अवाक्क थिए केही बोल्न सकेको पनि थिइन या आँट नै गर्न सकेको थिइन। बास्तवमा भन्ने हो भने म तिम्रो त्यो त्यतिखेरको सुन्दरता र खै के ले हो बेहोशी जस्तै बनिसकेको रहेछु (आज याद हुँदैछ),,तर तर खै कता बाट हो अलिकती जोश,बल र आँट बटुलेर यती मात्र भन्न सकें कि ¨ ..... तिमीलाई याद छ?¨तर तिमी त म भन्दा पनि बढी लजाएर हो या एक किसिमको आबेगमा,,, मामी !!!!!!!!!!!!!!!!भन्दै तिम्रो मामाघर तर्फ पो भाग्यौ। एस्तो लागेको थियो तिम्रो त्यो अतितको बालसुलभ अझै रहेछ तर तिमी त अर्काकी भै सकेकी थियौ। म पनि कस्तो अबुझ। जिस्काउन खोजेको पनि त थिइन केबल एक छिन हाम्रो अतितको याद दिलाउँ भनेर मात्र तर तिमी त टाढा भागीसकेकी थियौ मेरो वरपर रात पार्दै। अनि म पनि लागें साइकल समाएर साथी निरज को घर तर्फ यही अतीत उसलाई पनि सुनाउ कि भनेर। खै आज यो मन बहकिएछ कि कुन्नी !!

२६ जनवरी,२०१४
२२:३५
स्पेन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...