Friday, January 30, 2015

मेरा खुशीहरु बसी बिंयालो

हजुरले देख्नु भएको छ कि मेरो खुशी? केही बर्ष अघिसम्म त मेरा यिनै ओठ र अनुहारमा दौडिरहन्थे तर थपिएका धर्साहरु सङ्गै खुशीहरु पनि हराएका छन्। थाहा छैन कहाँ खोज्नुपर्ने हो मैले, शुशेलदा पनि आउँदैनन् गीत गाउँदा पनि भेटिदैनन्। सायद त्यो खुशीलाई मैले अर्कै नाम दिनुपर्ने थियो कि कुन्नी? साथीभाइहरुलाई पनि बांढ्ने गर्थें मैले ति खुशीहरु, उनिहरु पनि हांस्थे,रमाउंथे मेरा खुशीहरु सँगै। न त मैले तिनै पुराना साथीहरु भेटेको छु न त मैले मेरै खुशीहरु। सुन्छु आजभोलि कोहि साथीहरु पनि खुशी खोज्दै रेगिस्तान पुगेका छन् रे। कोही खुशी खोज्दै जङल छिरेका थिए रे उतै सदगती मिल्यो रे। कोही भाग्यका लहराहरुमा झुन्डदै सात समुन्द्रपारी अर्कै जिन्दगी जिरहेका छन् रे। केही साथीहरु र बोतल र भटमास सँग गफ गर्दै खुशीको नाटक खेल्न पनि सिपालु भैसकेका छन् रे। हो आखिर जिन्दगी भने पनि जीवन भने पनि ठुलो सागरमा कस्तिमा ढल्पलिँदै अघि बढ्दो रहेछ नै। कसैले गन्तब्य भेट्दा रहेछन् कसैले यात्रा कायम राख्दै गन्तब्य नै बदल्दा रहेछन्। 

तर म भने सधैं खुशी खोज्न बिरानो मूलुकमा हिंडेको यात्री भएको छु बनेको छु। आफ्नै हराएको खुशीहरु खोज्न निस्केको पनि कैयौ बर्षहरु बितिसकेछन्। अन्यौलताको भूमरीले बलौटे द्दिपमा लछारपछार पार्दा पनि एक किसिमको धिपधिपे बत्ती बालेर अगाडिका गोरेटाहरु पहिल्याउन खोज्दै छु। हारेको छैन अझै माया मारेको पनि छैन आफ्ना खुशीहरु एकदिन अबस्य भेट्टाउनेछु भन्ने आशामा लागि परेको छु। यसको मतलब यो होइन कि म दुखी छु। खुशी छु म मेरा खुशी बिनै केबल अनुहारमा दौडेका छैनन् मेरा खुशीहरु रसिला हसिला मेरा खुशीहरु आज चाइनिज बजारमा किन्न पाइने प्लास्टिकका फुलहरु र गूडिया जस्तै भएका छन्। लोभ मोह इर्श्या नहुँदा नहुँदै म पनि आफु र आँफै भित्र भएको खुशी खोज्न कस्तुरी झै बनबनमा भौंतारिरहेको छु। 

जीवनका पूर्वार्ध र उत्तरार्धको एक किसिमको बेमेलमा एउटा मिलनको बिन्दु हो सायद त्यो खुशी मेरा लागि। एक्लो छैन म, म छु मेरा हौशला,माया,आशिर्बाद सबै म सँग नै छन। केबल अभाब छ त त्यही पूराना खुशीहरु। खेतबारीमा भेटिने खुशी छैन आज म सँग,असारको हिलो र मंसिरको मियोमा घुम्ने खुशी छैन म सँग, देउशी र भैलो अनि कोजाग्र पुर्णिमाको जुनेलीमा बुवा सँग तास खेल्दा पाएका खुशी छैनन् म सँग। यद्दपी म सात समून्द्र पारी हरेक नेपालीको सपना,सुनको चरी पक्रने देशमा छु। न त निला समून्द्रका सेता छालले बोकेर ल्याए मेरा खुशीहरु न त रङिन महङ्गा खोस्टाहरुले।खै मैले पक्रन नसकेर हो या त्यही समून्द्रमा पौडन नसकेर हो म प्रतिक्ष्यामा थिए। 
आज कसैले ब्युझाइदिएको छ मलाई कि म त्यहा खुशी खोज्दै छु जहाँ न कहिल्यै थियो न रहनेछ। झसँग हुन्छु म, निराकार धुँवा झै म उडिरहेको रहेछु। जुन धुँवा कुनै पनि बेला पूर्बेलीहावाले होस् या पश्चिमेली बर्षातले निलिदिन्छ। खोक्रो आडम्बरमा किन बाचेको छस् श्री भन्दै समय रुपी झापडले हान्छ। म रुन पनि सक्दिन हांस्न त मैले के भनुँ खै, उही मेड इन चाइना प्लास्टिकको हासो फुस्फुसाए पनि भित्रको को डाह र चाह त उस्तै थियो। तर यती सोध्न सकें, आखिर मेरा खुशी खै त? 

छ नि किन नहुने मेरा खुशीहरु म पनि कती साह्रै बुद्धु भएको छु है,,स्वदेशका टार खेतहरुमा अनि धुलो उडेका मेरा उनै गाउँका गोरेटाहरुमा। 
-------------------------
माघ १६ शदीद दिवस २०७१ 
स्पेन 



No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...