Wednesday, January 28, 2015

बसि बिंयालोका पन्नाहरु


-----------
अहो बास बसेका सपनाहरुलाई ब्युझाउँ कि नब्युंझाउँ? आफुलाई त मध्यरातमा नै निन्द्रादेवीले छोडिहालिन। तर मेरा प्यारा सपनाहरु मस्त छन् यस्तो लाग्छ यी सपना भनेकै मस्त रहनका लागि हुन।माघे ठन्डी न हो सिरक छोड्न मन लागे पनि उनको न्यानो स्पर्श छोड्न मन लागेन। ओल्टोकोल्टो फर्केर जति अङ्गडाइ लिए पनि आँखामा निमेस मात्रको निंद छैन, अनेकौ तन्द्राहरु तं छाड् म छाड गर्दै मन मस्तिस्कमा घुम्न खोज्छन। खै कस्ता हुन यी बेइमानी तन्द्राहरु न चाहेको हुन्छु मैले न सोचेको हुन्छु न बोलाएको नै हुन्छु बस् अाइदिन्छन थकित मन र मस्तिस्कलाई झन थकाउन्छन्। झकाउन खोज्छु तिनै तन्द्राहरुले झकझकाउन्छन्। हो यसरी नै म आजभोलि तन्द्रामै हुन्छु निदाएको हुन्छु तर अर्ध। असिमित सपनाहरु बाँझै हुन्छन् जिन्दगीका साउनमा पनि भने थप यी तन्द्राहरुले झनै खल्बलाइदिएका हुन्छन् मेरा मन,मस्तिस्क र रातहरु। झिस्मिसेमै सिरानी च्यापेर निदाउन खोजे पनि मध्यरातमा नशामा लट्ठिएर बिछौनामा बेमतलब निदाउन खोजेर या निदाए पनि चाडै नै छोड्छिन तिनै निस्ठुरी निन्द्रा प्रियााले। हो त्यसरी नै आज पनि म ब्युझे बाहिर चकमन्न छ बेमौसम झरिको टिप् टिप, त्यस माथि अझै चिसो सिरेटोले झ्याल र पर्दा खोलेर बाहिर हेर्ने आँट पनि आउँदैन।

के थाहा मेरा ति सपनाहरुलाई कि म निदाएको छैन तर मेरा सपनाहरु मस्त छन। म बिथोल्न चाहन्न निर्दोश सपनाहरु चाहे निन्द्राले मलाई छोडोस् तर म मेरा सपनाहरु छोड्न चाहन्न। कहिले भञ्ज्याङ कहिले चौतारीमा सुस्ताउने मेरा सपनाहरु आजभोली युरोपको कुनै  देशमा क्षत बिक्ष्यत् हुँदै, कतै ठोक्किदै त कतै झोक्किदै थकित थिए। र त आज म मध्यरातमा ब्युंझेपनि म मेरा सपनाहरु लाई बिथोल्न चाहन्न म जागराम बसे पनि म सपनाहरु निदाएको नै हेर्न चाहन्छु। म थाकेर चुर चुर भए पनि सपनाहरु मुस्कुराएको नै हेर्न चाहन्छु। म यसैमा खुशी छु, मिठो   आभास दिन्छन जब सपनाहरु निदाए पनि मलाई हेर्दाइ मुस्कुराएका हुन्छन्। भरोशा र आत्मबिश्वास जगाउछन् म भित्र लगभग टुटिसकेका मेरा मेरा भरोषाका धरोहरहरु फेरी ब्युताउँदैछन् अनि ठड्याउंदैछन् तिनै सपनाहरुले। कहिलेकही त वाक्क हुन्थें आफ्नै सपनाहरु सँग, रिसाउँथे झन्किन्थे तिनै सपनाहरु सँग तर आज आफ्नो छाया देख्छु सपनाहरुमा। आफु थाके पनि थाक्न दिन्न सपनाहरु, आफु रोए पनि हसाइरहेको हुन्छु मैले सपनाहरु। यद्दपी कैयौ सपनाहरु अस्वाभाविक होलान् तर मेरा लागि ति केबल रातका मिठा सपनाहरु मात्र नभै बिपनामा कोरिएका यथार्थ ज्यामितिय रेखाहरु नै हुन जुन र जसको सहायताले एक अर्को आयाम कोर्न र थप्न चाहन्छु। आज आफ्नै जीवन यीनै सपनाहरु बिना अधुरो लाग्न थालेको छ, आधार शिबिरमा बास बसेका बटुवा जस्तै भोलिको सुखद सुर्योदय सँगै आफ्नो गन्तब्यमा पुग्ने ठुलो अभिलाषाको सिरक ओढेर चिसा बालुवा माथि निर्धक्क निदाएका हुन्छन्। हो त्यसरी नै मेरा सपनाहरु आज चिसालामा रातमा म ब्युंझेपनि मेरा सपना निदाइरहेको म हेर्न चाहन्छु। भो उठाउन्न यी मेरा सपनाहरु, के थाहा ति सपनाहरुले पनि मैले झै अर्को सपना थपिरहेका पो छन् कि ?? 





No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...